गणेशमान स्मृति बक्सिङ माघमा

गणेशमान स्मृति बक्सिङ माघमा


गणेशमान सिंह फाउन्डेसनको आयोजनामा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता माघ २२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवम् नेपाल बक्सिङ सङ्घका पूर्वअध्यक्ष राजीव श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न नेपाल बक्सिङ सङ्घले विशेष सहयोग गरेको बताए ।

प्रतियोगितामा पुरुषतर्फ ४६–४९ केजी, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी तौल समूह प्रतिस्पर्धा हुनेछ । त्यस्तै, महिलातर्फ ४५ देखि ४८ केजी, ५१, ५४, ५७, ६० र ६४ केजीमा प्रतिस्पर्धा हुनेछ । हरेक टोलीमा बढीमा ८ पुरुष र ६ महिला गरी प्रतियोगितामा ८० पुरुष र ६० महिलाले सहभागिता जनाउनेछन् । प्रतियोगिताका लागि प्रदेश छनोट मङ्सिर २८ गतेदेखि शुरु गरेर पुस मसान्तसम्म सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय टोली नेपाल प्रहरी, एपीएफ र नेपाल आर्मीबाट ८० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहनेछ । प्रत्येक स्पर्धामा पहिलो र दोस्रो हुने खेलाडीले क्रमशः २५ हजार र १५ हजार नगद पुरस्कार पाउनेछन् । सेमिफाइनलमा रोकिने दुई खेलाडीलाई समान ७ हजार ५ सय नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट पुरुष, महिला खेलाडीलाई मोटरसाइकल र स्कुटर दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न ८० देखि ९० लाखसम्म खर्च हुने बताइएको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले ५० लाख उपलब्ध गराउने संयोजक श्रेष्ठले जानकारी दिए । अपुग रकम प्रायोजकबाट सङ्कलन गरिनेछ । अहिलेसम्म प्रतियोगिता सञ्चालनको लागि राखेपले २५ लाख प्रदान गरिसकेको र बाँकी रकम केही दिनपश्चात् प्राप्त हुने संयोजक श्रेष्ठले जानकारी गराए । त्यस्तै प्रतियोगिताका इभेन्ट एडभाइजर तथा मार्केटिङ हेड रहेका सञ्जीव तुलाधरले यतिबेला विभिन्न कम्पनीसँग कुरा चलिरहेको बताउँदै बाँकी रकम चाँडै व्यवस्थापन गरिने जानकारी गराएका थिए ।

पाँचदिने प्रतियोगिताका खेलहरू वसन्तपुर डबलीमा खेलाइनेछ । गणेशमान सिंहको नाममा यसअघि दुई संस्करण खुला बक्सिङ प्रतियोगिता भइसकेको छ । उक्त दुई संस्करण योङ स्टार क्लबले गरेको थियो ।