यू–२१ ब्याडमिन्टन : ६ वटै स्वर्ण भारतको कब्जामा

यू–२१ ब्याडमिन्टन : ६ वटै स्वर्ण भारतको कब्जामा


काठमाडौंमा सम्पन्न दक्षिण एसियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपमा भारतले आफ्नो दबदबा कायम गरेको छ । नेपाल ब्याडमिन्टन संघको आयोजना तथा ब्याडमिन्टन एसियाको विकास कार्यक्रमअन्तर्गत भएको च्याम्पियनसिपको पुरुष एकलतर्फ भारतका प्रियान्सु रजावत श्रीलंकाका रन्थुस्का ससिन्दुलाई १६–२१, २१–१६, २१ –१७ ले पन्छाउँदै स्वर्ण पदक जितेका थिए । नेपालका नवीन श्रेष्ठ र सुनिल जोशीले कांस्य पदकमा चित्त बुझाए ।

यस्तै महिला एकलमा भारतकी माल्भिका बान्सोदले आफ्नै देशकी पूर्वा बार्वेमाथि २१–१२, २१–८ को जित निकाल्दै स्वर्ण हात पारिन् । माल्दिभ्सकी फथिमाथ नवाह र श्रीलंकाकी हसिनी अम्बालंगोड्गेले कांस्य प्राप्त गरे । हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको प्रतियोगिताको मिश्रित युगलतर्फ पनि विष्णुबर्दना गाउड र तनिशा क्रास्टोको जोडीले स्वर्ण जिते । गाउड र क्रास्टोको जोडीले श्रीलंकाका रन्थुस्का ससिन्दु र दिल्मी डायसको जोडीलाई २१–१०, २१ –१६ ले पाखा लगाए । नेपालका रसिला महर्जन र प्रफुल महर्जन तथा बंगलादेशका फारविन विन्ते इम्दाद हृदिता र सयद साकेर मोहम्मद सिवगतको जोडी तेस्रो स्थानमा रहे ।

महिला युगलमा पनि भारतले बाजी मा¥यो । भारतका पूर्बा बार्वे र तनिशा क्रास्टोका जोडीले माल्दिभ्सका जुम्ल्याहा दिदीबहिनी अमिनाथ नविहा र फाथिमाथ नवाहलाई २१–१४, २१ –१८ ले पराजित गर्दै स्वर्ण प्राप्त गरे । तेस्रो स्थानमा बंगलादेशका रश्मि अक्तर र उर्मी अक्तर तथा नेपालका जेसिका गुरुङ र सुनैना मुखियाको जोडी रहे ।

पुरुष एकलतर्फ पनि भारतले नै जित निकाल्यो । भारतका विष्णुबर्दन गौड पान्जला र ध्रुव रावतको जोडीले नेपालका नवीन श्रेष्ठ र प्रिन्स दाहालको जोडीलाई २१–१६, १७ –२१, २१–१७ ले पराजित गर्दै स्वर्ण भारतको पोल्टामा अर्को थपेका थिए । भारतले यसअघि मिश्रित युगलतर्फको स्वर्ण पदक पनि आफ्नो पोल्टामा पारेको थियो । यसका साथै भारतले ६ वटै स्वर्ण पदक आफ्नो देश लगेको छ ।

विजयी खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिना, विश्व ब्याडमिन्टन महासंघका कार्यकारी सदस्य तथा ब्याडमिन्टन एसिया विकास समितिका अध्यक्ष मुसा नासिद, नेपाल ब्याडमिन्टन संघका पूर्वअध्यक्ष रमेशकुमार श्रेष्ठ, ब्याडमिन्टन एसियाका विकास, व्यवस्थापक थानाबालान अरिकृष्णनलगायतले पुरस्कार वितरण गरेका थिए ।