‘धर्मनिरपेक्षता’बाट पछि नहटे काङ्ग्रेस बढारिने खतरा छ

‘धर्मनिरपेक्षता’बाट पछि नहटे काङ्ग्रेस बढारिने खतरा छ


antarbichar– खुमबहादुर खड्का
पञ्चायती शासनविरुद्ध लागेर लामो समयसम्म जेलजीवन बिताएका नेपाली काङ्ग्रेसका एक प्रभावशाली नेता हुन् खुमबहादुर खड्का । कुनैबेला सरकार र पार्टी दुवैमा निर्णायक भूमिकामा रहेका नेता खड्का यतिबेला पार्टी र सरकारका सन्दर्भमा गौण भूमिकामा भए पनि उनको प्रभाव पार्टीभित्र परोक्ष किसिमले अझै कम नरहेको विश्लेषण गरिन्छ । संविधान निर्माण प्रक्रियामा छाएको अन्योलबीच नेता खड्कालाई एका–एक एउटा विषयले विशेष चर्चामा ल्याएको छ । ०६२/६३ को परिवर्तनसँगै अन्तरिम संविधानमा लेखिएकोे ‘धर्मनिरपेक्षता’ देश र जनताप्रति घात हो, पराया स्वार्थका निम्ति लादिएको हो भन्दै नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने माग अघि सारेर नेता खड्कासहितका कतिपय काङ्ग्रेसजनले हिन्दूराष्ट्र बनाउने अभियान सुरु गरेका छन् । तर, कतिपयले चाहिँ यो अभियालाई धर्मको बाटोबाट राजनीतिमा पुनः पकड जमाउने खेलको रूपमा अथ्र्याउने जमर्को पनि गरेका छन् । यसै सन्दर्भमा नेता खड्कासँग घटना र विचारका लागि सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ :
० कुनै बेला काङ्ग्रेसभित्र गणतन्त्रवादी नेताका रूपमा चर्चामा रहनुभएका तपाईं अहिले हिन्दूराष्ट्रको पक्षमा वकालत गर्न थाल्नुभयो नि, किन ?
– मानिसले आरोप लगाएझैँ म गणतन्त्रवादी होइन र पार्टीमा पनि गणतन्त्रको वकालत कहिल्यै गरिनँ । हामीले लामो समयदेखि लडेर ल्याएको प्रजातन्त्रलाई खत्तम गर्न दरबारले सुरुदेखि नै चलखेल ग-यो । माओवादी जन्माउने काम पनि दरबारले नै गरेको भन्ने रिपोर्ट म गृहमन्त्री हुँदा नै प्राप्त भएको थियो । यसैका आधारमा मैले सचेत गराउने हेतुले आफ्नो पार्टीमा यसबारे कुरा राखेँ । मेरो यस खुलासाले पार्टीभित्रैका दरबारियाहरूलाई रन्थन्याएछ, उनीहरूले नै ‘खुमबहादुर त गणतन्त्रवादी भयो’ भन्ने हल्ला चलाए । यथार्थ यो हो । जहाँसम्म हिन्दूराष्ट्रको पक्षमा अभियान सुरु गरेको सन्दर्भ छ, नेपालको स्वाभिमान र अखण्डता जोगाउन मुलुक हिन्दूराष्ट्र नै रहनुपर्छ भन्ने निचोडका साथ हामीले यो अभियान सुरु गरेका हौँ ।
० नेपाली काङ्ग्रेसबाट विभिन्न अभियोग लागेर पाखा लगाइएकाहरूलाई साथ लिएर अभियान सञ्चालन गरेको आरोप तपाईंमाथि लागेको छ नि, के भन्नुहुन्छ ?
