भौँतारिएको आत्माको बयान

भौँतारिएको आत्माको बयान


bicharजीवनमा सबै मानिस एक न एकपटक भौँतारिएका हुन्छन्, सन्तुष्टि प्राप्त गर्ने लालचमा हरेक व्यक्ति भौँतारिन्छन् र तीमध्ये अधिकांशको चाहना निजी खुसी प्राप्तिमा सीमित हुने गर्दछ । धेरै कम या अति कम मानिस मात्र सृष्टि–रहस्य, जीवनको उद्देश्य या सत्यको खोजीमा भौँतारिएका हुन्छन् । यस्ता मानिस यति महत्वाकाङ्क्षी हुन्छन् कि साधारण मानिस जसको अन्तिम इच्छा राष्ट्रप्रमुख या सरकारप्रमुख बन्नेसम्मको हुने गर्दछ, योभन्दा कैयन गुणा उचाइको महत्वाकाङ्क्षा सत्यको खोजी गर्नेहरूमा रहेको महसुस गर्न सकिन्छ । सृष्टि या जीवनरहस्यको खोजीमा निर्लिप्त मान्छेलाई राष्ट्रप्रमुख या सरकारप्रमुखकै जिम्मेवारी दिइए पनि ती सन्तुष्ट हुन सक्दैनन्, उच्चपदीय जिम्मेवारीमा समेत टिकिरहने चाहना त्यस्ता मानिसमा हुँदैन । कतिपय मानिस जो ब्रह्मको खोजीमा हुन्छन् तिनलाई आफूले खोजिरहेको के हो भन्ने जानकारीसम्म नहुन सक्छ । भौँतारिरहेका हुन्छन्, तर आफूले खोजेको के हो ती आफैँलाई समेत थाहा हुँदैन । यस्तै एक रहेछन्– पत्रकारको परिचयमा रहेका विजयुकमार, उनको आत्मकथा ‘खुसी’ पढेपछि थाहा भयो । मेरो आँखामा विजयकुमार सधैँ तड्पिरहेका एक प्राणीजस्ता थिए । सामान्य मानिसभन्दा पृथक हाउभाउमा देखिने विजयकुमारलाई आफ्नैबारेमा राम्रो जानकारी थिएन भने अरूले उनलाई बुझ्न कठिन हुनु स्वाभाविक थियो । तर ‘खुसी’को प्रकाशनपछि यी चलायमान प्राणी के रहेछन् र यी सधैँ किन बेचैन प्रतीत हुँदारहेछन् भन्ने खुलासा भएको छ ।
मस्तिष्कमा चेतनाको प्रवेश भएदेखि नै विजयकुमार आफूलाई अन्यभन्दा अलिक बढी नै विशेष ठान्दथे भन्ने आत्मकथाबाट बुझिन्छ । उचाइमा देखिने हरेक वस्तु र अवस्थालाई छुँदै हिँड्न चाहने विजयमा उत्पन्न आध्यात्मिक चेतनाले उनलाई केही शान्त महसुस गराएको भए पनि सत्य प्राप्तिको अभेद्य इच्छाले उनलाई अझै पनि भाँैतारिन बाध्य गर्दै छ ।
जन्म भएपछि लघु या दीर्घ, वैभवशाली या विपन्न सबैले जीवन भोगेकै हुन्छन् । जनावरहरू मानिसभन्दा बढी सन्तुष्ट किन रहन्छन् भने तिनमा प्राप्तिको चाहना अत्यन्तै सीमित हुन्छ । प्राप्तिको असीमित र अविच्छिन्न चाहनाले मानिसलाई जनावरझैँ स्थीर र तनावरहित हुन दिँदैन । गन्तव्य जति गहिरो, जति उचाइदार र सुदूरको हुन्छ मान्छेमा छटपीटको मात्रा पनि त्यति नै बढी हुने गर्दछ– जस्तो विजयकुमारमा रहेको महसुस उनको पुस्तक ‘खुसी’बाट गर्न सकिन्छ । तीन सय बाइस पृष्ठको आत्मकथामा विजयले जीवनमा भोगेको उतारचढावको इतिवृत्तान्त इमानदारीपूर्वक चित्रण गरेका त छँदै छन्, आफ्नो मानसिक छटपटीको करुणामयी पीडा पनि रामै्रसँग छताछुल्ल पारेका छन् । यस्ता मानिस