– रामहरि पाण्डे
नेपालमा प्रतिदिन जन्मनेहरूभन्दा देश छाड्नेहरूको सङ्ख्या बढी भएको पाइएको छ । वैदेशिक रोजगारी, अध्ययन, भ्रमणलगायतका नाममा बिदेसिनेको सङ्ख्या नेपालमा जन्मिनेको सङ्ख्याभन्दा पाँचदेखि सात सयको हाराहारीमा बढी देखिएको हो । नेपालमा दैनिक अठार सय मानिस जन्मन्छन् । तीमध्ये केही जन्मनेबित्तिकै त केही जन्मेको केही दिन वा महिनापछि मृत्यु हुने गर्दछ । त्यसको यकिन सङ्ख्या सरकारसँग छैन । त्यसैले जन्मेकामध्ये कति मर्छन् र कति बाँच्छन् भन्न सकिन्न ।
नेपालमा जन्मनेभन्दा बिदेसिनेको सङ्ख्या गत पाँच वर्षयता बढ्दै गएको हो । सहरमा बस्ने हुन् या ग्रामीण भेगमा, बिदेसिनेहरूमा पनि बीसदेखि चालीस वर्ष उमेर समूहका बढी देखिन्छन् । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा यो उमेर समूहमा बीस लाखको हाराहारीमा युवायुवती छन् । श्रम विभागका अनुसार यही उमेर समूहबाट वैदेशिक रोजगारीमा मात्र दैनिक सोह्रदेखि सत्र सय युवायुवती जाने गर्छन् । त्यसबाहेक अवैधानिक तरिकाबाट दैनिक सयका हाराहारीमा बिदेसिने गरेका छन् । त्यसरी बिदेसिनेहरू भारतको बाटो हुँदै तेस्रो मुलुक पुग्छन् । साथै भारतमै रोजगारी गर्न जानेहरू पनि प्रसस्तै हुन्छन् । सरकारसँग यसको यकिन तथ्याङ्क छैन । त्यस्तै उच्च शिक्षा अध्ययनका नाममा पनि सरदर दैनिक पचासका हाराहारीमा बिदेसिएका छन् । अध्ययनका नाममा विदेश पुगेकाहरू युवा अवस्थामै स्वदेश फर्कनेहरू भने कमै मात्र भेटिन्छन् ।
श्रम तथा रोजगार मन्त्रालयका अनुसार कानुनी तथा गैरकानुनी रूपमा रोजगारीमा रहेका नेपालीको सङ्ख्या २९ लाखभन्दा बढी छ । यो सरकारसँग अनुमति लिएरै जानेहरूको सङ्ख्या हो । त्यसमा पनि बीसदेखि चालीस वर्ष उमेर समूहका छन् । श्रम मन्त्रालयका अनुसार यो सङ्ख्या भारतबाहेकका देशमा गएका नेपालीको तथ्याङ्क हो । भारतमा १० वर्षदेखि ६० वर्ष उमेरसम्मका नेपालीले रोजगारी गरिरहेका छन् ।
०६८ सालको राष्ट्रिय जनगणनाअनुसार १९ लाख २१ हजार चार सय ९४ जना नेपाली बिदेसिएका छन् । विभागले सार्वजनिक गरेको तथ्याङ्कभन्दा श्रम विभागले सङ्कलन गरेको तथ्याङ्कमा झन्डै नौ लाखले फरक छ । त्यस्तै, निजी क्षेत्रले गरेको सर्भेक्षणमा भारतबाहेकका मुलुकमा तीस लाखभन्दा बढी नेपाली रहेको अनुमान छ । तथ्याङ्क फरक–फरक रहे पनि सक्षम र काम गर्न सक्ने उमेर समूहका धेरै मानिस विदेशमा छन् । विभागका अनुसार ज्यामी काम गर्नका लागि मलेसियामा मात्रै आठ लाखभन्दा बढी नेपाली पुगेका छन् । त्यस्तै, कतारमा सात लाख तीस हजार, साउदी अरबमा पाँँच लाख सात हजार, यूएईमा तीन लाख ५० हजार, कुवेतमा ७० हजार सात साय नौ, बहराइनमा ३९ हजार, ओमनमा १९ हजार, दÔिण कोरियामा १८ हजार, लेबनानमा १२ हजार, इजरायलमा नौ हजार चार सय, अफगानिस्तानमा सात हजार, जापानमा आठ हजार नेपाली छन् । श्रम विभागका अनुसार अन्य मुलुकमा साढे दुई लाखभन्दा बढी नेपाली कार्यरत छन् । ती सबै बीसदेखि चालीस वर्ष उमेर समूहका छन् ।
वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष हंसराज वाग्ले सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई रोक्न नसके नेपाल कुनै पनि बेला गम्भीर दुर्घटनामा पर्ने बताउँछन् । नेपाली विदेशमा जाने कार्यक्रमलाई सरकारले प्याकेजको रूपमा लिनुपर्ने भन्दै सङ्घका अध्यक्ष वाग्लेले भने, ‘कति वर्ष नेपालीलाई बाहिर पठाउने हो त्यो यकिन गरी त्यसपछि विदेशबाट नेपालमा कामदार भित्याउने लक्ष्य लिनुपर्छ ।’ ‘विदेशीले कुनै पनि समयमा आफ्नो कम्पनी बन्द गर्न सक्छ, त्यतिबेला नेपाली कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने सोचका साथ सरकार रहनुपर्छ,’ अध्यक्ष वाग्लेले भने, ‘नेपालमा जन्मनेभन्दा विदेश जानेको सङ्ख्या यही अनुपातमा बढ्दै जाने हो भने नेपालको विकास निर्माणका कार्य कुनै पनि बेला ठप्प हुन सक्छ ।’
पाखुरी बजार्न सक्ने सक्षम र योग्य नागरिक बिदेसिएपछि नेपालको विकास हुन नसक्ने एमाले नेता माधवकुमार नेपाल बताउँछन् । गत आइतबार प्रगतिशील वैदेशिक रोजगार व्यवसायीको कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले भने, ‘गाउँमा मलामी जाने मानिससमेत छैन, बारी बाँझै छन्, अनि हामीले गाउँमा विकास भएन भनेर भन्नुको के अर्थ ।’ काम गर्ने सक्ने, क्षमतावान मानिस बाहिर जानबाट नरोकेसम्म नेपालको विकास र प्रगति हुन नसक्ने नेता नेपालको भनाइ थियो । उनले थपे, ‘अहिले जुन मात्रामा नेपाली युवा बिदेसिएका छन् अबको दश वर्षमा यसलाई शून्यको अवस्थामा पु-याउनुपर्छ ।’ स्वदेशमा रोजगारी सिर्जना गर्न सकिने र व्यवसायीले योग्य नागरिकलाई विदेश पठाउन प्रेरित नगर्ने हो भने आगामी दश वर्षमा मजदुरी गर्नैका लागि विदेश जानेको सङ्ख्यामा अत्यधिक कमी आउने नेता नेपालको तर्क थियो ।
नेपालबाट दक्ष र श्रम गर्न सक्ने युवाजनशक्ति बाहिरिएकै कारण नेपालको विकास हुन नसकेको पूर्वसचिव पुरुषोतम ओझा बताउँछन् । ‘बिदेसिएका नेपालीको तथ्याङ्क र उमेर समूह हेर्दा अत्यास लागेर आउँछ,’ पूर्वसचिव ओझाले भने, ‘काम गर्न सक्ने सबै बाहिर छन्, अनि नेपालको विकास निर्माणले कसरी गति लिन्छ ।’ ‘नेपाली युवा बढी बिदेसिनुमा यहाँ उद्योग कलकारखाना नहुनु, भएकाहरू पनि बन्द हुनु नै प्रमुख समस्या हो,’ ओझाले थपे, ‘पाँच–सात वर्षअघिसम्म नेपालमा धेरै उद्योग, कलकारखाना थिए, बेरोजगार युवा–युवती त्यसमै सेटल हुन्थे, अहिले असर पर्दै छ, हामी परजीवी बन्दै छौँ ।’
वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष बलबहादुर तामाङ पनि नेपालको विकास नहुनुमा काम गर्न सक्ने, भिजन भएका युवाजनशक्ति बिदेसिनुलाई नै मान्छन् । काम गर्ने जनशक्ति नभएकाले सरकारले ल्याएको ग्रामीण विकास कार्यक्रम लागू गर्ने मानिससमेत छैनन्,’ अध्यक्ष तामाङले भने, ‘विकासका कार्यक्रम गाउँमा पुगिहाले भएका स्थानीय राजनीतिक दलका नेताहरूले भागबन्डामा कामै नगरी सक्ने गरिन्छ, अनि कसरी होस् विकास ?’
