सिनेमा केका लागि निर्माण गर्ने– मनोरञ्जन, शिक्षा, सन्देश दिन या विशुद्ध मनोरञ्जनका लागि ? सिनेमामेकरहरू पहिला यसमा स्पष्ट हुन सक्नुपर्छ, अनि मात्र सिनेमा निर्माणले वास्तविक गति लिन सक्छ । सिनेमाले आफ्नो गन्तव्य र उद्देश्य पहिल्याउन सकेन भने सिनेमा हेर्ने दर्शक पनि अल्मलिन पुग्छन् र सम्बन्धित सिनेमाबारे उनीहरूले भेउ नै पाउन सक्दैनन् ।
त्यसो त ‘टलकजंग भर्सेज टुल्के’ सिनेमाको यतिबेला चर्चा छ, तथापि, सिनेमा निर्माणको उद्देश्यमा स्पष्ट हुन नसक्दा र दर्शकलाई सिनेमामार्फत स्पष्ट कुरा राख्नबाट चुक्दा यतिबेला प्रदर्शनमा आएको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ हेर्दा दर्शकहरू अल्मलिएका छन् । एकथोक सोचेर चलचित्र हेर्न पुगेका दर्शक हलबाट बाहिरिँदा अर्कै सोचेर बाहिरन बाध्य बनेका छन् । त्यसमाथि ‘सुपरहिट चलचित्र लुटका निर्देशकद्वारा निर्देशत चलचित्र’ भनेर टुल्केको प्रचारप्रसार गरिनु नै गलत थियो । निर्देशक निश्चल बस्नेतको नाम बेचेर चलचित्र चलाउन खोज्दा दर्शकहरू ‘लुट’भन्दा माथिको चलचित्र सोचेर हलतिर टुल्के हेर्न पुगे, तर त्यस्तो नपाएपछि उनीहरू निराश हुन पुगेका छन् । व्यावसायिक रूपमा सुरुका दुई दिन टुल्केले रामै्र व्यापार गरेको हो, तर त्यसपछिका दिनमा भने टुल्केको व्यापार चित्तबुझ्दो नरहेको बुझिन्छ । यसरी लुटका निर्देशक निश्चल बस्नेतको नामले सुरुमा हलतिर दर्शकहरू त तान्यो, तर त्यसपछि दर्शकहरूको सिनेमाप्रति मौखिक प्रतिक्रिया सकारात्मक नआएपछि यो चलचित्र हेर्ने दर्शकहरूको सङ्ख्यामा कमी आउन थालेको छ ।
चलचित्र टुल्के हेर्दा पहिलो हाफ निकै रमाइलो, मनोरञ्जनात्मक र ठट्यौलीपूर्ण लाग्छ । पहिलो हाफले दर्शकलाई हलमा बाँध्न पनि सकेको छ । तर, दोस्रो हाफमा भने यो चलचित्रको कथा, विषय र प्रस्तुति नै अल्मलिन पुगेको छ । जब चलचित्रमा क्रान्ति र क्रान्तिकारी अनि युद्धका कुरा वा प्रसङ्ग जोडिन पुग्छन्, तब दर्शक दिक्क मान्न थाल्छन् । हलमा मनोरञ्जन लिन पुगेका दर्शकको अगाडि बन्दुक, गोली र हत्या–हिंसाका दृश्य आउन थाल्छन् तब दर्शक निराश हुन थाल्छन् । त्यस्ता विषय समेटिएका चलचित्रमा धेरै नै भइसकेको सन्दर्भमा टुल्केमा पनि मूल त्यही विषय छ भने किन यो चलचित्र हेरेर समय र पैसाको बर्बादी गर्ने ? यही सोच्न बाध्य हुन्छन् दर्शकहरू । त्यसमाथि अभिनेत्री ऋचा शर्मालाई क्रान्तिकारी युवतीको रूपमा पछिल्लो भागमा प्रस्तुत गर्नुले उनले यसअघि चलचित्र ‘उमा’मा निभाएको भूमिकाको झझल्को दिन्छ ।
गाउँबाट लखेटिएर सहर पुगेका टुल्के र सहरका दयाहाङ राईसँगको भेट साँच्चि नै चलचित्रको बलियो पक्ष हो । फेरि सहरबाट टुल्के गाउँमा फर्कंदा साथमा रहेको पाँच लाखले उसको जीवनशैलीमा आएको परिवर्तनले दर्शकहरूलाई भरपूर मनोरञ्जन दिएको छ । चलचित्रको कथामा क्रान्तिकारी परिवेशलाई प्रवेश गराउनुको साटो सुरुमा टुल्केले बोकेको गाउँले परिवेशवरिपरि नै यो चलचित्र सकाइदिएको भए चलचित्र बढी सान्दर्भिक र मार्मिक बन्न सक्थ्यो । नेपाली चलचित्रका विगतका इतिहास हेर्ने हो भने पनि राजनीतिक विषय र यस्ता पक्षबारे तयार पारिएका चलचित्रले न त सफलता हात पारेका छन् न त यस्ता चलचित्रलाई दर्शकले मन पराएका नै छन् । टुल्के पनि यही मारमा पर्ने देखिन्छ ।
