कर्मचारीको कमिशन र नीतिगत भ्रष्ट्राचारले निर्माण ब्यवसायीको बदनाम

कर्मचारीको कमिशन र नीतिगत भ्रष्ट्राचारले निर्माण ब्यवसायीको बदनाम


नीतिगत कमजोरीको फाइदा उठाउँदै निर्माण क्षेत्रमा सरकारी कर्मचारी तथा व्यवसायीबाट आर्थिक चलखेल हुदै आएको देखिन्छ । जसका कारण भ्रष्टाचार मौलाउँदै गएको निर्माण व्यवसायीहरुले नै स्वीकार गरेका छन् । कर्मचारीले कमिशन बीना काम नगर्ने र व्यवसायीले कामका लागि कमिशन छुट्याउने प्रवृतिले गर्दा निर्माण क्षेत्र सबैभन्दा ठुलो भ्रस्टाचारको अखडा बनेको व्यवसायीहरु नै स्वीकार गर्छन् ।

देशको विकासका लागि निर्माण क्षेत्र सबै भन्दा आवस्यक क्षेत्र हो । सरकारले ठुला ठुला आयोजना निर्माण गर्न लागेको छ । यस्ता आयोजना निर्माणका लागि निर्माण व्यवसायीको ठुलो भुमिका हुन्छ । उचित लगानीमा गुणस्तरीय काम सम्पन्न गर्नु अहिलेको चुनौती हो । तर यो क्षेत्रमा अन्य विषय भन्दा पनि कर्मचारीलाई छुट्याउनु पर्ने कमिशनले काम गर्न गाह्रो हुने निर्माण व्यवसायीहरुको भनाइ छ ।

व्यवसायीहरुले ठुला व्यवसायीको कब्जामा कर्मचारी रहेकाले साना निर्माण व्यवसायीले काम नपाउने गुनासो समेत गरेका छन् । ठुला निर्माण व्यवसायीको प्रभावमा मन्त्री, नेता र कर्मचारी परेकाले सुरु भइसकेको काममा पनि कमिशन नबुझाइ भुक्तानी पाउन कठिन हुने गरेको गुनासो गरेका छन् ।

व्यवसायीले सार्वजनिक खरिद ऐन निर्माण क्षेत्रका लागि वाधक भएको भन्दै सरकारलाई ऐन परिमार्जन गर्न समेत आग्रह गरेका छन् ।

सरकारले सार्वजनिक खरिद ऐन परिमार्जन नगरेमा निर्माण व्यवसायीले कुनैपनि काम समयमा सम्पन्न गर्न नसक्ने दावी गरेका छन् । त्यस्तै पछिल्लो समय निर्माण सामाग्रीमा भएको मूल्य बृद्धिका कारण पनि निर्माणका कामहरु समयमा सम्पन्न हुन सकेका छैनन् ।

सरकारले पटक पटक काम नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिदै आएको थियो । तर ठुला व्यवसायीको प्रभावमा परेकाले पछिल्लो समय ति विषयहरु सेलाउँदै गएको व्यवसायीको आरोप छ ।