सन्तानका पीरहरू…

सन्तानका पीरहरू…


nisedhपूर्वयुवराज पारस गत हप्ता थाइल्यान्डको राजधानी बैंककमा लागूपदार्थसहित पक्राउ परेको समाचार र उनको दयालाग्दो तस्बिरले धेरैलाई दुःखी बनायो । विशेषगरी सन्तान हुने बाबुआमाले पारसको अनुहार र अवस्थामा आफ्ना छोराछोरीलाई राखेर हेरे र उनीहरू झस्किए । हरेक बाबुआमा आफ्ना सन्तान सुखी र खुसी हुन् भन्ने चाहन्छन् । सन्तानको सफलतामा आफ्नो उपलब्धि देख्ने बाबुआमालाई पूर्वयुवराजको त्यस्तो अवस्थाले दुःखी बनाउनु स्वाभाविक पनि हो । त्यसैले त उनको फोटो र समाचार प्रकाशित भएको दिन जताततै पारसकै चर्चा सुनियो । कतिपयको आवाजमा उफ ! भरिएको थियो भने कतिपयकोमा ‘हे भगवान्…’ भन्ने शब्द । कारण युवराजको दीनहीन अवस्थासँगै आफ्ना सन्तानप्रतिको चिन्ता थियो भन्न सकिन्छ । किनभने अब बैंककको के कुरा नेपालको पनि त्यस्तो कुनै कुनो रहेन जहाँ लागूपदार्थको कारोबार नभएको होस् । विभिन्न जिल्लाका सदरमुकाम तथा मुख्य सहरका चोकचोक, गल्लीगल्ली, राजधानीका छेंड, खोलाका किनार या पुलमुनिका कुनामा लागूपदार्थ दुव्र्यसनीहरू छ्यापछ्याप्ती भेटिन्छन् । सन्तानसँगसँगै सपनाहरू हुर्किन नपाउँदै मर्न सुरु गरेपछि तनावले धेरै बाबुआमाहरूको अकालमा ज्यान गएको छ । सन्तानका कारण मृत्यु समानको पीडा भोगेर बाँच्नेहरूको सङ्ख्या पनि धेरै छ । लागूपदार्थका दुव्र्यसनीलाई ठीक बनाउनका लागि भनेर खुलेका सेल्टरहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ, तर तिनले पनि आफ्नो व्यवसाय फस्टाउनेभन्दा अरू खासै गर्न सकेको देखिँदैन । त्यसो त, लागूपदार्थको सेवन नेपालको मात्र नभएर विश्वव्यापी समस्या हो, तर नेपालमा यसको प्रयोग जुन मात्रामा बढिरहेको छ यसका विरुद्ध अहिले नै सचेत नहुने हो भने यसले भविष्यमा निकै ठूलो दुर्भाग्य निम्त्याउने निश्चित छ । युवाहरू मुलुकका कर्णधार हुन्, तर जब तिनै युवा कुलतमा फस्छन् परिवारको मात्र नभएर मुलुककै भविष्य धराशायी बन्न पुग्छ, जुन कुराको हेक्का हामीले राखेका छैनौँ । कुलत करिबकरिब घरघरकी कहानीझैं भइसकेको कारणले अहिले पारसको अवस्थामा अभिभावकहरू झस्किएका हुन् । त्यसो त, कतिपय अवस्थामा हाम्रो समाज भनेको अर्काको पीडामा खुसी हुने ‘स्याडिस्ट’ पनि हो त्यसैले कतिलाई ठिक्क प-यो भन्ने पनि लाग्यो होला, तर सोसिएल मिडियामा केहीबाहेक सर्वसाधारणमा चाहिँ खुच्चिङ गर्नेभन्दा कठै… भन्नेको सङ्ख्या नै बढी देखियो ।
कसैबाट कठै या बिचरा भनिने दिन आउनु निश्चय नै राम्रो कुरा होइन, तर नेपालको राजपरिवारले पछिल्लो चरणमा देख्नुनपर्ने र भोग्नुनपर्ने धेरै कुरा देख्यो, भोग्यो । पद, प्रतिष्ठा या यस्तै प्रकारका अन्य तडकभडकभन्दा सन्तानको पीर या खुसी धेरै माथि हुन्छ । राजा वीरेन्द्रका सन्तान दीपेन्द्रले लागूऔषधकै आडमा आफ्नो परिवार समाप्त पारे, पारस आफूलाई समाप्त पार्नतर्फ अग्रसर छन । उनको परिवारको खुसी त उनको कारणले पटकपटक छिनेको थियो र छ नै, मुलककै नामसमेत बद्नाम बन्ने अवस्था बन्यो । कारण, लापरबाही र सङ्गत । जुन कुराबाट बचाउन अहिलेका युवालाई निकै गाह्रो छ । आफ्नो सन्तानले यस्तो गरोस् उस्तो गरोस् भन्ने अनेक सपना