बिचरा आईजी साहेवहरू !-बसन्तराज कुँवर

बिचरा आईजी साहेवहरू !-बसन्तराज कुँवर


आईजी चन्दको कार्यभर आईजी शाहलाई दिइएकोमा कसैलाई अचम्म लागेको छैन, किनकि सरकारका जागिरेहरूमध्ये प्रहरीका आईजीपी सबैभन्दा असुरक्षित जागिर भएको छ । अरू गृहमन्त्रीले झैं हालका गृहमन्त्रीले पनि आईजी हटाउने अनुभव बटुल्न पाउनुभयो । अहिले आईजीपीहरू पनि बीचैमा हट्न तयार देखिन्छन् । यो मानसिकता एकै दिनमा आएको पनि होइन । प्रहरीप्रमुख बन्ने अस्वस्थ खेलको परिणाम हो यो ।
जुन सङ्गठनको प्रमुख बन्न एक अधिकृतले जिन्दगीका स्वरि्णम समय तालिम, मिटिङ, टेन्सन, लडाइँ र घरबाहिर बिताउँछ, त्यही व्यक्तिले प्रमुख बन्ने अवसर प्राप्त गर्नेबित्तिकै बीचैमा हट्नुपर्छ वा अख्तियार लागेर मुद्दामा पर्नुपर्छ भने त्यो सङ्गठनको विकास कसरी होला ?
प्रहरी कर्मचारीमध्ये धेरै अहिले एकदमै व्यक्तिवादी भइसकेका छन् । समूहमा पानीमा डुबेकाहरू एक्लाएक्लै बाँच्नका लागि सानो डुङ्गामा चढ्नखोज्दा अरूलाई निर्ममतापूर्वक तानेझैँ यहाँ पनि अधिकृतहरू एक-अर्कालाई तान्न व्यस्त छन् । यही तनाइको एक पछिल्लो परिणाम हो- प्रहरी महानिरीक्षक रमेश चन्दले अवधि पूरा नहुँदै जानुपर्ने अवस्था ।
आज जुन प्रकारले रमेश चन्दको जिम्मेवारी रवीन्द्रप्रताप शाहमा गएको छ, यो अवस्था जन्माउनुमा सबैभन्दा पहिले आईजी मोतीलाल बोहोराको भूमिका थियो । त्यसभन्दा पनि पहिलाको कुरा गर्ने हो भने हेमबहादुर र रणबहादुर मिली इन्द्रबहादुर शेरचनदेखि हाङसिङ र रत्नशमशेरसम्मलाई फसाउने षड्यन्त्र भएका थिए । ०४८ सालपछि नेतालाई हातमा लिएर बोहोराले रत्नशमशेरलाई हटाए । खरेललाई ध्रुव प्रधानले र प्रधानलाई खरेलले पनि नेताकै साथ लिएर हटाए । प्रदीपशमशेरलाई नेता लगाई श्यामभक्तले हटाए । श्यामभक्तलाई नेता लगाई ओमविक्रमले हटाए । ओमविक्रमलाई नेतै लगाई हेम गुरुङले र हेम गुरुङलाई रमेश चन्दले हटाए र आज रवीन्द्रप्रतापले पनि नेताकै सहारामा रमेश चन्दलाई हटाए । फरक यत्ति हो, कुनै बेला नेताले कसैलाई आईजी बनाउन आफंै प्रस्ताव ल्याएका छन् भने कुनै बेला एआईजीले नेतालाई आईजी बनाइदिन प्रस्ताव लगेका छन् । म के देख्छु भने नेताहरू प्रहरीमा हावी हुँदै गइरहेका छन् र उनीहरूलाई प्रहरी महानिरीक्षक हटाउने खेल रमाइलो लाग्न थालेको छ । ती नेताहरूलाई यो आँट, हिम्मत, उपाय र आफूलाई प्रमुख बनाइए तिनलाई सबै प्रकारले सहयोग गर्ने वचन दिने व्यक्ति पनि अरू कोही नभएर प्रहरी कर्मचारी नै हुन् । प्रहरीका प्रमुख हुन खोज्नेे दाबेदारहरूले जबसम्म खुलेर नेताहरूलाई औपचारिक वा अनौपचारिक रूपमा आफूलाई आईजीपी बनाइए आफूबाट पुर्ण सहयोग हुने वाचा गरेका