श्रम मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले पनि काम गर्न सक्ने युवाहरू बिदेसिएका कारण नेपालको प्रगति हुन नसकेको बताए । ‘अहिले सरकारले चाहेर पनि विदेश जानेहरूलाई रोक्न सकेको छैन,’ सचिव श्रेष्ठले भने, ‘सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने विभिन्नखाले कार्यक्रम ल्याए पनि देखासिखीमा बिदेसिने युवाहरूको जमात बढेकाले पनि रोक्न नकिएको देखिन्छ ।’
टे«ड युनियन काङ्ग्रेसका अध्यक्ष खिलानाथ दाहालले स्वदेशमा श्रमको सम्मान नभएसम्म नेपालमा विकास नहुने बताउँछन् । ‘एक त यहाँ श्रम गर्ने स्थान नै पाइँदैन, अर्को श्रमको सम्मान हुँदैन, अनि कसरी नेपालको विकास हुन्छ,’ अध्यक्ष दाहालले भने, ‘स्वदेशमा रोजगारी सिर्जना गरी श्रमको सम्मान गर्ने वातावारण नबनेसम्म विकास निर्माणका काम सोचेअनुसार अघि बढ्न सक्दैन ।’ उच्च शिक्षा अध्ययन गर्न बिदेसिएकाहरू पनि स्वदेश फर्केर नआउने, यहीँ उत्पादित दक्ष जनशक्ति पनि बिदेसिने भएपछि कसरी नेपालको विकास हुन्छ ? दाहालले प्रश्न गर्दै भने, ‘समाजको विकास अनि राजनीतिज्ञहरूलाई गाइड गर्ने दक्ष नेपाली बिदेसिएपछि कसरी हुन्छ, नेपालको प्रगति ?’
नेपालको कुल जनसङ्ख्यामध्ये १५ लाख ७७ हजार लेख्न र पढ्न जान्ने, ६ लाख २७ हजार पढ्न मात्र जान्ने मानिस छन् भने एसएलसी पास गरेका, १६ लाख ३६ हजार, प्रवीणता प्रमाणपत्र तह पास गर्ने १० लाख ३६ हजार, स्नातक गरेका चार लाख ५७ हजार, स्नातकोत्तर गर्ने एक लाख ५८ हजार र त्यसभन्दा माथि अध्ययन गर्नेको सङ्ख्या सत्र हजार रहेको छ । लगानी बोर्डका कार्यकारी निर्देश राधेश पन्तले भने, ‘हामीसँग भएको दक्ष जनशक्ति विकसित मुलुकमा पुग्ने, अर्धदक्ष खाडी मुलुकमा पुग्ने भएपछि नेपालको विकास कसरी हुन्छ ?’ लगानीको वातावरण बन्दै गएमा र उद्योग, कलकारखानाको विकास भएमा नेपालीलाई विदेश जानबाट रोक्न सकिन्छ ।
प्रतिक्रिया