कुरा कोरियाको

कुरा कोरियाको


nisedhदक्षिण कोरियाली नागरिक नाम ही ली र नाम ही किमको नेतृत्वमा रहेको अन्तरधार्मिक सञ्जालले आयोजना गरेको ‘इन्टरनेसनल पिस समिट’मा भाग लिन गत हप्ता दक्षिण कोरिया पुगेका बेला विश्वका विभिन्न धार्मिक, राजनीतिक तथा अन्य व्यावसायिक व्यक्तित्वहरूसँग भेटघाट भयो । कार्यक्रममा त यदाकदा भाग लिइनै रहिन्छ, तर बडो गजबको आश्चर्यजनक थियो इन्टर रिलिजियस पिस समिट । विश्वका सयभन्दा बढी मुलुकका मानिसको उपस्थिति र ती सबै अतिथिलाई नसोचेको न्यायो स्वागत सत्कार र व्यवहार । प्रोटोकल अफिसरसहितको मान–सम्मान, संयुक्त राष्ट्रसङ्घमा झैं कार्यक्रम स्थलमा विभिन्न मुलुकका झन्डा र कतिपय मुलुकका पूर्वराष्ट्रप्रमुखहरूको सक्रिय सहभागिता । दक्षिण कोरियाको विशाल रंगशालामा भएको उद्घाटन समारोहमा ६० हजार मानिसको उपस्थिति थियो । ६० हजार मानिसका बीच स्वागत, मार्चपास, आतिसबाजी, मञ्चको सजावट सबै हेर्दा टेलिभिजनमा वल्र्डकपको उद्घाटन हेर्दाको दृश्यझैं लाग्थ्यो । राज्यको सहभागिताबिना पनि त्यसप्रकारका कार्यक्रम हुन्छन् भनेर विश्वासनै गर्न नसक्ने गरी सुरक्षालगायत अन्य व्यवस्थापन देख्दा ओहो… मान्छेले चाह्यो भने त जे पनि हुन सक्ने रहेछ जस्तो पनि लाग्यो । हेभेन्ली कल्चर एन्ड वल्र्ड पिस अलायन्सका संस्थापक कोरियन नागरिक म्यान ही ली तथा उनकी सहकर्मी इन्टरन्यासनल विमेन पिस ग्रुपकी अध्यक्ष नाम ही किमको निमन्त्रणामा विश्वभरिका धार्मिक एवम् राजनीतिक नेता, युवा, शान्तिको क्षेत्रमा कार्यरत व्यक्ति, विभिन्न पेसा तथा व्यवसायमा रहेका व्यक्तिहरू एवम् अन्य व्यक्तित्वहरू त्यहाँ पुगेका थिए । म्यान ही लीले विश्वशान्तिको परिकल्पना गर्दै लामो समयदेखि अन्तरधार्मिक सक्रियता बढाएका रहेछन् । विश्वका विभिन्न मुलुकमा उनको संस्थाले कार्यक्रम गरिसकेको रहेछ । नेपालमा पनि शान्ति युवा अवार्डले विभिन्न क्षेत्रमा कार्यरत युवालाई सम्मानित गर्ने गरिएको छ । कोरियामा उनको सक्रियतालाई अलि फरक ढङ्गले हेरिँदो रहेछ, तर पनि उनले आफ्नो कामलाई निरन्तरता दिन छोडेका रहेनछन् । युवा अवस्थामै सुरु भएको उनको अभियान अहिले उनी ८३ वर्षका हुँदासम्म उत्तिकै सक्रियता साथ चलिरहेको छ । उनकी व्यावसायिक मित्र नाम ही किमले महिला विभागको नेतृत्व लिइरहेकी छिन् । शान्तिको क्षेत्रमा कार्यरत विश्वभरिका महिलालाई समेटेर काम गर्ने उनको सपना छ । युद्धको असर महिला र बालबालिकामा बढी पर्ने हुँदा महिला स्वयम्ले शान्तिको पक्षमा कदम चाल्नुपर्ने मान्यता उनको छ । यी दुई व्यक्तिहरू महिला र पुरुषको व्यावसायिक मित्रताका उदाहरणीय पात्र पनि हुन् । जसले विभिन्न धार्मिक समुदायका मानिसलाई एकै ठाउँ राखेर विश्वशान्तिका लागि प्रतिबद्धता जनाउने वातावरण निर्माण गर्छन् ।
सन् १९६० सम्म सामान्य मुलुकका रूपमा रहेको कोरियाको अवस्था नेपालको जस्तै थियो । सन् १९६१ मा जनरल पार्क चुङ हीले सत्ता हातमा लिँदा त्यहाँका मानिसको प्रतिव्यक्ति आय दुई सय डलरभन्दा कम थियो । उनको १८ वर्षे नेतृत्वले मुलुकलाई शान्ति र विकास दुवै दियो । उनकै कार्यकालमा १७ सयभन्दा माथि पुगेको कोरियाको प्रतिव्यक्ति आय अहिले तीस हजार डलरभन्दा माथि छ । जनरल चुङ हीले सत्ता हातमा लिएपछि औद्योगीकरण र उत्पादनलाई जोड दिएका थिए । अहिले कोरियाको उद्योग व्यवसायका लागि मानिस पठाउने मुलुकमा नेपाल अगाडि नै छ । यसबीचमा कोरियाले धेरै कुरा उत्पादन ग-यो हामीले चाहिँ श्रमशक्तिका लागि मान्छे मात्रै उत्पादन गरेछौँ । कोरियाको काँचुली