लघुवित्तको पछाडि सरकार दौडिरहेको छ : अर्थमन्त्री खतिवडा

लघुवित्तको पछाडि सरकार दौडिरहेको छ : अर्थमन्त्री खतिवडा


पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तराष्ट्रिय लघुवित्त सम्मेलन आइतबार सकिएको छ ।

घोषणापत्रले ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने नारालाई मूर्तरूप दिनका लागि परिणाममुखी कार्यमा केन्द्रित हुनुपर्ने र वित्तीय साक्षरतालाई सबै लघुवित्तले सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तै लघुवित्तको पहुँच विस्तारमा अघि बढ्नुपर्ने, स्वास्थ्य तथा कर्जा बीमा कार्यान्वयनमा बीमा प्रदायक संस्थासँग समन्वय गर्ने, सदस्यलाई ऋणको भार पर्न नदिने गरी कर्जा प्रवाह गर्नुपर्ने, लघुवित्तले जीवनस्तरमा पारेको प्रभाव मापन गरी स्तरवृद्धि मापन कार्ड प्रदान गर्नेलगायत घोषणापत्रमा १५ बुँदा समेटेको छ । सम्मेलनको समापन समारोहमा अर्थमन्त्री डा युवराज खतिवडाले लघुवित्तले दिगो विकासमा सघाउ पु¥याउने बताए ।
उहाँले दिगो विकासको अवधारणामा लघुवित्तको प्रयोग सफल उदाहरण भएको उल्लेख गर्दै घोषणापत्रको कार्यान्वयनमा सरकारले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्री डा खतिवडाले भने, ‘लघुवित्त अघिअघि दौड्नुभएको छ, लघुवित्तको पछाडि सरकार दौडिरहेको छ, पन्ध्र बुँदे घोषणापत्र, राष्ट्र बैंकले गरेको व्यवस्था र ऐन नियममा भएको व्यवस्थामा चित्त नबुझे त्यसमा कार्यदल बनाएर अघि बढौँ, सरकार समस्या भएका व्यवस्था संशोधन गर्न तयार छ ।’

बैंकिङ प्रणालीमा अहिले देखिएको तरलता अभाव उच्च आर्थिक वृद्धिदरको सङ्केत भएको स्पष्ट पार्दै उनले भने, ‘बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै अहिलेको तरलता समस्या पनि आर्थिक वृद्धि हुन लागेको सङ्केत हो ।’

अर्थमन्त्री डा खतिवडाले काम हुन थालेपछि चारैतिरबाट पैसाको माग आउँछ र अभाव हुन थाल्छ, अहिलेको अवस्था पनि यस्तै भएको हो भने । सांसद लीलानाथ श्रेष्ठले गरीबी र अशिक्षालाई हटाउन र देशको समृद्धिका लागि सरकारको मात्र मुख नताक्न आग्रह गरे । सांसद तुलसा थापाले विपन्न वर्गलाई उठाउन र विशेष गरी महिलालाई अगाडि बढाउन लघुवित्तले ठूलो भूमिका खेलेको बताउँदै सम्मेलनमा देखिएको उपस्थितिले पनि अब महिला एक्लै छैनन्, उनीहरूलाई साथ दिन लघुवित्त छ भन्ने प्रमाण दिएको धारणा व्यक्त गरे ।