चिलिमेका लगानीकर्तालाई २५ प्रतिशत लाभांश

चिलिमेका लगानीकर्तालाई २५ प्रतिशत लाभांश


चिलिमे जलविद्युत कम्पनीले आर्थिक वर्ष ०७४–७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो आवको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत सेयर लाभांश दिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश दिएको थियो ।

सञ्चालक समितिको उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीले उक्त जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको हो ।

कम्पनीले रसुवामा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै सोही कम्पनीका सहायक कम्पनीले अन्य चार आयोजना निर्माण गरिरहेको छ । ती आयोजनामा माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी र मध्यभोटेकोसी रहेका छन् ।