‘नेपालका लागि नेपाली’ अभियानले भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यलगायतका १५१ बुँदे मागहरु अघि सार्दै एक हप्ताभित्र वाइडबडी जहाज खरिद काण्डबारेमा प्रभावकारी छानविन आयोग नबनाए नागरिक आयोग गठन गर्ने चेतावनी दिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘नेपालका लागि नेपाली’ अभियानले सरकारलाई यस्तो चेतावनी दिएको हो ।
अभियानका अभियान्ता डा.सुरेन्द्र भण्डारीले वाइडबडी खरिद प्रक्रियामा ठूलो भ्रष्टाचार भएको खबरहरु आईरहेको बताउँदै यसकाबारेमा एक हप्ताभित्र प्रभावकारी छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका हुन् । उनले भने,‘वर्तमान सरकार जनताप्रति उत्तरदायी बन्न सकेन, असुरक्षा, हिँसा, बलात्कार, अपहरण, भ्रष्टाचारले सिमा नाघेको स्थिति छ, यो बेलामा पनि हामी जनताहरुले स्वस्फुर्त रुपमा अन्यायको बिरोध गर्न सकेनौं भने देशको भविष्य ठीक हुँदैन, समाज दुर्गतिको बाटोमा जान्छ ।’
भण्डारीले बहुलजाति र धर्मको रुपमा रहेको मुलुकको शान्ति, एकता र भातृत्वजस्ता विरासतहरु वर्तमान सरकारले धरापमा पार्ने काम गरेको गम्भिर आरोप लगाए । उनले भने,‘२००७ सालदेखि आजसम्म जनताले ठूलो त्याग, तपस्या र जीवनको बलिदानी दिएका छन्, तर परिर्वतन भएन र विकास भएन, राजनीतिको मुल मर्म नै मरेको स्थिति छ ।’
आफूहरुले ०५२ सालमा तत्कालिन् माओवादीले सूरु गरको कथित द्धन्द्धको बेलामा कब्जा गरिएको सम्पति फिर्ता गर्नुपर्ने, मदन भण्डारीका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने, वाइडबडी खरिदको बारेमा सशक्त छानविन आयोग बनाउनुपर्ने, असमान सन्धि–सम्झौताहरु खारेज गरि समयसापेक्ष विदेश नीति बनाउनुपर्ने, राष्ट्रिय उदार अर्थतन्त्र विकास गर्नुपर्ने, स्वास्थ्य, शिक्षालगायतका मागहरु अघि सारेको सुनाए । उनले आफूहरुको मागप्रति सरकार गम्भिर बन्नुपर्ने धारणा राखे । ‘यदि सरकार गम्भिर बनेन भने यसको परिणाम ठिक हुँदैन ।’–उनले भने ।
त्यस्तै कार्यक्रममा अभियानका अर्का अभियान्ता तथा अधिवक्ता बालकृष्ण नेउपानले नेता र उनीहरुको आफन्तहरुको नाममा अकुत सम्पत्ति रहेको भन्दै तत्काल छानबिन गर्नुपर्ने माग गरे । नेउपानेले सत्तारुढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र तीनका आसेपासे, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा तथा देउवाकी पत्नी आरजु राणा देउवा र नेकपाकै वरिष्ठ नेता झलनाथ खनालको नाममा रहेको र उनीहरुका आफन्तहरुको नाममा भएको अकुत सम्पतिको छानविन गर्न माग गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य १५ सय जोडी इसाईको आर्शिवाद लिन लाईनमा बसेको देखिएको उनको भनाई छ । उनले भने,‘धर्मपरिर्वतनमा स्वयम् हाम्रो सरकार लागेको छ, सत्ता, शक्ति र सम्पतिको चरम रुपमा दुरुपयोग भएको छ ।’ नेउपानेले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लगाउन नसकेको भनेर वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।
प्रतिक्रिया