– यो अभियानमा लाग्नेहरू सबै मुलुकप्रतिको चिन्ताले स्वतःस्फूर्त रूपमा प्रतिबद्धता जनाउनेहरू नै छन् । काङ्ग्रेसबाट पाखा परेका भनेको को हो ? बरु सुरुमा त पाखा लागेको मान्छे म नै हँु । पाखा लागेको भनेको के हो ? एमपीको टिकट नपाएकालाई पाखा परेको भन्ने हो भने एमपीको सिट कतिवटा हुन्छ र ? हारेको व्यक्तिलाई पाखा लागेको भन्ने कि ? या, पार्टीका अन्य निकायहरूमा स्थान नपाएकालाई पाखा परेको ठान्ने ? त्यसैले यो आरोप नै निराधार, भ्रामक र पूर्वाग्रही छ । हामीले यो अभियान भर्खर सुरुवात गरेका छौँ । वास्तवमा भन्नुपर्दा अहिलेसम्म हामीले अभियानको ढाँचा पनि तयार पारेका छैनौँ । नागरिक समाजका तर्फबाट हरिबोलजीले बोलाउनुभयो र हामीले अन्तरक्रियात्मक कार्यक्रममा बोलेका हौँ । मलाई के विश्वास छ भने नेपाली काङ्ग्रेसआबद्ध मात्रै होइन, एमाले र माओवादी एवम् अन्य पार्टीका नेता–कार्यकर्ताहरूमा पनि नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भन्ने सोच उदाएको छ । खालि बिरालाको घाँटीमा कसले घन्टी बाँध्ने भन्ने मात्रै समस्या परेको हो, त्यसको सुरुवात मैले गरिदिएको हुँ । अब यसमा देशलाई माया गर्ने सबैले साथ दिनु आवश्यक छ ।
० धर्मलाई भ-याङ बनाएर राजनीतिमा पकड जमाउने प्रयत्न त होइन तपाईंको ? यस्तो आरोप लगाउनेलाई के जवाफ दिनुहुन्छ ?
– हेर्नुस्, मलाई अनावश्यक एजेन्डा समातेर राजनीतिमा पकड जमाउनु कुनै शोख र आवश्यकता पनि छैन । जतिबेला म राज्यसत्ताको शक्तिशाली स्थानमा थिएँ वा जतिबेला देशमा राजा थिए, त्यतिबेला मलाई ठूलो गणतन्त्रवादी भनेर हाम्रै साथीहरूले प्रचारप्रसार गरे, पत्रिकामा लेखाए, दरबारमा कुरा पु-याए । त्यसबेला केन्द्रीय समितिमै भएका एक साथीले टेपमार्फत नै मैले बोलेका कुराहरू दरबारमा पु-याउनुभएछ । पछि मैले त्यो कुरा थाहा पाएँ । त्यस समयमा मैले बोलेका यथार्थ कुरा हुबहु एउटा साप्ताहिक पत्रिकामा पनि प्रकाशित भएको थियो । तर, अहिले मलाई हिन्दूधर्मको आडमा राजासँग मिल्न खोजेको आरोप लगाउने कुचेष्टा गर्न खोजिएछ । एउटा कुरा के स्पष्ट हुनुहोस् भने म न त कहिल्यै धर्मनिरपेक्षताको पक्षमा लागेँ न त कहिल्यै लाग्नेछु । धर्मनिरपेक्षताको विषयमा हाम्रो मुलुकको कुनै पनि निकायमा छलफल भएको होइन । छलफलबिना नै यो कुरालाई संविधानसभाले पास ग-यो । यसमा मलगायत केही साथीहरूले विरोध ग-यौँ र पुनः नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भन्ने माग गरिरहेका छौँ । धर्मनिरपेक्षता त केही सीमित व्यक्तिहरूको चाहनामा थोपरिएको मात्रै हो । तिनै व्यक्तिका दुरासयपूर्ण कमी–कमजोरीका कारणले जनता त्यसैमा लादिन बाध्य भएका हुन् । अहिले देश संविधान बन्ने अवस्थामा छ र अहिले नै हामीले यसमा दबाब दिएनौँ भने पछि यसको औचित्य रहँदैन । त्यसैले समयमा नै नेपाली काङ्ग्रेसका साथीहरू, संविधानसभाका सदस्यहरू र अरू पार्टीका नेताहरूलाई पनि घच्घच्याउनु प-यो भनेर हामीले यो विषय उठाएका हौँ ।
० सीमित व्यक्तिहरू भनेको को–को हुन् बताउन मिल्ला ?