फेर्नका लागि महत्वपूार्ण योगदान गरेर अर्थतन्त्र बलियो भएपछि यी जनरलले प्रजातन्त्रको आवश्यकता ठाने र चुनाव गराए । आफू पनि राष्ट्रपतिमा उठे र जिते पनि । आखिर मुलुकको हितमा काम गरेपछि जनताले पुरस्कृत त गर्ने नै रहेछन् । त्यसपछि जो–जो नेतृत्वमा आए उनीहरूले विकासको इँटा थप्दै गए । फलतः कोरिया आज विश्वमै गनिने मुलुकका रूपमा परिचित छ । विकासको तीव्रता बढ्दो छ । अर्थतन्त्रबिनाको प्रजातन्त्रभन्दा अर्थतन्त्रका लागि केही समयको निरङ्कुशता राम्रै हुने रहेछ भन्ने कुराको उदाहरण पनि हो कोरिया । जसको वैभव एयरपोर्टबाटै सुरु हुन्छ, जता गयो त्यतै अनुशासन र विकास, कानुनी राज्य र स्थापित प्रणाली तथा त्यसको अभ्यास ।
एयरपोर्टमा झरेपछि इमिग्रेसनतर्फ लाग्दै गर्दा इमिग्रेसन फर्महरू राखिएको ठाउँमा आँखा प-यो । फर्मसँगै डोरीमा बाँधेर विभिन्न पावरका चस्मा पनि राखिएका थिए । सादा सेतो रंगका ती चस्माका पावर माइनस–प्लस के हुन् र कति हुन् भन्ने पनि स्पष्ट खुलाइएको थियो । प्रायः अन्य मुलुकमा फर्मसँगै लेख्नका लागि डोरीमा बाँधेर कलमचाहिँ राखिएका हुन्छन् । हाम्रो मुलुकमा चाहिँ त्यही कलम पनि राखिएको हुँदैन । कलम नबोकी हिँडेका यात्रीहरूले एकैछिन तपाईंको कलम दिनुस् भनेर फर्म भर्नका लागि कलम मागिरहेको देखिन्छ । तर, कोरियामा चाहिँ कलम मात्र होइन यात्रुलाई फर्म भर्न सहज होस् भनेर चस्मासमेत राखिएको हुँदो रहेछ । यात्रामा चस्मा हराएका या बोक्न भुलेका मानिसलाई कुनै प्रकारको कठिनाइ नहोस् भनेर उक्त व्यवस्था गरिएको रहेछ । हेर्दा साना लाग्ने यस्ता कुराले सरकार या एयरपोर्ट व्यवस्थापन यात्रुका प्रति कति संवेदनशील छ भन्ने कुरा थाहा हुन्छ । कोरियामा कामदारलाई हेर्ने दृष्टिकोण पनि अन्य मुलुकमा भन्दा फरक छ । बाह्य देशका कामदारको योगदानलाई ‘ट्रेनिज’को नाम दिएर कदर गरिन्छ । लेबर मार्केटमा काम गर्नेलाई लेबर भनिँदैन, भाषा र बोलिचालीले दिने सम्मान कहिलेकाहीँ पैसाभन्दा ठूलो लाग्छ । नयाँ सहरहरूमा देखिएका बडेमानका घरहरू हेर्दा मनमा लाग्छ, यी विशाल घरहरूमा हाम्रा नेपाली दाजुभाइका पनि पसिना बगेका छन् । आफ्नै मुलुकमा पैसासँग पसिना साट्न पाएको भए युवाहरू रोजीरोटीका लागि अहिलेझैं विदेशिनुपर्ने थिएन । अहिले कोरियामा दश हजारभन्दा बढी नेपाली कार्यरत छन । कानुनी हैसियतमा गएकाहरू उद्योग तथा अन्य व्यवसायमा भए पनि गैरकानुनी रूपमा रहेकाहरूले स्थान पाउने भनेको श्रमबजारमै हो । जो जहाँ भए पनि आखिर नेपाली मन अरूभन्दा फरक नै हो । कोरिया जाने थाहा पाएपछि त्यहाँ रहेकी बैनी जुनु गुरुङ्ले भनिन्, ‘दिदी एकपल्ट त भेट्नैपर्छ है ? कार्यक्रमस्थलमा भेटिएका कोरियामै बस्ने विद्यार्थी भाइ विमल सुवेदीले छोटो समय लिएर गएकोमा गुनासो गरे । न कहीँ घुम्न पाउनु भो न हामीले कुनै कार्यक्रम गर्न पायौँ भन्दै विमलले अर्कोपल्ट आउँदाचाहिँ अलि समय लिएर आउनु है भने । उनले यसो भन्दै गर्दा मैले एकपल्ट साथी गिरीशले वासिङ्टनडीसीमा ‘यस्तो हतार गरेर के आएको, आगो लिन आएजस्तो’ भनेको सम्झिएँ । कोरियामै बस्ने प्रकाश अधिकारीले यहाँ आएको बेला एकपल्ट भेट्नुपर्ने भनी इमेल पठाए । जोसँग सम्पर्क भए पनि साथी सरु जोशी श्रेष्ठको नाम लिन छुटाएनन् । वैदेशिक रोजगारकी ज्ञाता सरु विश्वभरि छरिएका नेपालीबीच लोकप्रिय छिन् । एकपटक अबुधाबी एयरपोर्टमा भेटिएका साउदी रिटर्न एक युवाले यस पङ्क्तिकारसँग सरु जोशीलाई चिन्नुहुन्छ ? भन्ने प्रश्नसहित भनेका थिए, ‘उहाँका लेख पढ्दा त घाउमै मल्हम लाएजस्तो पो हुन्छ त ।’