पारिवारिक जीवन बाँच्नका लागि जन्मिएका हुँदैनन्, कुनै पनि प्रकारको बन्धन जुन पे्रमकै भए पनि यिनका निम्ति अस्वीकार्य रहन्छ । तर, विजयले पारिवारिक बन्धनलाई असहज ढङ्गले भए पनि स्वीकार गरेका छन्, यसलाई उनको परिपक्वता या जिम्मेवारीबोधका रूपमा बुझ्नु उपयुक्त हुनेछ । मानव सभ्यताको विकाससँगै सृष्टि र जीवन रहस्यबारे चासो, चिन्ता र चिन्तन हुन थालेको हो । यस क्रममा कैयन ऋषिमुनि र दार्शनिकहरूले आफ्नो पूरा जीवन नै समर्पण गरेका थिए । तथापि सत्यको सत्ता अझै फेला पर्न सकेको छैन । विजयकुमार आफ्नो एउटै जीवनमा दृष्टिको सम्पूर्ण रहस्य उद्घाटित भएको असाध्य इच्छा पूर्ति गर्न चाहन्छन् भन्ने उनको आत्मकथाले दर्शाउँछ । विजयकुमार आत्मकथामा एक अति महत्वाकाङ्क्षी मानिसका रूपमा प्रकट भएका छन्, तर आफूले प्राप्त गर्न खोजेको के हो भन्ने उनी आफैँलाई थाहा हुँदैन । उच्चपदीय हैसियतले मानिसलाई पूर्ण बनाउँछ भन्ने भ्रम विजयमा एक समय पलायो र कालान्तरमा सेलायो । धनाढ्य मानिसको जीवनलाई सन्तुष्ट÷पूर्ण ठान्ने उनको भ्रम पनि धनाढ्यहरूसँगको सङ्गतपश्चात् टुटेको देखिन्छ । त्यस्तै नामी बन्ने उत्कट अभिलाषाले पनि एक कालखण्डमा विजयलाई सताएकै छ, तर निकै ठूलो सङ्घर्ष गरेर स्थापित गरेको नाम (विजयकुमार) नै आफ्नो हो कि होइन भन्ने द्विविधा उनमा पैदा भएको छ, अन्ततः उनी आफूलाई एक आत्मबिन्दुबाहेक केही नठान्ने ठाउँमा पुग्न केही कदम मात्र बाँकी रहेको पुस्तकबाट थाहा पाउन सकिन्छ । विजय अस्थिर छन्, सर्वथा बेचैन प्रतीत हुन्छन्, उनका दृष्टि सर्वत्र पर्छन् कहीँ टिक्दैनन् । उनको अतृप्त मन सत्यको खोजीमा भौँतारिएको छ, उन्मुक्त जीवन बाँच्न चाहने विजय जीवन गुजाराको मोहबाट मुक्त हुने हो भने उनी महात्मा प्रमाणित हुनबाट धेरै टाढा नरहेको बुझ्नु उपयुक्त हुनेछ ।
एकथरी मानिस जीवनमा सुख र आनन्दका हरेक आयाम भोग्न चाहन्छन् र भोगिरहन चाहन्छन् । सुखभोगमा लिप्त तिनका मन सधैँ अतृप्त रहन्छ । अर्काथरी त्यस्ता मानिस पनि धर्तीमा भेटिन्छन् जसको दृष्टिमा संसार भ्रम हो र भोगको चाहना विकार हो । यस्ता मानिस सुख या दुःख भोगको सबै साधनबाट टाढा रहन चाहन्छन् । यी दुईबाहेक तेस्राथरी मानिस पनि यहाँ छन् जो हरेक वस्तु र साधनको भोग गर्दै अघि बढ्न चाहन्छन्, भोग्छन् तर त्यसैमा अलमलिएर बस्न सक्दैनन् । विजयकुमार यही कोटिका मानिस हुन् भन्न सकिन्छ उनको आत्मकथाका आधारमा ।
‘म एउटा भ्रमबाट मुक्त भएको छु, संसारलाई बदल्न सक्छु भन्ने भ्रम । आफूलाई रत्तिभर नबदलीकन संसार परिवर्तन गर्ने सपना देख्थेँ म । अब संसार बदल्ने सपनाबाट मुक्त भएको छु । संसार बदल्नै नसकिने त होइन, तर त्यसरी होइन जसरी म सोच्थेँ ।’ विजयले एक सन्दर्भमा उल्लिखित व्यहोरा प्रकट गरेका छन् । यो एउटै पङ्क्तिले पनि उनी कति महत्वाकाङ्क्षी थिए र उनी वास्तवमा के चाहन्छन् भन्ने स्पष्ट गरेको छ ।
