– ब्रह्माकुमार रामसिंह ऐर
प्रत्येक वर्षजस्तै यस वर्ष पनि महान् पर्व बडादशैँ प्रत्येक नेपालीको घरदैलोमा हर्ष, खुसी, उमङ्ग र उत्साहपूर्ण वातावरणका साथ भित्रिँदै छ । प्रचण्ड गर्मी, वर्षा, हिलो–माटोको बिदाइसँगै स्वच्छ, सुन्दर प्रकृतिको मनोरम दृश्यको समेत यसबेला अनुपम सहयोग रहन्छ । दशैँको टीका थाप्न देश–विदेश गएका दाजुभाइ–दिदीबहिनीसमेत परिवारजनसँग भेटघाट गर्न आउनुले समाजमा थप रमाइलो र आनन्दको खुसियाली हुन्छ । परिवार, कुटुम्ब, नाता–सम्बन्धका बीच परस्पर सुख, स्नेह र दिल–मनका कुराको लेनदेनले एक भावनात्मक सुन्दर वातावरण बनाएको हुन्छ । दशैँताका घटस्थापनादेखि सप्तमीसम्म अति शुद्धता र पवित्रताको ख्याल राखी दुर्गा भवानी, कुमारी आदि देवीको श्रद्धाका साथ पूजा गरिन्छ भने अष्टमी र नवमीमा भने अबोध, निमुखा, निरीह र निहत्ता पशुपक्षीलाई तीनै जगत्माताका नाममा निर्ममातासँग हत्या गरी बलि चढाउने प्रथासमेत यस पर्वसँग सम्बद्ध छ, जो आफैँमा अनौठो विडम्बना हो । त्योबाहेक जमरा, निधारमा रातो टीका आदि हाम्रो महान् संस्कृतिका रोचक र सुन्दर पक्ष हुन् ।
दशैँ पर्वलाई विजया दशैं वा बडादशैंको नामले मानिस बढी गौरवसाथ मनाउने गर्दछन् । शास्त्र पुराणका अनुसार यसबारे विभिन्न किंबदन्ती छन् । एउटा आख्यानअनुसार अति बलशाली राक्षसराज लंकाधीपति रावणलाई श्रीरामले पराजित गरी उनको आतङ्क र अत्याचारबाट तत्कालीन समाजलाई स्वतन्त्र गरेका थिए । यद्यपि रावण निकै विद्वान्, बुद्धिमान थिए, तर उनी सक्षसी प्रवृत्तिका हुनाले अरूलाई दुःख दिने, साधु–सन्त र सज्जनप्रति अन्याय र अत्याचार गर्ने, सताउने काम गर्दथे । साथै रावण नैतिकहीन, चरित्रहीन, छल कपट, कुचेष्टा राख्ने र कुदृष्टि भएका व्यक्ति थिए । त्यसले गर्दा उनको राज्यमा मानिसहरू दुःखी, अशान्त, पीडित, त्रसित–भयभीत थिए र उनको पञ्जाबाट स्वयम् मुक्त हुन चाहन्थे । किनकि, रावणको राज्य जनतालाई रुवाउने, शोकसन्तापले पिरोलिरहने, दुःखकारी राज्यका स्वरूपमा मानिन्छ ।
वास्तवमा रावण दश टाउको भएको कुनै विशाल कायको जीवनिशेष नभई एक प्रतीकात्मक र अलङ्कारिक चित्र मात्रै हो । यसको आध्यात्मिक रहस्य प्रत्येक नरनारीको जीवनमा भएका पाँच–पाँच विकार काम, क्रोध, लोभ, मोह र अहंकारको प्रतीक नै रावण हो जो आहिले सम्पूर्ण संसाररूपी लङ्कामा व्याप्त छ । संसारको कुनै पनि व्यक्ति यसको कुचक्रबाट मुक्त छैनन् । सबै मानिसहरू यिनै मनोविकार