पाठक पत्र

पाठक पत्र


pathakmanchराजनीतिक विषयलाई मात्र किन प्राथमिकता ?
श्री सम्पादकज्यू, घटना र विचार राष्ट्रिय साप्ताहिकको म एउटा नियमित पाठक भएको आधारमा यस पत्रिकाप्रति शुभेच्छा राख्दै सुरुमा त यसको अझ उन्नतिको कामना गर्दछु । नियमित पाठक भएको नाताले यस पत्रिकाप्रति केही सुझाव दिनका लागि यो पाठकपत्र प्रेषित गरेको छु । दशवर्षे माओवादी सशस्त्र विद्रोहको कारणले अस्तव्यस्त बनेको नेपालले आफ्नो बाटोमा फर्किन अझै नसकिरहेको अवस्थामा र देशमा विधिको शासन चलाउनका लागि जनताले चुनेका नेतासमेत यसरी आ–आफ्नै स्वार्थमा लागेर हिँडिरहेको अवस्थामा राजनीतिक दलका नेतालाई सही गतिमा ल्याउन पनि राज्यको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रको पनि ठूलो भूमिका रहन्छ र यस सवालमा नेपालका कतिपय सञ्चारमाध्यमले यस विषयलाई गम्भीर रूपमा लिएर समाचारमूलक सामग्री प्रकाशन एवम् प्रसारण गरिरहेका पनि छन् र आजको दिनमा यो आवश्यक पनि रहेको छ जस्तो लागेको छ ।
संविधान निर्माण र अन्य विषयमा सटिक र स्पष्ट विश्लेषणात्मक समाचार सम्प्रेषण गर्दै आएको यस पत्रिकामा प्रकाशित सामग्रीमा पनि यस्ता राजनीतिक समाचारले बढी महत्व पाउने भए पनि समाजमा घटेका यस्ता घटना जसले सामाजिक व्यवस्थालाई नै विभिन्न किसिमले र प्रभाव पार्न सक्ने र पारिरहेका सामग्रीले त्यति महत्व पाउन नसकेको अनुभव मलाई भएको छ । त्यस्ता सामग्री त्यति प्रकाशित नै नहुने र प्रकाशित भएका त्यस्ता सामग्रीले पनि त्यति महत्व पाउन नसकेको मलाई भान पर्न गएकाले सम्भव भएसम्म यस्ता पक्षलाई सुधार गर्न सकेमा यस पत्रिकाको लोकप्रियतामा वृद्धि हुन्थ्यो कि ? यस्ता सामग्रीमध्ये सूचनामूलक, सन्देशमूलक र जानकारीमूलक सामग्रीले बढी महत्व पाएमा राम्रो हुन्थ्यो जस्तो लाग्छ ।
– सुविन भण्डारी, काँडाघारी, काठमाडौं