सफल निजीक्षेत्र, असफल सरकार

सफल निजीक्षेत्र, असफल सरकार


Binod Tripathiसोझो कुरा– विनोद त्रिपाठी
भारतीय प्रधानमन्त्री कुचो लिएर सडक बढार्दै गरेको दृश्यले अहिले अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाएको छ । भारत सरकारले यही दृश्यलाई विज्ञापन बनाएर सबै टेलिभिजनमा देखाउन लगाएको छ । हरेक समाचार, कार्यक्रम, फिल्म चल्दै गर्दा नरेन्द्र मोदीको सडक बढारिरहेको दृश्य निकै घतलाग्दो र प्रेरणादायी छ ।
नेपालमा पनि पूर्वऊर्जामन्त्री गोकण विष्ट आफँै फिल्डमा उत्रेर विद्युत् चोरी रोक्ने अभियान चलाएका थिए । प्रधानमन्त्री हुँदा बाबुराम भट्टराईले पनि साना–साना काम आफैँ गरेर सुधारका नमुना प्रस्तुत गरेका थिए ।
देशको सुन्दर चित्र भनेको सडक हो । सडकसँग जोडिएका ढल, पर्खाल, घर, कार्यालय, कारखानालगायतका संरचनाबाट देशको विकासभन्दा सभ्यता जोडिएको हुन्छ । कुनै पनि मुलुकको सभ्यता सडकको सफाइ हेरेर सजिलै बुझ्न सकिन्छ । हरेक देशका नागरिक आफँैमा सक्षम हुँदैनन् । आफैँ नियम सिर्जना गर्दैनन् । त्यो राज्यले तोक्ने कानुन हो । सडकमा फोहोर नफाल नागरिकलाई भन्नैपर्दैन, सरकारले सडक कालोपत्रे, सिमेन्टेड र सबैतिर हरियाली बनाइदिने हो भने फोहोर फाल्दा नागरिक आफँै लज्जित हुनुपर्ने हुन्छ । धुलैधुलो भएको सडकमा अरू खालको फोहोर फाल्दा वा नफाल्दाको कुनै असर हुँदैन । धुलोरहित स्थानमा सानो कागजको टुक्रा पनि फोहोर देखिन्छ । अनि जुनसुकै व्यक्ति त्यो कागज टिपेर सम्बन्धित ठाउँमा विसर्जन गर्न पुग्छ ।
राजधानीको रिङरोड होस् वा अछामका ग्रामीण सडक, जनकपुरका धुलाम्मे बाटा हुन् वा मुस्ताङका भीर–भीरका डरलाग्दा मान्छे खाने सडक हुन्, कुनै पनि सडकमा सरकारको आँखा पुग्न सकेन । ठेकेदारका भरमा बनाइएका राजधानीका सडकको हालत देख्दा लाग्छ– ताप्लेजुङका गोरेटा र घोडेटा बाटाहरूको मार्गचित्र सजिलै कोर्न सकिन्छ । कलंकीदेखि चाबहिलसम्म यात्रा गरेको विदेशी पर्यटक भुलेर पनि नेपाल आउँदैन । चुनढुङ्गाको उद्योगका कामदारले भन्दा राजधानीका बासिन्दाले धेरै धुलो खाएको मापन कसले गर्ने यहाँ ? एक साता टेबुल नपुछी राख्नुपर्छ राजधानीमा कति धुलो उड्छ, त्यो सजिलै देख्न सकिन्छ । २४ घन्टा हामीले सास फेर्दा कति यही धुलो खाइरहेका छौँ, सरकारले यस्ता गम्भीर विषयमा कहिल्यै ध्यान दिएन ।