हुँदैनन् तबसम्म आईजी परिवर्तन गर्ने सरकारको सपना पनि साकार हुँदैन । यसको एउटा उदाहरण सेनाप्रमुख कटवाल पनि हुन् । कटवाललाई सेनाको साथ नभएको भए तिनी र्फकन सक्दैनथे । रत्नशमशेरलाई हटाउँदा बोहोरालाई फुली लगाउन हतार भयो, खरेललाई हटाउँदा प्रधानलाई फुली लाउन हतार भयो, फेरि प्रधानलाई हटाउँदा खरेललाई फुली लगाई हेडक्वार्टर आएर रिस उठेका सबैलाई बदला लिन हतार भयो, खरेल हटाइँदा ओमविक्रमलाई फुली लगाई फोटो खिच्न हतार भयो, ओमविक्रम हट्दा हेम गुरुङलाई अनि हेम गुरुङ जाँदा रमेश चन्दलाई फुली लगाउन हतार भयो । यही परम्परा हालका प्रमुख रवीन्द्रप्रतापले पनि अघि बढाए । मैले के देख्छु भने सबैलाई आईजी हुने हतार छ, त्यसका लागि अवसरको खोजी छ, अवसर नमिले अवसर सिर्जना गर्ने रणनीति तयार गरिएको छ तर त्यत्रो मिहिनेत गरी बल्लबल्ल प्रहरी प्रमुख भएकाहरूले न पूरा जागिर खान पाएका छन् न अवकाशपछि नै चैन र सुखसँग बस्न पाएका छन् । अधिकांश आईजीहरू अख्तियारतर्फ पो जाँदै छन् । यस्तो स्थिति निरन्तर रूपमा आइरहेको देख्दादेख्दै पनि मलाई दुःख लाग्छ कि आईजी हुने र हुन खोज्नेहरूले यो भयानक सत्यताबारेमा गम्भीरतापूर्वक सोचेर यसलाई रोक्न पटक्कै प्रयास गर्नु त कता हो कता, उल्टो त्यस प्रक्रियालाई सक्दो साथ पो दिइरहेका देखिन्छन् । आज कुनै अधिकृत कोही बिग्रेका कारण आईजीपी हुन्छन् भने सबै अधिकृत श्रीमतीसहित त्यता दौडेका देखिन्छन् र हामी हजुरकै मान्छे हो भन्न पुग्छन् । भोलि त्यही खोसिँदा त्यसकहाँ कोही जाँदैनन् र नयाँ भएकातिर श्रीमती लिएर फेरि बफादार भएको प्रमाण दिन कुद्छन् । उदेक लाग्छ यस्तो देख्दा ।
यो दौड मैले पनि खुवै देखेँ, भोगेँ । यो संस्थामा सयौँ काबिल अफिसर यही दौडको बीचमा बिगारिए र बिग्रिए तर अहिले पनि कोही अधिकृहरूले यो सङ्गठनमा मात्र किन यसरी दसा लागिरहेछ ? भनेर सोच्नेसम्म पनि गरेको देखिँदैन । यही देशमा काम गरिरहेका सेना र सशस्त्रका प्रमुखहरू किन यो समस्यामा र मुद्दा-मामलामा परेका छैनन् र नेपाल प्रहरीको प्रमुखलाई मात्र किन यस्तो आपत्-विपत् आइरहेको छ भनेर पनि कसैले विचार गरेको देखिँदैन । अरू त अरू भइहाले, आफूअगाडिको आईजीपीहरूलाई आएको सङ्कट देख्ने पछिका आईजीपीहरूसमेतले यस्तै अवस्था ममाथि पनि दोहोरिन सक्छ भनेर सोचेका पनि देखिँदैनन् । बरु मनखुसी ढङ्गले आफ्ना-आफ्ना गुट, क्षेत्र, जात, च्यापी अरूलाई पेल्दै र अन्याय गर्दै हिँडेका पो देखिन्छन् । पछि सरकारले हटाइसकेपछि मात्र त्यस्ता आईजीपीहरूले यसबारे सोचेर केही मतलब हुँदैन ।