– म कुनै व्यक्तिको नामै किटेर अहिले भन्दिनँ । त्यस समयमा सत्ताको वागडोर आफ्नो हातमा सम्हालेर बस्नेहरूले बाह्यशक्तिको प्रभावमा यस्तो व्यवस्था लादेका हुन्, जसले गर्दा विश्वमा एउटा मात्रै हिन्दूराष्ट्रको रूपमा रहेको पहिचान मेटियो । नेपालमा रहेका ९४ प्रतिशत ॐकार परिवारभित्रका सनातन धर्मावलम्बीहरू जो प्रकृतिपुजक छन्, उनीहरूको पहिचानका लागि हामी लड्दै छौँ यस अभियानमार्फत ।
० कुनै बेला शासन र पार्टीमा समेत शक्तिशाली रहेको तपाईं अहिले पार्टीबाटै पाखा लगाइँदा कस्तो महसुस भएको छ ?
– वास्तवमा भन्नुपर्दा मलाई आफ्नै पार्टी नेपाली काङ्ग्रेसले नै हेला गरिरहेको महसुस गरेको छु । मैले शक्तिमा हुँदा पार्टीको निम्ति साङ्गठनिकदेखि अन्य जे–जस्ता काम गरेर देखाएँ, आज त्यसैको बलमा हाम्रा नेताहरू घाँटी नै दुख्ने गरी चिच्याउन पाइरहेका छन् । यदि एमालेलाई मैले नफुटाएको भए ०५६ सालको निर्वाचनको परिणाममा काङ्ग्रेस कहाँ हुन्थ्यो ? अहिले काङ्ग्रेस सत्तामा छ, अबको निर्वाचनमा यो पार्टीको हालत कहाँ पुग्छ भन्ने कुरा त समयले छिट्टै बताउनेछ । पार्टीमा केही गरौँ भन्ने र पार्टीलाई यहाँसम्म पु-याउन दिलोज्यान दिने हामीहरूजस्तालाई जिम्मेवारी नै दिइएन । काङ्ग्रेसले बीपीको सिद्धान्तमा हिँड्ने मान्छेलाई विस्तारै–विस्तारै पन्छाउँदै जान थाल्यो । अहिले बीपीको लाइनमा हिँड्ने मान्छे को छ नेपाली काङ्ग्रेसमा ? बीपीको नाम लिएर मात्रै हुन्छ ? अहिले त बीपीका भाइछोराले नै बीपीलाई बिर्सिएका छन् । बीपीका भाइछोराले बीपीको फोटो राख्ने, गणेशमानका भाइछोराले गणेशमानको फोटो राख्ने अनि विचारचाहिँ उल्टो लिएर हुन्छ ? त्यसैले म त आफ्नो बुतामा राष्ट्रका लागि काम गरिरहेकै छु, तर हामीजस्ता मान्छेलाई पाखा लगाएर काङ्ग्रेस बन्छ भन्ने केही नेताहरूले जो दिवास्वप्न देख्नुभएको छ, वास्तवमा उहाँहरूले काङ्ग्रेसलाई पतनको बाटोमा लग्दै हुनुहुन्छ ।
० नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियानमा नेपाली काङ्ग्रेसका कति नेता–कार्यकर्ताले साथ देलान् ?
– पदमा बसेका व्यक्तिबारे अहिले यसै भन्न नसकिएला, होइन भने महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरू वा हाम्रो पार्टीका सक्रिय सदस्यहरूको बहुमत हामीसँग हुन्छ भन्ने विश्वास छ ।
० नेपाललाई हिन्दूराष्ट्र बनाएर देखाउन सार्वजनिक रूपमा चेतावनी पनि दिने गरिएको छ, उनीहरूलाई के जवाफ दिनुहुन्छ नि ?
– एउटा नेपाली उखान छ नि भुक्ने कुकुरले टोक्दैन भन्ने ! ती ठूलाठूला स्वर गरेर भुक्नेहरू कति हैसियतका छन् भन्ने राम्रोसँग बुझिएको छ । ठूला कुरा गर्नेहरू साँच्चै आफू जे हँु भन्छन् त्यो हो कि होइन ? आफैँ विचार बोकेका मानिस हुन् कि कतैबाट सञ्चालित छन् ? जनताले यिनीहरूलाई चिनिसकेका छन् । जनताको घरदैलोमा जान सक्ने त के, अनुहार देखाउन सक्ने अवस्थामा पनि यिनीहरू छैनन् । यिनीहरू जहाँबाट सञ्चालित छन् तिनीहरूले हराए भने बेग्लै कुरा, होइन भने यिनका स्वविवेकले यिनीहरूले केही गर्न सक्नेवाला छैनन् । त्यसैले यो कुरामा तर्सिने र डराउने प्रश्नै छैन ।
० जनताको पक्षमा वकालत गर्दै हिँड्ने नेपाली काङ्ग्रेसले जनताले चाहँदैनचाहेको धर्मनिरपेक्षता किन अँगाल्यो होला त ?