कुनै पनि मुलुक त्यो देशका नागरिकले निर्माण गरेको होइन । पद्धति, प्रणाली, राजनीतिक सरलता र दलहरूको सक्षम नेतृत्वले नै निर्माण गर्ने हो । नागरिकलाई त प्रणाली बसाइएपछि त्यसलाई पालना गराउन लगाइने हो । तर पनि नेपालमा निजीक्षेत्रले विश्वमै चमत्कारी काम गरेको देखिन्छ । गिनिज बुकमा नाम लेखाउन होस्, विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पाउन होस्, खेलकुदमा होस्, प्लाजा हाउस बनाउन होस्, व्यवस्थित बसोबास बनाउन होस्, सञ्चारका पद्धतिमा नयाँ आयाम थप्न होस्, २१औँ शताब्दीअनुसारका वस्तु आयात गर्न होस् वा नयाँ–नयाँ सिर्जना होस् अथवा पछिल्लोपटक कच्चा पदार्थ भित्याएर भए पनि विभिन्न वस्तु उत्पादन गर्न होस्, निजीक्षेत्रले गर्न भ्याएसम्म र मिल्नेसम्म गरेको छ । राजधानीका प्लाजा हाउसमा धुलो पुछिरहेका कर्मचारी देखिन्छन्, तर सरकारी कार्यालय धुलाम्मे छन् । नागरिकका घरमा सुन्दर बगैँचा र रंगरोगनले चिटिक्क देखिन्छ, तर त्यही रत्नपार्क बनायो छोड्यो, त्यसको संरक्षण राज्यले गर्दैन । सिंहदरबारअगाडि सडक कालोपत्रे छ, तर धुलो उडेको उड्यै छ । धुलो नआउने तरिका कहिल्यै अपनाएन कुनै सरकारले यहाँ । गल्ली–गल्ली पनि कालोपत्रे गर्नुपर्छ, पेटीमा सिमेन्ट लगाउनुपर्छ, खाली ठाउँमा दुबो रोपेर हरियो पार्नुपर्छ भन्ने यी सरकारका प्रधानमन्त्री, मन्त्री, अधिकारीहरू देशको बजेट सकेर विदेश सयर गर्दा देख्दा किन सिक्दैनन् वा जानेर पनि यहाँ किन लागू गर्दैनन् ? भएका सडकमा दैनिक पानीको फोर्सले सफा गर्नुपर्छ भन्ने यिनले पनि विदेश जाँदा देखेकै होलान् नि ।
०४६ मा प्रजातन्त्र आयो, ०६३ मा गणतन्त्र आयो । एकपटक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हेरौँ त यो २५ वर्षमा कति विकास भयो यो देशमा ? ठूला राजमार्गदेखि पुलसम्म, विशाल–विशाल सरकारी भवनदेखि खानेपानी आयोजनासम्म, ठूला जलविद्युत्देखि खानेपानी आयोजनासम्म सबै पञ्चायतकै पालामा निर्माण भएका हुन् । त्यही २५ वर्षको अवधि हो, जसलाई हामीले गाली गरेर, निरङ्कुशको आवाज बुलन्द गरेर जीवन आहुती गरेर व्यवस्था परिवर्तन ग-यौँ । तर, जनतालाई न विकास दियो, न गाँस दियो, न बास दियो । झन् बेरोजगारको विकाराल अवस्थामा लाखौँ युवा बिदेसिन बाध्य छन् । विश्वले कति धेरै प्रविधिमा फड्को मा-यो, हामी अझै मल र बिउ नपाएर खेती गर्न समस्या झेलिरहेका छौँ । निजीक्षेत्र लौन केही काम गरौँ भन्छ, सरकार सधैँ तगारो बन्दै जनताको गाँस, बास, कपास खोस्छ ।
कहिलेकाहीँ लाग्छ– हामी त्यसै बाँचिरहेछौँ । भगवान् पनि मूकदर्शक मात्र भएझैँ लाग्छ कहिलेकाहीँ । तर, बिचरा अभागी नेपाली यही धुलोले बिरामी भएर उपचार नपाईकन मरिरहेछन् । पञ्चायतकालपछिका सबै सरकार असफल हुन् भन्ने योभन्दा गतिलो प्रमाण अरू हुनै सक्दैन ।