– बुद्धिप्रसाद शर्मा
कास्मिरको मुद्दालाई लिएर लामो समयदेखिका चिरप्रतिद्वन्द्वी मुलुक भारत र पाकिस्तानबीच केही सातायता सीमाक्षेत्रमा तनाव बढेको छ । दोहोरो गोली हानाहानमा दुवैतर्फका गरी करिब २० जनाको मृत्यु भइसकेको छ भने हजारौँ विस्थापित हुन पुगेका छन् ।
सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएयता भारत र पाकिस्तानबीच कास्मिरको मुद्दालाई लिएर सन् १९४७, १९६५, १९७१ र १९९९ मा गरी चारपटक बृहत् स्तरका युद्धहरू भएका छन् । सीमाक्षेत्रमा दोहोरो गोली हानाहानका द्वन्द्वका घटनाको भने गणना गर्न सकिँदैन । भारत र पाकिस्तानबीच कास्मिर मुद्दा मात्र यति जटिल विषय हो जसको सहज समाधान निकाल्न दुवै देशका कुनै पनि सरकार सफल हुन सकेनन् । संयुक्त राष्ट्रसङ्घसमेत संलग्न भएको यो मुद्दाप्रति अमेरिका, चीन, रसिया र बेलायतको विशेष चासो र प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा देखाउने सक्रियताले थप जटिल बनाइदिएको छ ।
भारत र पाकिस्तानबीचका चार ठूला युद्धमा भारत बलशाली देखिए तापनि पाकिस्तानले इस्लामिक अतिवादी सङ्गठनहरूलाई प्रयोग गरेर आफ्नो देशमाथि प्रोक्सी युद्ध गरिरहेको आरोप भारतले लगाउँदै आएको छ । सन् १९४७ को पहिलो युद्धपश्चात् भएको सहमतिअनुसार दुवै देशलाई विभाजन गर्ने लाइन अफ कन्ट्रोल (एलओसी) कायम गरिएको थियो जसअनुसार कास्मिरको दक्षिण, मध्य र उत्तरपूर्व क्षेत्र भारततर्फ र उत्तर तथा पश्चिम क्षेत्र पाकिस्तानतर्फ रहेको थियो । तर, वैज्ञानिक ढङ्गबाट यकिन सीमाङ्कन हुन नसकेको, दुवै पक्षले आफूइतरका धेरै भूभागको दाबा गरिरहेको, लस्कर ए तोइवा, मुजाहिद्दिनजस्ता इस्लामिक विद्रोहीहरूको चलखेल, कास्मिरका स्वतन्त्रतावादीहरूको आन्दोलन र बाह्य शक्तिहरूको चलखेलका कारण भारत–पाकिस्तानबीच सदा प्रतिद्वन्द्विता एवम् तनाव रहँदै आएको छ ।
कास्मिर मुद्दाले सबैभन्दा जटिलतम अवस्था सन् १९८९ बाट अतिवादी इस्लामिक विद्राहीहरूको हिंसात्मक द्वन्द्व सुरु भएयता भएको मानिन्छ । यसअघि तनाव केवल दुई देशबीचमा मात्र सीमित थियो । भारतले पाकिस्तानमाथि उग्रवादीहरूलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले यसको खण्डन गर्दै आएको छ । सन् १९९९ को कार्गिल युद्धपछि केही शान्त देखिएको भारत र पाकिस्तान सम्बन्ध इस्लामिक विद्रोहीद्वारा सन् २००१ डिसेम्बर १३ तारिखका दिन भारतीय संसद्भवनअगाडि गराएको इस्लामिक हमलापश्चात् तनावग्रस्त बनेको थियो । भारतले उक्त घटनाका संलग्नहरूलाई पाकिस्तानले खुला संरक्षण दिएको आरोप लगाएको थियो । तत्पश्चात् सन् २००३ बाट २००८ को मुम्बई आतङ्को आक्रमणअगाडिसम्म यी दुई देशबीचको सम्बन्ध राजनीतिक, आर्थिक एवम् सांस्कृतिक हिसाबले इतिहासकै सुमधुर बनेको थियो । तर, मुम्बई बमकाण्डलाई लिएर दुई देशबीच आरोप–प्रत्यारोप एवम् तनाव सिर्जना हुन पुग्यो । त्यसयता सामान्य किसिमले अगाडि बढेको सम्बन्धलाई भारतको नरेन्द्र मोदी सरकारले छिमेकी देशहरूप्रति असल सम्बन्ध कायम गर्न गरेको थालनीकै केही समयपछि सुरु भएको भारत–पाकिस्तानबीच सीमाक्षेत्रमा तनाव विगत तीन हप्तादेखि जारी छ । पछिल्लो घटनामा दुवैतर्फका सैनिक एवम् गैरसैनिक गरी २० जनाको ज्यान गइसकेको छ भने करिब २० हजार विस्थापित भएका छन् । दुवै देशले घटनाका लागि एक–अर्कामाथि आरोप लगाइरहेका छन् ।
आणविक शक्तिसम्पन्न भारत र पाकिस्तानबीचको तनावले क्षेत्रीय शान्ति र स्थिरतामा खलल पु-याइरहेको छ । राजनीतिक ध्रुवीकरण, सामाजिक विचलन, धार्मिक सम्प्रदायिकता एवम् आतङ्कवादबाट पीडित दुवै देशले संवाद र सार्थक कूटनीतिक पहलबाट द्विपक्षीय समस्या समाधान गर्दै असल सम्बन्ध विकास गर्न सके यी दुवै मुलुक छोटो समयमै विश्व शक्तिराष्ट्र बन्न सक्ने दक्षिण एसियाका कूटनीतिज्ञहरू बताउँछन् । तर, यसका लागि आतङ्कवादीलाई संरक्षण दिने देशको रूपमा पाकिस्तानमाथि वैश्विक तहबाटै लाग्दै आएको आरोप भने सङ्लिन अत्यावश्यक देखिन्छ, जसका लागि पाकिस्तानले आफ्नो आन्तरिक तथा बाह्य नीति र व्यवहारमा महसुस हुने किसिमले ठोस परिवर्तन ल्याउनु जरुरी छ ।
प्रतिक्रिया