– त्यही कुरा गल्ती भयो । तैपनि नेपाली काङ्गे्रसले आजसम्म कहाँ पास गरेको छ र ? संविधानसभाबाट पास भएको हो । तर, यदि काङ्ग्रेसले चाहेको भए त्यसलाई रोक्न सक्ने थियो, रोक्नुपथ्र्यो, रोकेन । यही गल्ती ग-यो । तथापि, कुनै काम गर्दा गल्ती हुनसक्छ, त्यसलाई सच्याउन पनि सकिन्छ । यदि गल्ती नसच्याएर धर्मनिरपेक्षताको खोक्रो नारा बोकेर काङ्ग्रेस हिँड्छ भने ठीकै छ, तत्काल हामी हारौँला, तर मलाई विश्वास छ हामीले जित्नेछौँ । पार्टीले यो मुद्दालाई गम्भीर रूपमा नलिए चुनावमा जनताले परिणाम दिनेछन् । सबैभन्दा ठूलो कुरा जनता हो । जनतामा गएर हिन्दूराज्य कि धर्मनिरपेक्ष भनौँ, उनीहरूले जे भन्छन् त्यही मानौँ । जनता नै सर्वोपरी भनेर डुक्रने दलका नेताहरू जनतामा जान किन डराएको ? के अहिलेका नेताहरू जनताभन्दा माथि हुन् ? सुशील कोइराला, केपी ओली र प्रचण्ड माथि हुन् ? जनता धर्मनिरपेक्षता नै चाहन्छन् भन्ने लाग्छ भने समय त बाँकी नै छ, जनतामा जाऔँ । मलाई लाग्छ, एक महिनामा सबै काम सकिन्छ । जनताले दिएको म्यान्डेटजस्तो आए पनि हामी स्वीकार गर्नेछौँ र त्यो म्यान्डेट धर्मनिरपेक्षवादीहरूले पनि स्वीकार गर्नुपर्छ । हिजो बन्दुकको भरमा प्रचण्डले उठाएको कुरा काङ्ग्रेसले मान्दै आयो । अब पनि त्यस्तै कुरा मान्दै गयो भने पातालको बाटोमा गिर्छ काङ्ग्रेस ।
० पार्टीले तपाईंलाई पार्टी छोड्छौ कि हिन्दूराष्ट्रको अभियान भन्ने विकल्प दियो भने कुन विकल्प रोज्नुहुन्छ ?
– मलाई त्यो विकल्प दिने कसले ? मैले त भनेको छु पार्टीको आधिकारिक धारणा बनाउन महाधिवेशन बोलाऔँ । यदि महाधिवेशन सम्भव छैन भने महासमिति बोलाऔँ । पार्टीमा त्यसै जबर्जस्ती गर्न पाइन्छ ? त्यस्तो अवस्थामा म पार्टीको निर्णय मान्न तयार छु । दुई दिनका लागि बोलाऔँ, एक दिन छलफल गरौँ, एक दिन भोटिङ गरौँ । महासमितिबाट जे निर्णय आउँछ, मान्न तयार हुनुपर्छ । यसो गर्ने हिम्मत छ त नेतृत्वसँग ?
० यसरी दबाब दिँदादिँदै पनि अटेर गरेर संविधानमा ‘धर्मनिरपेक्षता’ नै कायम गरियो भने त्यसपछि तपाईंहरू के गर्नुहुन्छ ?
