गैंडा अङ्कलको गुनासो
कहिलेकाहीँ हास्य कलाकार निर्मल शर्मा दिक्क मान्दारहेछन् । बाउबाजेले तिथिमिति जुराएर राखिदिएको आफ्ना नाम निर्मल गुमनाम हुने त होइन ? उनलाई चिन्ता र डर दुवै छ । बहुचर्चित हास्यशृङ्खला तीतो सत्यमा ‘गैंडा’को नामले विभिन्न भूमिकाहरूमा देखिँदै आएका निर्मल अहिले बजारमा आफ्नो वास्तविक नामले भन्दा पनि तीतो सत्यको गैंडाको नामले चिनिन थालेका छन् । उनी भन्छन्, ‘भन्न पनि सजिलो भएर हो कि यो हास्य कलाकार हो जुन नामले बोलाए पनि हुन्छ भनेर हो । निर्मलभन्दा गैैंडाकै नामले बढी बोलाइन थालेको छु म ।’
चलचित्रसम्बन्धी कार्यक्रममा त रमाइलै हुन्छ, बोलाए तर कुनै विशिष्ट अर्थ र मान्यता राख्ने कार्यक्रमतिर पनि निर्मल शर्मालाई छाडेर ‘गैंडा’ भनेर बोलाउँदा भने उनको चित्त दुखेको रहेछ । यसबारेमा निर्मलले भने, ‘नयाँ पुस्ताले त मेरो वास्तविक नाम नै गैंडा नै हो कि भन्ने सोचेका रहेछन् । कति बालदर्शकले मलाई गैंडा अङ्कल भनेर बोलाउँदा म छक्क पर्दछु । अनि उनीहरूलाई यो नाम टीभीमा मात्र हो, मेरो वास्तविक नाम यो हो भनेर भन्दाभन्दा म आजित भइसकेँ ।’
निर्मल शर्मा र गैंडा एउटै हो या यी दुई नामलाई फरक रूपले चिनिने डर पनि छ उनलाई । यही डर र त्रासका बीच पनि आफ्नो वास्तविक नाम निर्मल शर्मालाई स्थापित गराउन पनि अब निर्मल दत्तचित्त भएर लागिपर्न थालेका छन् । चलचित्र निर्माण त उनको पुरानो कर्म नै हो । त्यसपछि अभिनयले त निर्मललाई चर्चामा नै ल्यायो । विशेष गरेर तीतो सत्यबाट चर्चाको चरमचुलीमा पुगेका शर्मा अब चलचित्रको अर्को विधानमा हात हाल्दै छन् । त्यो हो– चलचित्र निर्देशन विधा । शर्माले निर्देशन गरेको चलचित्र ‘चकलेट’को यतिबेला छायाङ्कन भइरहेको छ ।
चलचित्रको यात्रामा बिट नमार्ने र कुनै न कुनै रूपमा यो क्षेत्रलाई निरन्तरता दिने उद्देश्य बोकेर नै चलचित्रको निर्देशन सुरु गरेको कुरा उनले बताए । ‘योबाहेक अरू जानेको छैन र आउँदैन पनि । अब चलचित्र नै हो,’ उनले भने ।
भोजपुरीमा ‘जय गढीमाई’
विश्वप्रसिद्ध बाराको गढीमाई मेला एवम् ऐतिहासिक महत्व बोकेको मन्दिरलाई लक्षित गरी ‘जय गढीमाई’ नामक भोजपुरी फिल्म निर्माण सुरु भएको छ । दसैँको घटस्थापनाको अवसरमा उद्घाटन गरी आउँदो गढीमाई मेलाअगाडि नै नेपाल र भारतको विभिन्न सहरमा प्रदर्शनमा ल्याउने निर्माता एवम् लेखक उपेन्द्र चौधरीले बताए । बारा र पर्साका स्थानीय कलाकारलाई विशेष प्राथमिकता दिइएको चलचित्रको कुल लागत ३० लाख रहेको र आवश्यकताअनुसार थपिन सकिने अर्का निर्माता विशाल यादवले बताए । पर्शुराम चौधरीको निर्देशनमा तयार भइरहेको जय गढीमाई भोजपुरी फिल्ममा गढीमाईको उत्पत्ति, महत्व, प्रभाव, इतिहासलगायत समाजमा रहेको जमिनदारी प्रथादेखि सामाजिक विकृति, अन्धविश्वाससम्मलाई समेटेर बनाइएको यस चलचित्रमा मिस वीरगञ्ज, ठाकुरराम बहुमुखी क्याम्पसका प्रोफेसर, विद्यार्थी, राजनीतिक दलका नेता एवम् पुराना भोजपुरी फिल्ममा नाम कमाएका कलाकारहरूको सहभागिता रहेको निर्माता रामदुलाल यादवले बताए । फिल्ममा नायकको भूमिकामा राजवीर यादव, नायिका अनिता पौडेल र अन्य कलाकार शिव विश्वकर्मा, खैरोदिन अन्सारी, श्रीराम उपाध्याय, रेखा शाह, पुष्प पाण्डे, राजेन्द्र चौधरीलगायतका रहेका छन् ।
गरिमाले अवार्ड थाप्दा केकी भुतुक्कै