यो चलचित्रको मूल पात्र टुल्के उर्फ खगेन्द्र लामिछानेले गजबको अभिनय गरेका छन् । उनी एक्लैले चलचित्र बोकेकाले उनी सफल छन् । टुल्केको शीर्ष भूमिकामा देखापरेका खगेन्द्र लामिछानेको नेपाली चलचित्रको अभिनय क्षेत्रमा भविष्य उज्ज्वल देखिन्छ ।
समग्रमा टलकजंग भर्सेस टुल्के हेर्नै नसकिने चलचित्र भने होइन, तर पनि लुटका निर्देशकद्वारा निर्देशित चलचित्र भनेर जसरी प्रचारप्रसार गरिएको थियो त्यसअनुरूप चलचित्र नहुँदा पनि दर्शकहरू निराश हुनु स्वाभाविक हो । अर्को कुरा हरेक खालका दर्शकलाई सिनेमा हलहरूमा तान्न गीत–सङ्गीतको पनि महत्वपूर्ण हात रहन्छ, यो कुरामा चलचित्र टुल्के चुकेको छ । चलचित्रमा समाविष्ट गरिएको एउटा आइटम गीत पनि कताबाट फुत्त आउँछ पत्तै हुँदैन । चलचित्रमा आइटम गीत राख्नुपर्छ एउटा भन्ने पुराना शैलीलाई टुल्केले भुल्न सकेको छैन । तर, यो गीत नराख्दा पनि टुल्केमा फरक पर्दैनथ्यो ।
जम्दै छन् आचार्य दाजुभाइ
सर्जकमा धैर्यता, अनुशासन र क्षमता हुनुपर्छ । ढिलै भए पनि यी कुरा भएमा सर्जकले सफलता हात पार्न सक्छ । यसको गतिलो उदाहरण हुन् सर्जक दाजुभाइद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्य ।
नेपाली गीत/सङ्गीत क्षेत्रमा राम्रो स्थान ओगट्न सफल भएका सत्य–स्वरूपको चर्चा र वाहवाही यतिबेला नेपाली जहाँ छन् त्यहाँ–त्यहाँ हुने गरेको छ । देशदेखि विदेशसम्म राम्रो उपस्थिति जनाइरहेका सत्य–स्वरूप चलचित्रदेखि आधुनिक र राष्ट्रिय गरेर हरेक प्रकृतिमा गीत गाउन माहिर पनि मानिन्छन् । केही समयअघि मात्र युरोपको भ्रमणबाट फर्किएका यी दाजुभाइले गत साता हङकङमा सम्पन्न सातौँ नेफ्टा फिल्म अवार्डमा पनि हङकङवासीलाई गजबको मनोरञ्जन प्रदान गरे । यी दुईले कार्यक्रममा गाएको राष्ट्रिय गीतले माहोल नै तताएको थियो । सत्यराज भन्छन्– गीत/सङ्गीतको बजार दह्रो बनाउने भन्ने हामीमा नै भरपर्छ । हामीले पनि गीत गाउँदा गीतको शब्द वा मर्मलाई ध्यान दिनुपर्छ । श्रोता ठग्ने वा गीतको मर्म मर्ने गीत गाउनुहुन्न ।’
विदेशमा कार्यक्रम प्रस्तुत गर्न जाँदा श्रोताहरूले विशेष गरेर राष्ट्रिय गीत सुगम गीतहरू मन पराउने गरेको कुरा स्वरूपले बताए, ‘विगतका दिनमा नेपाली गीत/सङ्गीतहरूले विदेशमा पनि राम्रो बजार पाइरहेका छन् ।’
रेखा अब टेम्पो ड्राइभर
विराटनगरकी रेखा उता छँदा साइकल चलाउँथिन् । साइकल चलाउँदै रेखा मोडलिङ हुँदै चलचित्रकी नायिका भएपछि गाडी चलाउन थालिन् । चलचित्रकी अभिनेत्री र निर्मात्री हुँदै यतिबेला सिनेमाकी निर्देशक बनेकी रेखा थापा अब टेम्पो ड्राइभर बन्ने भएकी छिन् । चलचित्र रामप्यारीका लागि उनी टेम्पो ड्राइभरको भूमिकामा उभिन लागेकी हुन् । यो सिनेमालाई उनी आफैँले निर्माण र निर्देशन गर्न लागेकी हुन् । ‘विविध पक्ष, क्षेत्र र विषयलाई चलचित्रको रूपमा अगाडि सार्ने उद्देश्यले चलचित्र रामप्यारी बनाउन लागेकी हुँ,’ रेखाले भनिन् ।
रेखाको रामप्यारीलाई शिवम् अधिकारीले लेखिरहेका छन् । उनका अनुसार टेम्पो ड्राइभर महिलाको कथाव्यथा र सङ्घर्षलाई यो चलचित्रमा समेट्न खोजिएको छ । यो चलचित्र सङ्घर्षशील नारीको कथा हुने ‘रामप्यारी’ रेखाले जानकारी दिइन् ।
प्रतिक्रिया