– पहिलो कुरा त माघ ८ मा संविधान ल्याउने कुरा नै निश्चिित छैन । संविधान आउने–नआउने कुरा प्रचण्डमा भरपर्ने कुरा हो । यदि प्रचण्ड सच्चा कम्युनिस्ट हुन् भने माघ ८ मा संविधान आउनेवाला छैन । होइन र उनी विदेशीको इशारामा चल्ने पिछलग्गु हुन् भने संविधान आउँछ । किनभने विदेशीले जे भन्छन् त्यसैमा हस्ताक्षर गर्नेवाला छन् यतिबेलाका शीर्ष भनिएका नेताहरूले । यदि प्रचण्डले कम्युनिस्टपन त्यागेर संसदीय व्यवस्था स्वीकार गरे भने उनका सारा कार्यकर्ता उनलाई छाडेर नेकपा माओवादीतिर जान्छन् । किनभने जतिसुकै फरक विचार बोके पनि वास्तविक कम्युनिस्ट भनेको नेपालमा नेकपा माओवादी नै हो । एउटा बुझ्नैपर्ने कुरा के पनि छ भने जुनसुकै पार्टीका कार्यकर्ताहरू इमानदार हुन्छन् । नेपालका सबै नभनौँ तर धेरैजसो नेताहरू बेइमान छन् । अहिलेसम्म त कार्यकर्तालाई झुक्याएका थिए, तर अब कोही झुक्किनेवाला छैनन् । अन्धभक्त कार्यकर्ता अहिले जुनसुकै पार्टीमा पनि एकदमै कम छन् । त्यसैले प्रचण्ड संसदीय व्यवस्थामा आउने कुरामा मलाई विश्वास छैन । यदि आए भने तिनी कम्युनिस्ट होइनन्, तिनलाई सोसल डेमोक्र्याट (सामाजिक लोकतन्त्रवादी) भने हुन्छ । यसरी संविधान नै नबनेपछि धर्मनिरपेक्ष कसरी लेख्ने ? अनि, संविधान बन्यो र ‘धर्मनिरपेक्षता’ हटाइएन भनेचाहिँ यसको हिसाबकिताब चुनावमा जनताले गर्नेछन् ।
० आखिर हिन्दूधर्मलाई राज्यले अरू धर्मलाई भन्दा बढी महत्र्व त दिएकै छ, अनि किन यसरी लफडा गर्नुप-यो ?
– यो त बुझेर पनि बुझपचाएको कुरा भयो । यहाँ हिन्दूहरू धेरै छन्, के बिग्रिएको छ र भन्नु त नबुझेका मानिसलाई भन्ने कुरा मात्रै हो । अमेरिका हेर्नुहोस्, हामीले भगवान् भनेर पुजेको चन्द्रमा र मंगल ग्रहतिर ऊ पुगिसक्यो । तर त्यहाँको जुनसुकै राष्ट्रपतिले बाइबलमा हात राखेर यो राष्ट्रको सेवा गर्छु भनेर शपथ खाएको हुन्छ । त्यो के हो ? धर्मप्रतिको विश्वास हो कि होइन ? बेलायतको हालत त्यस्तै छ, क्रिश्चियन धर्म नमान्ने हो भने त्यहाँको महारानी महारानी बन्न नै सक्दिनन् । एउटा यस्तो देश देखाउनुस् विश्वमा जहाँ एउटा मात्रै धर्म होस्, छ कतै ? मुस्लिम बढी भएको देश मुस्लिम राष्ट्र र क्रिश्चियन भएकोमा क्रिश्चियन राष्ट्र हुने, तर नेपाल एउटा मात्रै हिन्दूराष्ट्रको पहिचान बोकेको हिन्दूहरूको बाहुल्य रहेको देशमा धर्मनिरपेक्षता बनाउनु भनेको कि त विदेशीको दबाबमा पर्नु हो कि त नबुझेर गर्नुभो । होइन भने हामीले जे गरे पनि जनताले मान्नेछन्, हामी सबैभन्दा ठूला हौँ भन्ने मानसिकताले गर्नुभो । अन्यथा नेपालको एउटा गौरव गर्न सकिने कुरालाई किन बलात् हटाइन्छ ? हामीले भनेको हिन्दूराष्ट्र भनेको मुसलमानले मस्जिद बनाउन नपाउने, क्रिश्चियनले चर्च बनाउन नपाउने र बौद्ध धर्मावलम्बीहरूले गुम्बा बनाउन नपाउने भन्ने होइन । पैसा दिएर जबर्जस्ती अहिलेको झैँ धर्म परिवर्तन गराउन पाइँदैन भन्ने मात्रै हो । त्यसैले, जनताको रोजाइअनुसार काम गर्नुपर्छ, कुनै एक–दुई नेताको स्वार्थसिद्धिका लागि तिनले भनेको मान्नुपर्छ भन्ने हिसाबले त यो कुरा त्यसै टुङ्गिनेवाला छैन ।
० तपाईं आफूलाई बीपीको अनुयायी भन्नुहुन्छ, बीपीले त कहिल्यै पनि सनातन हिन्दूराष्ट्रको पक्षमा वकालत गर्नुभएन नि होइन ?
