पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले बित्तिय क्षेत्रमा सहकारीको योगदान उच्च रहेको प्रष्ट पारेका छन् । पूर्वप्रधानमन्त्री चन्दले मुलुकमा संचालित सहकारीले आर्थिक क्षेत्रमा रचनात्मक काम गर्दै गएको जिकिर गरेका हुन् ।
भक्तपुरको बालकोटस्थित मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले अर्थतन्त्रमा सहकारी मोडेल प्रभावकारी भएको दावी गरे । बजारमा छरिएर रहेका सानो सानो पुँजीलाई जम्मा पारेर सदस्यको जीवनस्तर उकास्ने कार्य सहकारीले गर्ने गरेको उनको तर्क थियो । ‘तीन खम्बे अर्थ नीतिमा सहकारी सबल खम्बा बन्दै गएको छ ।’ उनले भने, ‘सहकारीकै कारण आज मुलुकको आर्थिक विकासमा टेवा पुगेको छ ।’
सामान्य परिवारले पनि सहकारीमा आफूले कमाएको रकम जम्मा गर्न र ऋण झिक्न सक्ने अवस्थाको सिर्जना भएको पूर्वप्रधानमन्त्री चन्दको भनाई छ । उनले सहकारीमार्फत ब्यक्तिको उद्यमशिलतामा विकास भएको र जिविकोपार्जनमा समेत सहयोग पुगेको दावी गरे । ‘सानो उद्यम गर्ने व्यवसायीलाई सहकारीले सहयोग पु¥याएको छ ।’ उनले भने, ‘पुँजी अभावकै कारण सानातिना उद्यम रोकिदैन । यो कार्य सहकारीले गर्दै आइरहेको छ ।’
भक्तपुरको बालकोटमा ११ बर्षअघि शुरु भएको मैत्रीय सहकारीले आर्थिक बर्ष ०७४/७५ मा १९ लाख १८ हजार मुनाफा कमाउन सफल भएको छ । सहकारीले सोही अवधिमा २ करोड ४४ लाख ३५ हजार कुल आम्दानी गरेको छ भने कृषि, पशुपालन तथा शैक्षिक क्षेत्रमा १९ करोड १७ लाख ४९ हजार कर्जा लगानी गरेको छ ।
सहकारीले समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएको सहकारीका कोषाध्यक्ष दिवाकर सिलवालले जानकारी दिए । सहकारीका अध्यक्ष बालमुकन्द उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा दैनिक, मुद्धति, नियमित बचत, असल कारोबार गर्ने र जेष्ठ नागरिक बचतकर्तालाई सम्मान एवं पुरस्कृत गरिएको सहकारी संचालक समिति सदस्य नविन उप्रेतीले जानकारी दिए ।
प्रतिक्रिया