- विकाश रौनियार, धादिङ
असारको झरीले भिजेको खेत पञ्चेबाजाको तालसँगै गुञ्जिएको गाउँ हिलोमा रमाइरहेका किसान एकअर्कालाई हिलो छ्याप्दै रमाइरहेका किसान र कर्मचारी । यो दृश्य कुनै पुरानो नेपाली चलचित्रको कथा होइन धादिङको सिद्धलेक गाउँपालिका-५ सुकौराबेसी र गजुरी गाउँपालिका-१ गलौदीमा असार १५ को अवसरमा देखिएको जीवित संस्कृति र सामूहिकताको उत्सव हो ।
कृषिमा आधुनिक प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेका बेला यहाँका स्थानीयले ट्र्याक्टरको गर्जनभन्दा हलगोरुको पाइला रोजे । उनीहरूको उद्देश्य केवल धान रोप्नु मात्र थिएन पुस्तौंदेखि गाउँको पहिचान बनेको रैथाने कृषि संस्कृति सामूहिक श्रम र सामाजिक एकताको पुनर्जागरण गर्नु पनि थियो ।
सिद्धलेक गाउँपालिका-५ वडा कार्यालय र बाग्बच्छला मन्दिर विकास तथा पर्यटन प्रवर्द्धन समितिको संयुक्त पहलमा बाग्बच्छला देवीको १० रोपनी गुठी जग्गामा सामूहिक रोपाइँ आयोजना गरियो। किसानहरू एउटै खेतमा भेला भए। कसैले हलो समाते, कसैले गोरु डोर्याए, कसैले धानका बिरुवा रोपे, त कसैले पञ्चेबाजाको तालमा असारे गीत गाउँदै वातावरणलाई जीवन्त बनाए ।
बाग्बच्छला मन्दिर विकास तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष बुद्ध गुरुङका अनुसार यो कार्यक्रम खेतीपातीभन्दा बढी संस्कृति संरक्षणको अभियान हो ।
‘हाम्रो मुख्य उद्देश्य लोप हुँदै गएको रैथाने संस्कार र संस्कृतिको जगेर्ना गर्नु हो’- बुद्ध गुरुङ भन्छन् । ‘बाँझो बस्ने अवस्थामा पुगेको मन्दिरको गुठी खेतलाई उपयोग गर्दै परम्परागत शैलीलाई पुनर्जीवित गर्ने प्रयास गरेका छौँ ।’
एक समय गाउँको परिचय नै हलो, जुवा र गोरु थियो। अहिले ती दृश्य दुर्लभ बन्दै गएका छन् । अधिकांश किसानले ट्र्याक्टर प्रयोग गर्न थालेका छन् भने कतिपय खेत बाँझै रहन थालेका छन् । यही परिवर्तनबीच सुकौराबेसीका स्थानीयले स्पष्ट सन्देश दिएका छन् प्रविधि आवश्यक छ, तर परम्परा बिर्सेर होइन ।
स्थानीय शिक्षक तथा किसान दिलबहादुर श्रेष्ठका अनुसार नयाँ पुस्ताले आफ्नै गाउँको कृषि संस्कृति र इतिहासबाट टाढिँदै गएको चिन्ता बढ्दो छ ।
‘आजका बालबालिकाले हलो, जुवा, ढिकी वा जाँतो देखेका पनि छैनन्’- उनी भन्छन् । ‘गोरु कसरी जोतिन्छ भन्ने कुरा उनीहरूका लागि किताबको विषय बन्दै गएको छ । त्यसैले व्यवहारमै सिकाउन हामीले गोरुकै प्रयोग गरेर सामूहिक रोपाइँ गरेका हौँ ।’
रोपाइँमा कुम्पुर, बच्छला, कम्राङ, एख्लाङ, चेपे र चेउवाङलगायत गाउँका किसानहरूको उत्साहजनक सहभागिता थियो । खेतमा धान रोप्ने कामसँगै असारे गीत, पञ्चेबाजा, हिलो खेल्ने परम्परा र सामूहिक भोजनले गाउँलाई पर्वमय बनायो । खेत केवल अन्न उत्पादन गर्ने थलोमा सीमित रहेन, सामाजिक सम्बन्ध बलियो बनाउने साझा चौतारीमा रूपान्तरण भयो ।
यता गजुरी गाउँपालिका-१ गलौँदीमा पनि जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम, कर्मचारी र स्थानीयवासीले सामूहिक रूपमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाए । हिलोमा उत्रिएका कर्मचारी र स्थानीयवासीको सहभागिताले कृषि उत्पादनसँगै श्रमको सम्मान, सामुदायिक सहकार्य र मौलिक संस्कृतिप्रतिको अपनत्वलाई थप उजागर गरेको देखिन्थ्यो ।
नेपाल सरकारले प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ । धादिङका यी दुई स्थानमा पनि यो दिवस औपचारिक कार्यक्रममा सीमित नभई कृषि, संस्कृति, सामुदायिक सहकार्य र स्थानीय पहिचानको उत्सवका रूपमा मनाइयो।
कृषि विकास कार्यालय धादिङका प्रमुख गोविन्द प्रसाद पोख्रेलका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर ११ हजार १५९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । उक्त क्षेत्रफलबाट करिब ४० हजार मेट्रिक टन धान उत्पादन भएको अनुमान गरिएको छ । यो तथ्यांकले धादिङको अर्थतन्त्र, खाद्य सुरक्षा र किसानको जीविकोपार्जनमा धान खेतीको महत्त्व अझै बलियो रहेको देखाउँछ ।
कृषिको आधुनिकीकरण आवश्यक भए पनि परम्परागत ज्ञान, स्थानीय अभ्यास र सामुदायिक संस्कृतिको संरक्षण उत्तिकै महत्त्वपूर्ण छ । जलवायु परिवर्तन, खेतीयोग्य जमिन घट्दै जानु र गाउँबाट युवाको पलायनजस्ता चुनौतीबीच यस्ता अभियानले कृषि मात्र होइन, सामाजिक एकता र सांस्कृतिक सम्पदालाई पनि जीवन्त राख्ने सन्देश दिएका छन् ।
सिद्धलेक र गजुरीमा देखिएको यो सामूहिक रोपाइँले एउटा सन्देश स्पष्ट पारेको छ हलोको आवाज केवल खेतीको आवाज होइन, त्यो गाउँको इतिहास, संस्कृति, सहकार्य र पहिचानको आवाज पनि हो । आधुनिकतासँगै मौलिकता जोगाउन सकियो भने मात्र गाउँको आत्मा जीवित रहनेछ ।
प्रतिक्रिया