अफर आएको कुरामा सही निर्णय गर्न नसक्दा र कामको छनोटमा चुक्दा अन्ततः दुई अभिनेत्री केकी अधिकारी र नीता ढुङ्गानालाई पछुतो परेको छ । यतिबेला देशव्यापी मात्र नभएर मुलुकबाहिर छरिएर रहेका नेपालीमाझ पनि चलचित्र झोलाको प्रशंसा र चर्चा कायम नै छ । र, यसै सिनेमाकी अभिनेत्री गरिमा पन्तको चर्चा र उचाइ पनि चलचित्र झोलाले चुलीमा पु-याइदिएको छ । यदि चलचित्र झोलामा काम गर्न आनाकानी नगरी इन्कार नगरेको भए अहिले गरिमाको ठाउँमा केकी वा नीताको चर्चा हुन्थ्यो भने दर्शकहरूमाझ पनि उनीहरूको वाहवाही चल्दथ्यो । झोलामा अभिनेत्रीको भूमिकामा अभिनय गरिदिन यो चलचित्रको समूह पहिले गरिमाभन्दा अगाडि केकी अधिकारी र नीता ढुङ्गानासमक्ष प्रस्ताव लिएर गएको थियो ।
झोला के हो ? यो कस्तो हो र यसले भोलि आफ्नो कला–यात्रामा कति राम्रो प्रभाव पार्न सक्छ भन्ने कुराको छ्यानविचार पु-याउन नसक्ने अनि एकै खालका चलचित्रमा काम गर्दै आएका तथा एउटै समूहभित्र घुलमिल गर्ने यी दुईले बृहत् सोच राख्न नसक्दा झोलाजस्तो चलचित्रबाट हात धुनुपरेको थियो । झोलामा काम नगरेर त्यसबेला नीता र केकीले म्युजिक भिडियोतिर ध्यान दिएका थिए, तर अहिले यो कुराले उनीहरूको मन पिरोल्न थालेको छ । हालै आयोजित एक अवार्ड कार्यक्रममा केकी अधिकारी दर्शकदीर्घामा थिइन् भने अभिनेत्री गरिमा पन्त चलचित्र झोलाबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड थाप्न स्टेजतिर पुगिन् । यो दृश्य हेर्न नसकेपछि केकी उठेर बाहिरिएकी थिइन् र साथीभाइलाई भन्दै थिइन्, ‘बेलैमा बुद्धि नपु-याउँदा राम्रो काम, नाम र चर्चा अरूको पोल्टामा गयो । बेकार छाडिएछ झोला ।’
केकीलाई मात्र होइन कि अर्की अभिनेत्री नीता ढुङ्गाना पनि अहिले पछुतो मानिरहेकी छिन् । झोलाजस्तो ऐतिहासिक चलचित्रलाई समय नदिएर अर्को फ्लप चलचित्रमा काम गर्दा जिन्दगीमा नै गलत निर्णय लिइएछ भन्न थालेकी छिन् । त्यसो त आफ्ना भनौँदाहरूले गलत सल्लाह दिँदा पनि आफूले सही निर्णय लिन नसकेकोमा उनलाई आत्मग्लानि लागिरहेको छ ।
कृति समीक्षा
तन्त्र बुझाउने पुस्तक ‘तन्त्रप्रभाव प्रकाश’
तन्त्रसाधना रहस्यमयी एवम् गोपनीय ठानिन्छ । प्रयोगको ढङ्ग नमिल्दा जोखिमपूर्ण पनि । तन्त्रलाई गोपनीय ठानिएको कारण नै यसको दार्शनिक एवम् सैद्धान्तिक पक्ष सार्वजनिक भएको पाइँदैन । दार्शनिक र सैद्धान्तिक पक्षलाई केलाउने अध्येताको अभावका कारण पनि यसो भएको हुन सक्छ । साधक कमलयोगीद्वारा लिखित ‘तन्त्रप्रभाव प्रकाश’ पुस्तकले तन्त्रविज्ञानबारे जान्न चाहनेलाई तृप्त पार्ने प्रयास गर्ने देखिन्छ ।
तन्त्रविद्यालाई हिन्दूधर्मसँग जोडेर हेर्ने गरिन्छ । तर, पुस्तकमा प्रयोग गरिएका सन्दर्भ सामग्रीले यो एउटै सम्प्रदायमा मात्र सीमित छैन भन्ने देखिन्छ । यो पुस्तकले हिन्दू, बौद्ध र अन्य धर्ममा भएको दर्शनलाई पनि एकै ठाउँमा हेर्न पाइन्छ । साथै प्राचीनतम संस्कृत भाषामा लेखिएका तन्त्रसम्बन्धी विषयलाई सरल नेपाली भाषामा पढ्न पाउनु पनि यो पुस्तकको विशेषता हो ।
ऐश्वर्य र पराक्रम जसले दिन्छ त्यसलाई नै ‘शक्ति’ भनिन्छ । शक्ति साधनामा आश्रित हुन्छ । साधकको भावअनुसार फल प्राप्ति हुन्छ । पशुभाव, वीरभाव र दिव्यभाव । जब व्यक्ति पशुभाव र वीरभाव हुँदै दिव्यभावमा प्रवेश गर्दछ व्यक्तिले ईश्वरीय दृष्टि प्राप्त गर्दछ । दिव्यभाव प्राप्त गर्ने उपाय नै तन्त्रसाधना हो । पुस्तकको निचोड यस्तै छ । समग्रमा लामो अध्यापन र साधनाको उपलब्धि हो तन्त्रप्रभाव । गोप्य र गुढ रहस्य मानिएको तन्त्रबारे जानकारी पाउनु साथै आफूभित्र रहेको अलौकिक शक्तिको पहिचान गर्न सक्नु नै पाठकहरूका लागि प्राप्ति सिद्ध हुनेछ ।
– सुदर्शन सुवेदी
प्रतिक्रिया