आज जुनप्रकारले सरकार परिवर्तनसँगै आईजीपीहरू परिवर्तन गर्ने प्रचलन बढेको छ, यसको सुरुवात शेरबहादुर देउवा गृहमन्त्री हुँदाबाट नै सुरु भएको हो । त्यसपछि वामदेव गौतमले यो कामलाई अगाडि बढाए भने वामदेवपछि खुमबहादुर र खुमबहादुरपछि कृष्णप्रसाद सिटौला र महरासम्मले यो काममा निरन्तरता दिँदै आएका छन् ।
जहाँसम्म मेरो अनुभव छ, प्रहरी महानिरीक्षक परिवर्तनमा गृहमन्त्रीभन्दा पनि प्रहरीहरू नै बढी जिम्मेवार छन् किनकि गृहमन्त्री वा राजनीतिक पार्टीलाई यो काम गर्न उत्प्रेरित गर्ने प्रहरी सङ्गठनका सदस्यहरू नै भएको देखिएको छ । कुनै एआईजीलाई आफू प्रहरीप्रमुख बन्ने चाहना भएका कारणले मात्र होइन कुनै भएका प्रहरी महानिरीक्षकले तलका एआईजीहरूलाई गन्दै नगनी अन्डरस्टिमेट गरेका कारण पनि आईजीपी परिवर्तन हुने खेल अघि बढेको छ । यस्तो अवस्थामा आईजीपीसँग चिढिएका वा पेलिएका अधिकृतहरू पेलिएकै एआईजीतिर मिलेर गुट बनाई भएको महानिरीक्षक हटाउन लागिपर्छन् । यस्ता गुटले महानिरीक्षक परिवर्तन पनि गराएको छ ।
कुनै आईजीपीले कुनै एआईजीलाई आफ्नो मन्त्री छ भनेर निष्त्रिmय बनाई पीडा दिन प्रयास गर्दा पनि त्यस्ता पीडित एआईजीबाट आईजी हट्नुपरेको उदाहरण पनि छ । प्रहरीमा यतिसम्म कि भएका आईजीपीहरूले आफ्ना प्रतिद्वन्द्वीहरू कहाँ को-को अधिकृत जान्छन् भनी चियो गर्न मान्छेसमेत खटाउँदथे र कोही गएको थाहा पाए, त्यो त त्यसको मान्छे पो रहेछ भन्दै डाँडा कटाउने मात्र होइन, पदोन्नति पनि रोक्ने प्रयास गर्दथे । यति मात्र होइन, प्रतिद्वन्द्वी अधिकृतहरूलाई कुटपिट र अपमान गर्ने प्रयास पनि गर्दथे । पछिपछि आएर आफ्नाविरुद्धका अधिकृतहरूको टेलिफोन ट्याप गराउने प्रचलन पनि सुरु भयो । अहिले आएर अख्तियारमार्फत फसाएर बाटो साफ गर्ने प्रचलन प्रहरीमा सुरु भएको छ । अब भविष्यमा प्रतिद्वन्द्वीको हत्या गराउनसमेत पछि पर्दैनन् कि भन्ने मलाई डर लागिरहेको छ । किनकि एक तह पदोन्नति र सरुवाका लागि प्रहरी कर्मचारीहरूले क्रमशः नैतिकता, भ्रातृत्व र आपसी सद्भाव बिर्संदै गएको देखिन्छ । यो स्थिति देख्दा मलाई पूर्व प्रहरी अधिकृतको हैसियतले दुःख लाग्छ ।
सरकारमा रहेका प्रधानमन्त्री र गृहमन्त्रीहरूले पहिला-पहिला प्रहरीलाई जथाभावी चलाउँदैन थिए । पञ्चायतकालमा प्रहरीप्रमुखले प्रहरी सङ्गठनमा राम्रो नियन्त्रण राख्दथे । बहुदलपछि जब मन्त्री साथ लिएर आईजी हर्टाई आफू आईजी हुने प्रचलन सुरु भयो, त्यसपछि गृहमन्त्रीहरूको पकड सङ्गठनमा बलियो हुन थाल्यो । त्यसपछि नै हो प्रहरी प्रधान कार्यालयका धेरै अधिकार गृहमन्त्रीको पाउमा आईजीपीहरूले लगेर बुझाए । आईजीपी गृहमन्त्री र प्रधानमन्त्रीको पार्टी चलाउने खर्च जुटाइदिने राम्रा कर्मचारी बने । प्रशासनिक रूपमा मात्र होइन, आर्थिक