र कमजोरीका कारण दुःखी र अशान्त बनेका छन् । मानव जीवनमा देखापर्ने रोग, शोक, चिन्ता, भय, त्रास, निरासा र हतास मनस्थिति पनि यिनै सूक्ष्म विकारका पैदाइस हुन् । मानव मनका आसुरीवृत्ति र रावणवृत्तिका कारण नै बाह्य समाज, राष्ट्र र विश्वव्यापी रूपमा अन्याय, अत्याचार, पापाचार, हिंसा, हत्या, आतङ्कवाद, प्रथक्वावाद, युद्ध, लडाइँ आदि समष्टिगत रूपमा देखापरेका छन् । सर्वत्र हाहाकार, कोलाहलको बिगबिगीपूर्ण वातावरण फैलिएको छ ।
यसैगरी अर्को कथनका अनुसार महिषासुर नामको राक्षसले तीनै लोकमा दुःख, कष्ट र भय, त्रासको त्राहिमान मच्चाएको थियो रे । उसको साथका अन्य बलवान दानवहरू शुम्म–निशुम्भ, मधु र कैटव, धुभ्रलोचन, रक्तवीज आदि जस्ता महाबलि राक्षसहरूलाई समेत दुर्गा भवानी, काली शिवशक्तिले आफ्नो दिव्य शक्तिले बध गरी सारा संसारलाई मुक्त गरेकी थिइन् भन्ने विश्वास छ । कथावस्तुमा अतिशयोक्ति वा अतिरञ्जना, रूपअलङ्कारको लामो वर्णन र बखान गरिएको छ । वास्तवमा यी सबै कुरा गहन आध्यात्मिक रहस्यका प्रतीक मात्र हुन् । यसमा आन्तरिक अर्थ छिपेको शाब्दिक अर्थलाई मात्रै समातेर पुग्दैन ।
वस्तुतः सम्पूर्ण राम्रा र नराम्रा पक्षको उपजको मूल केन्द्रबिन्दु मानव मन नै हो । मानव मनभित्रको विकृति र विसङ्गति नै बोल, कर्म र व्यवहारमा प्रस्तुत हुने हो । अतः शास्त्र पुराणका दृष्टान्तहरूलाई रोचक कुराहरू मानी रोचक ढङ्गले मात्रै नसम्झेर घनीभूत चिन्तनका आधारमा तिनीहरूको आध्यात्मिक रहस्य जान्न सकेमा सत्यको सार बुझ्न सकिनेछ तथा जीवनमा केही नवीनता र परिवर्तन आउनेछ । यसबाट अन्ध परम्परा, कुरीति, सङ्कुचित विचारधाराको अन्त हुनेछ र धर्मका नाममा जघन्य पापकर्म गर्नबाट मानव जातिलाई रोकथाम गर्न र जोगाउन सकिनेछ । अन्यथा हठधर्मी अन्ध परम्पराको मान्यताले मानव समाजलाई जहिले पनि आफ्नो कुचक्रको भुमरीमा धसाइरहनेछ । अतः नयाँ प्रकारको समझ, चिन्तन र अभ्यासलाई चेतना अभिवृद्धि गर्ने हिसाबले अभियानका रूपमा नै अगाडि बढाउनुपर्छ ।
वास्तवमा सत्य विजय र साँचो विजयका लागि मानिसभित्रको अज्ञान–अन्धकार मेटिनुपर्छ तथा ज्ञान–प्रकाशको उदय हुनुपर्छ, असत्यमाथि सत्यले विजय पाउनुपर्छ । आसुरी अवगुण र लक्षणलाई परिवर्तन गरी दैवी संस्कार र स्वभावले स्वयम्लाई शृङ्गार गर्नुपर्छ । विकारजन्य चित्तवृत्तिलाई निर्विकारी र पवित्र चित्तवृत्तिका रूपमा परिवर्तन गर्नुपर्छ । अनि मात्रै सच्चा विजयको