चिनियाँ प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्युजिकले संयुक्त राज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको सेयर निष्कासन गर्ने घोषणा गरेको छ ।
टेन्सेन्ट म्युजिक बुधबार न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत पनि हुँदै छ । हङकङ स्टक एक्सचेन्जमा बुझाइएको कागजातमा टेन्सेन्ट म्युजिकको प्रतिसेयर मूल्य १३ अमेरिकी डलर तोकिएको छ ।
वालस्ट्रिटमा पहिलोपटक पदार्पण गरेको टेन्सेन्ट म्युजिकको प्रतिसेयर मूल्य तोकिएसँगै कम्पनीको बजार मूल्य २१ अर्ब ३० करोड डलर पुगेको छ । यसै वर्षको शुरुमा गरिएको प्रक्षेपणमा यस म्युजिक कम्पनीको मूल्य २५ अर्ब डलर वा सोभन्दा बढी हुने अनुमान गरिएको थियो ।
कम्पनीले नौ महिनाको अवधिमा एक अर्ब ९० करोडको कारोबार गरेको र ४७ करोड ४० लाख डलर नाफा गरेको छ । टेन्सेन्टले चीनमा स्पटिफाई जस्तै क्यूक्यू म्युजिकबाट स्ट्रिमिङ सेवा उपलब्ध गराउँछ । टेन्सेन्टले अमेरिकी कम्पनी वार्नर म्युजिकको सेवा पनि आफ्ना ग्राहकलाई बिक्री गर्दछ ।
टेन्सेन्ट चीनको सबैभन्दा ठूलो प्रविधि कम्पनी हो । यही कम्पनीले चीनमा एक अर्बभन्दा बढी प्रयोगकर्ता रहेको विच्याट सामाजिक सञ्जाल सञ्चालन गरिरहेको छ । यस कम्पनीले गेमिङ र विज्ञापनसमेतका अन्य व्यवसाय पनि चलाइरहेको छ । कम्पनीले अनलाइन भिडियो, क्लाउड सर्भिसेज र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता सेवा पनि सञ्चालन गर्न लागेको जनाएको छ ।
चीनका ठूला प्रविधि क्षेत्रका कम्पनी अमेरिकी सेयर बजारमा सूचीकृत हुने क्रम बढेको छ । यसअघि अलिबाबा र बाइडु पनि अमेरिकामा सूचीकृत भइसकेका छन् ।
प्रतिक्रिया