प्रतिकूलता र नेपाली विशेषता

प्रतिकूलता र नेपाली विशेषता


sampadakeeyaगोर्खाबाट विस्तार हुँदै एकीकृत राज्यको स्वरूप पाएको नेपाल नामक यस मुलुकमा ‘न्याय नपाए गोर्खा जानू’ भन्ने उक्ति अहिलेसम्म प्रचलनमै छ । तर, न्यायका लागि यसरी ऐतिहासिक प्रतीकात्मक स्थल बन्न पुगेको गोर्खाबाटै न्यायको गुहार माग्दै राज्य र शासकहरूको ढोकासम्मै पुगेका नन्दप्रसाद अधिकारीले घोर अन्यायका साथ जीवन गुमाउनुपरेको छ । आफ्नो छोराले अनाहकमै अपराधीका हातबाट अकालमा ज्यान गुमाउनुपरेको भन्दै अभियुक्तहरूविरुद्ध किटानी जाहेरीका साथ कानुनी कारबाही एवम् न्यायको निम्ति गुहार लगाउँदा पटक्कै सुनुवाइ नभएपछि आमरण अनशनको सहारा लिएका अधिकारीले न्याय त पाएनन् नै, चरम अन्यायको थप अभिसाप व्यहोर्दै देह त्याग गर्नुप-यो । न्यायको खोजीमा भोक–हडताल गरेर ज्यानै गुमाउनुपरेको अत्यन्त दुःखदायी घटनाको मुलुककै पहिलो उदाहरण बन्न पुगे गोर्खा फुजेलका नन्दप्रसाद अधिकारी । थप विष्मयकारी कुराचाहिँ के छ भने मानवाधिकार तथा कानुनी राज्यको घोर उपहास भई मुलुकमा यसरी कालो इतिहासको रचना हुँदै गर्दा हाम्रा प्रधानमन्त्री सम्भवतः राष्ट्रसङ्घीय महासभाको ‘ड्यास’मा उभिएर ‘नेपालमा मानवाधिकार एवम् कानुनी शासन बहाली भएको र नागरिकलाई मानवाधिकार र दण्डहीनताको प्रत्याभूति दिलाउन आफू दृढसङ्कल्पित रहेको’ अभिव्यक्ति दिने तयारी गरिरहेका छन् । योजस्तो शर्मनाक कुरा दुनियाँमा अरू के होला ? जे होस्, मानवअधिकारको प्रत्याभूति एवम् दण्डहीनताको अभिसापबाट मुलुकलाई मुक्ति दिलाउने सवालमा यो घटना एउटा नयाँ प्रस्थानबिन्दु बन्ने अपेक्षा गर्दै तत्कालका लागि यस प्रकरणलाई यहीँ थाती राखौँ ।
जतिसुकै पीडा–प्रतिकूलताको अवस्थामा पनि धर्म–संस्कृतिअनुसार चलनचल्तीमा रहेका चाडबाड, रीतिथिति, पर्व तथा उत्सवको आगमन भने भई नै रहन्छ । यिनलाई अनुकूल परिवेशसम्मका लागि भनी थाती राख्न सकिन्न । कोही भौतिक तथा मानसिक रूपले तयार होस् या नहोस्, निश्चित समयमा आउने चाडपर्व आउँछन् र जान्छन् पनि । व्यक्ति, परिवार, समाज तथा देश आर्थिक रूपले समृद्ध, शान्तिसुरक्षाका दृष्टिले ढुक्क अनि राजनीतिक हिसाबले पनि सन्तृप्त छ भने चाडपर्वको आगमन त्यसै–त्यसै उल्लासमय हुन पुग्छ र यस्तो परिवेशमा मनाइने चाडबाड निःसन्देश सन्तोषप्रद र सुखदायक पनि हुन्छ । शान्ति र समृद्धिको अभावमा भने चाडबाड खल्लो वा निरस हुनेमा दुईमत रहन्न र पनि त्यसलाई मनाउनुको विकल्प खोज्ने प्रवृत्ति हामीकहाँ विकसित भएको छैन ।
सदियौँ–दशकौँ–वर्षौंदेखि आमनेपालीले प्रतीक्षा गरेको शान्ति, समृद्धि र राजनीतिक स्थिरता अझै दूर–दूरसम्म पनि दृष्टिगोचर छैन । तैपनि राजनीतिकर्मी र खासगरी सत्तासीन दलका नेताहरू ‘आर्थिक एवम् राजनीतिक रूपमा मुलुकले छिट्टै फड्को मार्ने’ दाबी गरिरहेकै छन् । नेतागणका यस्ता अभिव्यक्ति भने फगत ‘हाँसो नउठ्ने चुट्किला’मा रूपान्तरित भएको प्रतीत हुन्छ । मौजुदा राजनीतिक परिवेशमाथि दृष्टि लगाउँदा आशा जाग्ने–जगाउने कुनै क्षेत्र देखिँदैन, देश दिनानुदिन ओरालो लागिरहेको सुस्पष्टै छ । संविधान बनेपछि आकाशको तारा नै धर्तीमा ओर्लन्छ भन्ने कथा हालेर जनतालाई आशा देखाउनेहरू नयाँ संविधानप्रति ओठेप्रेम त देखाउँछन्, व्यवस्थापिका संसद् अवरुद्ध गराई प्रकारान्तरले संविधान निर्माण प्रक्रिया नै अवरुद्ध गराउन पनि उनीहरू नै उद्यत् छन् । दोस्रो संविधानसभाको निर्वाचनपछि अबचाहिँ संविधान बन्छ कि भनी येनकेन जागेको आशा फेरि पनि नागरिक समाजको ठूलो हिस्साले मारिसकेको छ । राजनीति बिग्रेपछि कुनै पनि मुलुक अस्तव्यस्त बन्न पुग्छ भन्ने उदाहरण खोज्न अब सुडान, सिरिया, इराक, लिबिया आदिको सहारा लिइरहनैपर्दैन, नेपाल नै काफी भइसकेको छ ।
यस्तै–यस्तै परिवेशबीच नेपालीले विशेष महत्व र उल्लासका साथ मनाउने दशैँ, तिहारलगायत चाडपर्वले आमनेपालीको घरआँगनमा प्रवेश गर्नै लागेको छ । जतिसुकै पीडा, वेदना र प्रतिकूल परिस्थिति भए पनि दिल खोलेर चाडपर्व मनाउने चेष्टा गर्नु नेपालीको विशेषता नै हो । आर्थिक सम्पन्नताले प्रदान गर्ने खुसीसँग चाड मनाउन सकिने माहोल राज्यले खडा नगरिदिए पनि मनका धनी नेपालीले दशैं मनाउने आफ्नै तयारी स्वतःस्फुर्त रूपमा गरेका छन् । नेपालीजनमा विद्यमान यो मौलिकता वास्तवम एउटा गौरवको विषय हो भन्दा अत्युक्ति नठानिएला । विकृति–विसङ्गति, अत्याचार–दूराचारको अन्त्य तथा आपसी भाइचारा, एकता, मिलन र उल्लासको प्रतीक महान् चाड बडादशैँको शुभागमनमा पीडा–वेदना र प्रतिकूलता भुलेर खुसियाली मनाउने सामथ्र्य मिलोस्– हाम्रा पाठकवर्ग, विज्ञापनदाता एवम् समस्त देशवासी दाजुभाइ–दिदीबहिनीमा हार्दिक शुभकामना ।