रूपमा पनि पार्टीलाई राम्रो आम्दानी गराउने प्रस्तावहरू लिएर प्रहरी महानिरीक्षक हुन लालयित अधिकृतहरू राजनीतिक वृत्तमा जान थाले । त्यो आर्थिक फाइदाले पनि प्रहरी महानिरीक्षक परिवर्तन गर्ने कुरोमा महत्त्वपूर्ण भूमिका खेल्न थाल्यो । जबजब चुनाव आउँथ्यो वा आफूले चुनावमा जबर्जस्ती गर्नुपर्ने हुन्थ्यो, त्यतिबेला सत्तासीन गृहमन्त्रीले आफ्नोअनुकूलका आईजीपी ल्याउन भएका आईजीपी परिवर्तन गर्न पनि थाले । कहिलेकाहीँ शान्तिसुरक्षामा ठूलै घटना घटी सरकारलाई आक्रमण भइरहेका अवस्थामा ध्यान अन्यत्र पार्न पनि आईजीलाई बलि चढाउन थालियो ।
यो अवस्थ्ाा नजिकबाट देखेर आएको मजस्ता व्यक्तिका लागि समग्रमा भन्ने हो भने अहिले को नयाँ अधिकृत आईजीपी भए वा को गए भन्ने कुराले ठूलो महत्त्व राख्दैन । समग्र प्रहरीजन तथा जनताका लागिसमेत यस्तो खबर सामान्य भइसकेको छ । तर, मेरो मान्यता छ यस्तो खबर सामान्य नहुनुपथ्र्यो । नेपालको सुरक्षा स्थायित्व र विकासमा ज्यादै महत्त्वपूर्ण भूमिका निभाउने नेपाल प्रहरीजस्तो गरिमामय सङ्गठनका आईजीपीहरूलाई यसरी बीचबीचमै हटाउनु सङ्गठनका लागि हितकर कुरा हुँदै होइन ।
अब के देखिन्छ भने प्रहरी महानिरीक्षकहरूको जागिर क्यासिनोको कर्मचारीको जति पनि सुरक्षित छैन । यो कुरो प्रहरी महानिरीक्षकहरूले नै मान्न थालिसकेका छन् र भन्न पनि थालिसकेका छन् कि सरकारले चाह्यो भने मलाई पनि हटाउन सक्छ । हुन त पाकिस्तानमा एउटा कर्मचारी हटाउँदा नै सत्ता परिवर्तन हुन पुग्यो । यहाँ कर्मचारीहरूको जनतामा त्यसप्रकारको विश्वास हुन सकेन । रमेश चन्द भ्रष्टाचारको मुद्दा लागेर ससपेन्स भएका भए त्यो घटना सामान्य हुन्थ्यो । यदि उनले काम गर्न नसकेको भए उनीसँगै अरू धेरै कामका लागि जिम्मेवार कर्मचारी पनि खोसिनुपथ्र्यो । यहाँ एक्लो आईजीलाई हटाइएको छ र यो हर्टाई जानी-जानी गरिएको हो किनकि सरकार चलाउनेलाई थाहा भइसक्यो यो एक कमजोर पद हो । सिंहको अगाडि भेडाजस्तै निरीह ।
अन्तमा नयाँ आउनुभएका आईजीपी रवीन्द्रप्रताप शाहमा उहाँले आफ्नो कार्यकालभरि सेवा गर्ने मौका प्राप्त होस् भन्ने कामना गर्छु, पहिलेका अरू आईजीपीझैं बीचैमा कार्यकाल पूरा नगरी हट्नुपरेका आईजीपी चन्दको पनि आगामी जीवन सफलता र सुखपूर्वक बितोस् भन्ने कामना गर्दछु । मैले जतिबेला प्रहरीमा जागिर खाएको थिएँ त्यतिबेला आईजीपीको झण्डा, डण्डा, तारा र जनताको प्रहरीप्रतिको सम्मान देख्दा मलाई पनि त्यो पदमा पुग्ने रहर हुन्थ्यो तर अहिलेको आन्तरिक र बाह्य राजनीति र षड्यन्त्रमा पर्दै गरेका धेरै आईजीपी देख्दा आजभोलि मेरो मन परिवर्तन भएको छ । म भन्न थालेको छु- बिचरा आईजीपी साहेबहरू ।