तिलक लगाउन सकिनेछ । तब मात्रै मानिसको जीवनमा दिगो शान्ति, हर्ष र खुसीको वसन्त बहार हुनेछ । सम्पूर्ण समाज, राष्ट्र र विश्वमा शान्ति, सद्भाव, भाइचारा र मित्रताको वातावरण बन्नेछ । कसैको कसैसँग मतभेत हुने छैन । कसैले कसैलाई दुःख दिने, थिचोमिचो गर्ने कार्य गर्ने छैन । सबैले सबैप्रति शुभ भावना राखी स्नेह, प्यार र सम्मानको व्यवहार गर्नेछन् । मानिसको मौजुदा चेतना, सोच र वृत्तिमा आमूल परिवर्तन हुनेछ । अरूलाई सहयोग गर्ने, अरूको कल्याण र भलो गर्ने कार्यमा मानव जाति संलग्न हुनेछ । सुख दिने र सुख लिने, खुसी रहेर खुसी बाँड्ने कार्य हुनेछ । फलतः चारैतिर अत्यन्तै सुखद र अमनचयनको वातावरण बन्नेछ । धर्तीको मुहार नै फेरिनेछ । प्रकृति, प्राणी, वनस्पति, सबैमा सुमधुरता संयमशीलताको समरसता हुनेछ । वर्तमान समयमा परमात्माले ज्ञान र योगको माध्यमबाट यस्तै संसारको नवनिर्माणको कार्य गराइराख्नुभएको छ । तपाईं–हामी पनि यस महान् कार्यमा सहयोगी बनी विजयी बनौँ र सबैलाई पनि विजयी बनाऔँ ।
यस वर्षको विजयादशमीले नेपालका जिम्मेवार नेतृत्व वर्गलाई विशेष विजय हासिल गर्न आपसी द्वन्द्व, मतभेद, बहस र व्याख्यानको भिडन्त तथा टक्करबाट माथि उठाएर सहमति र सहकार्यको मिलनबिन्दुमा पु-याओस् । अनावश्यक ढिपीमा नअडिएर नम्र र लचिलो बनी अहंकारलाई त्याग गरेर अगाडि बढ्नाले नै मुलुक र मुलुकवासीको चाहना र आवश्यकतालाई परिपूर्ति गर्न सकिनेछ । मुलुकवासी सबैलाई आफ्नै सम्झी, दलगत स्वार्थ, जातीय स्वार्थभन्दा माथि मुलुकको स्वार्थको कदर गर्दै एक ठोस मिलनबिन्दुमा पुगी निर्धारित समयमा नै संविधान जारी गरी मुलुकलाई निकास दिने कार्य फत्ते होस् । यो नै सबै मुलुकवासीका लागि वास्तविक सत्य र सच्चा विजय हुनेछ । यसमा कसैको हार–जित भन्ने सवाल छैन सबैको जितैजित हुनेछ । आ–आफ्नो तर्कको अहङ्कार र अहम् भावमा अडिग रहेर अनिर्णयको बन्दी रहने हो भने मुलुकको मूल्यवान समय, शक्ति र स्रोतको अपव्यय मात्रै हुनेछ । जसको पूरा भार मुलुक र भावी पिँढीले व्यहोर्नुपर्नेछ । अतः यस विषयमा सद्विवेकको प्रयोग गरी, आध्यात्मिक चिन्तनलाई साथ लिई, नमकको सोझोको समेत विचार गरी स्वजिम्मेवारी पूरा गर्नुहुन अपिल गर्नु सान्दर्भिक नै होला । परमात्मा शिवबाबा र माँ जगदम्बा दुर्गाभवानीले सबैलाई शक्ति र सद्बुद्धि प्रदान गरून्, यही मंगलमय शुभकामना, सच्चा विजयका लागि विजयादशमीको शुभकामना ।
प्रतिक्रिया