विजयकुमार आत्मकथामा निकै इमानदारीपूर्वक प्रस्तुत भएका छन् । कसैले के ठान्छन् या भन्छन् भन्ने प्रश्नप्रति पुस्तकमा उनी बेसरोकार देखिएका छन् । किताबमा उनले केही ऐतिहासिक तथ्यलाई सङ्क्षिप्तमा भए पनि उजागर गरेका छन् ।
राजा वीरेन्द्रको बारेमा उनले उल्लेख गरेको एक व्यहोराले आममानिसको विश्वासलाई चुनौती दिएको छ । लेखेका छन्–, ‘धेरैले सोच्छन् वीरेन्द्र पूरा प्रजातान्त्रिक थिए, ज्ञानेन्द्र पूरा अधिनायकवादी । योभन्दा ठूलो भ्रम केही हुन सक्दैन । माओवादी सैन्यविद्रोहको फैलावटमा कुटिल आनन्द (स्याडेस्टिक सेन्स अफ प्लेजर) लिने काममा वीरेन्द्रको दरबारले पनि कुनै कसर बाँकी राखेको थिएन भन्ने अब प्रमाणित भएको छ ।’
पत्रकारिता र आफूले भोगेका पत्रकार जीवनको बारेमा पनि केही घतलाग्दा तथ्य विजयले सार्वजनिक गरेका छन् । पत्रकारिताको विद्यमान अवस्थाबारे चर्चा गर्दै एक ठाउँमा विजयले भनेका छन्, ‘निजी क्षेत्रले चलाए भन्दैमा मिडिया व्यावसायिक हुनैपर्छ भन्ने छैन । व्यावसायिक पत्रकारिता गर्नु र व्यवसायका लागि पत्रकारिता गर्नु फरक कुरा हुन् । …जहाँ मालिक पर्दापछाडिबाट सक्रिय पत्रकारितामा छन्, तर सजिलोका लागि एउटा सम्पादक खडा गरिएको हुन्छ, त्यस्तो सम्पादक सक्कली या बुख्याँचा जे पनि हुनसक्छ ।
…नजर झुकाएर ठूलो मिडिया हाउसको सम्पादक हुनुभन्दा शिर ठाडो गरेर पत्रकार मात्र भएर बस्नु गौरवशाली हो भन्ने महसुस हुन थाल्छ । प्रकाशकले सम्पादकलाई आफ्नो पत्रिकाबाट मात्र हटाउन सक्छ, पत्रकारिताबाट होइन ।’
जीवनमा नामको उचाइलाई सर्वाधिक महत्व दिएका विजय कालान्तरमा ‘खुसी’को पछि लाग्ने चरणमा प्रवेश गरेका छन् र उनले पुस्तकको शीर्षनाम नै ‘खुसी’ चयन गरेका छन् । तर, विजयजस्ता मानिस खुसी प्राप्त भइसकेपछि पनि खुसी रहिरहन सक्दैनन् । पहिलो सत्य सधैँ क्षणिक हुन्छ र एउटा खुसी प्राप्त भइसकेपछि अर्को खुसी खोज्ने क्रम जारी रहन्छ, मृत्युशøयामा नपुगेसम्म यो क्रम चलिरहन्छ । यदि विजयकुमार खुसी या दुःखको चाहना या अवस्थाबाट पनि मुक्त हुने चरणमा प्रवेश गरे भने उनले निर्वाण प्राप्त गर्नेछन्, ‘खुसी’ लाई नै गन्तव्य बनाइरहे भने उनले खुसी खोज्दाखोज्दै पूरै जीवन सिध्याउनेछन् । आत्मकथा ‘खुसी’मा विजयकुमार आत्मकथाका कैयन जन्मदाताभन्दा इमानदारीपूर्वक प्रस्तुत भएका छन्, किताबको एउटा सुन्दरता यही पक्ष बनेको छ । यस्ता अनेक सुन्दरता झल्किने विजयको ‘खुसी’ पढेर पढ्नेहरू निश्चित रूपमा लाभान्वित हुनेछन्– यो मेरो विश्वास हो ।
– देवप्रकाश त्रिपाठी