बुन्दै छोराछोरी हुर्काएका आमाबाबुले सन्तान बढ्दै जाँदा हे भगवान् मेरो बच्चाले अरू केही गर्नुपर्दैन कुलतमा नफसिदिए पुग्छ भनेर प्रार्थना गर्नुपर्ने अवस्था आउँछ । पूर्वयुवराजको सवालमा बाबुआमाको मात्र कुरा भएन, श्रीमती र छोराछोरी पनि सँगै जोडिएका छन् । छोरा कुलतमा फसेको भन्दा कैयन गुणा बढी पीडा बाबु कुलतमा फसेको कुराले हुँदो हो । यता श्रीमती हुनुको दुःख त युवराज्ञीले भोगेको धेरै भयो । एकादेशको राजकुमारको कथाको दीनहीन पात्रका रूपमा पारसले आफूलाई पु-याइदिँदा उनीसँग जोडिएका धेरैको जीवन कठिन र दुःखपूर्ण बन्न पुगेको छ । लागूऔषधले मानिसलाई खान थालेपछि त्यो सम्बन्धित व्यक्तिको नियन्त्रणभन्दा धेरै माथि हुने भएकाले त्यसको परिणामबारे सोचिदिएको भए अहिले यस्तो दिन देख्नुपर्ने थिएन । तर, कुनै पनि कुराको विकल्पै नहुने भन्ने होइन, सही उपचार र रेखदेख पाएमा हरेस खाइसकेका कति मानिसको जीवनले पुनर्ताजगी प्राप्त गरेका उदाहरण पनि विश्वमा धेरै छन् ।
राजाका सन्तान भएका कारणले आज पारस चर्चामा आए । तर, विश्वबजारमा लागूऔषध प्रयोगकर्ता गुमनाम नेपाली युवाको सङ्ख्या प्रसस्त छ । हङकङदेखि यूकेसम्म युरोपदेखि अमेरिकासम्म । तीमध्ये खानचाहिँ धेरैले आफ्नै देशमा सिकेका हुन्, बिरानो देशमा गएर होइन यहीँ बानी परेका हुन् । त्यसैले समस्या बाहिर गएर खानु, मुलुकको इज्जतको ख्याल नगर्नुभन्दा पनि आफ्नै मुलुकमा छ । हाम्रो देशमा जसरी लागूपदार्थको किनबेच भइरहेको छ त्यसलाई रोक्न प्रहरी मात्र नभएर सबै पक्षको सक्रियता आवश्यक छ । पारस घटनालाई एउटा ‘लेसन’को रूपमा लिँदै मुलुकलाई कसरी दुव्यर्सनमुक्त बनाउने भन्नेतर्फ कदम चाल्नु जरुरी छ । कुलतमा फसेको मानिसले आफैँले आफूलाई मारिरहेको हुन्छ । आफूले आफैँलाई माया र सम्मान गर्न नसक्ने मान्छेले परिवार या मुलुकलाई सम्मान गर्ला भनेर अपेक्षा गर्न सकिन्न । निश्चय नै पारस राष्ट्रवादी थिए, अहिले पनि उनको राष्ट्रभक्तिमाथि हामी प्रश्न उठाउन सक्दैनौँ, तर उनले आफँैलाई सम्मान गर्न सकेनन् । आफँैलाई माया र इज्जत गर्न सकेनन्, आफू आफ्नो ठाउँमा बस्न सकेनन् । उनले विवाह गरेका कारणले हिमानीको इज्जत र सम्मान छ । मानिसहरू पूर्वयुवराज्ञीका रूपमा हिमानीलाई अगाध स्नेह गर्छन् । उनी युवराज्ञी हुनुको एक मात्र कारण पूर्वयुवराज पारस नै हुन्, तर समयक्रमले पारसको भन्दा कैंयन गुणा सम्मान हिमानीले आर्जन गरेकी छिन् । किनभने उनले आफ्नो स्थानको सम्मान गरिन्, आफूलाई माया गरिन्, आफ्नो कर्तव्यबाट विचलित नभई छोराछोरीलाई अभिभावकत्व प्रदान गरिन् । आदर–सम्मान भन्ने कुरा अरूले गरिदिएर हुने होइन, यो त आफूले आर्जन गर्ने कुरा हो । मानिस हो, जीवनमा गल्तीहरू हुन्छन्, विगतमा गरेका गल्तीबाट पाठ सिक्दै वर्तमानमा फरक ढङ्गले बाँच्न सकियो भने भविष्यमा केही गर्न सकिन्छ पनि । विगतका गल्ती सम्झिएर सधैँ ग्लानिबोध गर्दै बाँच्नुपर्छ भन्ने जरुरी छैन । पूर्वयुवराजले चाहेमा अझै पनि आफू सच्चिने ठाउँ बाँकी नै नरहेको भने होइन । हरेक मान्छेको जिन्दगीमा विकल्पहरू सधैँ खुल्ला छन्, तिनको प्रयोग, सदुपयोग या दुरुपयोग कसरी गर्ने भन्ने मात्रै हो ।