– बीपीले एक लेखोटमा स्पष्टसँग भन्नुभएको छ कि म धर्मविरोधी पटक्कै होइन, तर मैले कहिल्यै पनि धर्मको अभ्यास गरिनँ । मन्दिरमा गएर शंखघन्ट बजाउँदैमा धर्म हुने हो र ? धर्म भनेको त विश्वास हो, अनुभव हो । जस्तो कि अप्ठ्यारो परेको बेलामा जतिसुकै नास्तिकले पनि हे भगवान् भनेर सम्झने गर्दछन् । जस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनभर कहिलै पनि भगवान् पुजेनन्, तर मर्नेबेलामा उनले भनेका थिए, ‘आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान भो न विवेक’ । हो भगवान् भनेको त्यही हो । कुनै पनि धर्मले नराम्रो काम गर भनेर भनेको हँुदैन न त हिन्दूको न त मुस्लिमको, सबै धर्मले भन्ने भनेको राम्रो काम गर सेवा गर हिंसा नगर, यस्तै हो । तर, हिन्दूधर्म सनातन धर्म भएकाले लामो समयदेखि चल्दै आउँदा यो धर्मकर्मकाण्डतिर गयो र सेवा–सहयोगभन्दा पनि शंखघन्ट बजाउनतर्फ सबै केन्द्रित हुन थाले, अनि यो विकृत बन्यो । बीपीले पनि यही विकृत रूपलाई नअङ्गालेका हुन्, तर, उनी धर्मविरोधी होइनन् ।
० छुट्टै सेना पनि बनाउँदै हुनुहुन्छ भन्ने सुनिन्छ, त्यो केका लागि ?
– यो गलत कुरा हो । मैले सेना बनाउन खोजेको छैन, हाम्रो आन्दोलन भयो भने एकदमै शान्तिपूर्ण हुन्छ । हाम्रो आन्दोलनमा कुनै पनि सेना र हतियार हुँदैन । विश्वमा देखिएको छ कि हतियारको राजनीतिले मुलुक कता पुग्छ भन्ने कुरा । हामी मुलुकलाई फेरि हिंसाको बाटोमा धकेल्न चाहँदैनौँ । त्यसैले हतियारको कुरा हामी सबैले मनबाटै निकाल्नुपर्छ । तर, अपरिहार्य अभियानका खातिर शान्तिपूर्ण आन्दोलन भने हुन सक्छ ।
० सन्दर्भ बदलौँ, अहिले सबैको मुखमा माघ ८ को शब्द झुन्डिएको पाइन्छ, माघ ८ भित्र संविधान बन्नेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?
– मैले त अघि नै भनिसकें– माघ ८ मा संविधान बन्छ भन्नेमा मलाई त ९९ प्रतिशत विश्वास छैन । एक प्रतिशत विश्वास छ, त्यो एक प्रतिशत भनेको के हो भने प्रचण्डको एजेन्डामा काङ्गे्रस–एमालेले हस्ताक्षर गर्ने । हो, त्यसो गरेमा संविधान बन्ला होइन भने बन्दैन ।
० जनताले संविधान देऊ भनेर विश्वास गरेर पठाएको नेपाली काङ्ग्रेसले पनि संविधान दिन सकेन भने आगामी चुनावमा काङ्ग्रेसको स्थान कहाँ होला त ?
– काङ्ग्रेसले आगामी चुनावमा एकदमै ठूलो हार व्यहोर्नुपर्छ । अझ अहिलेकै सरकार रहिरह्यो भने त अहिलेको एमाओवादीको भन्दा पनि खराब स्थान काङ्ग्रेसको हुन्छ । त्यसैले त मैले नेपाली काङ्ग्रेसले जनताको एजेन्डालाई प्राथमिकतामा राख्नुपर्छ भन्दै आएको छु ।