प्रोफेसनल बलिबिल्डिङ च्याम्पियनसिप नेपालमा

प्रोफेसनल बलिबिल्डिङ च्याम्पियनसिप नेपालमा


शारीरिक सुगठनका बादशाह मानिने हलिउड फिल्मका पूर्वस्टार र अमेरिकाको क्यालिफोर्निया राज्यका पूर्वगर्भनर आर्नोल्ड स्वेज्नेगर आबद्ध (आईएफबीबी प्रोफेसनल लिग) अन्तर्राष्ट्रिय फिटनेस फर बडिबिल्डिङ प्रोफेसनल लिगले नेपालमा पनि यस खेलको विकास र विस्तारका लागि अग्रसरता देखाएको छ । र, नेपालमा यस कार्यका लागि आईएफबीबी लिग नेपाल नामक संस्थालाई जिम्मेवारी दिइएको छ ।

यसै अवसरमा अन्तर्राष्ट्रिय फिटनेस फर बडिबिल्डिङको नेपाल च्याप्टर ले सन् २०१९ को फेब्रुअरी १५–१६ मा अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्तीहरूलाई सम्मिलित गराएर आईएफबीबी प्रोफेसनल लिग नेपाल, बलिबिल्डिङ च्याम्पियनसिप–२०१९ आयोजना गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । प्रतियोगिता आयोजनाका लागि विश्व बडिबिल्डिङका हस्ती बब चिकोरिलो नेपाल आउने पनि आयोजक सङ्घका अध्यक्ष सानु गुरुङले बताएका छन् । बब आफैँमा प्रतिष्ठित बडिबिल्डर भएको र उनी ‘मिस्टर ओलम्पिया’ सञ्चालन गर्न आएको गुरुङले जानकारी गराएका थिए ।

नेपालमा पहिलोपल्ट आयोजना हुन लागेको यो प्रतियोगितामा २० भन्दा बढी राष्ट्रका खेलाडीले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगितामा कुल २ सयको हाराहारीमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट १,६८,४२,८०० रुपैयाँ रहेको छ । अमेरिकामा मुख्यालय रहेको आईएफबीबी प्रोफेसनल लिगले सन् २०१९ को जनवरीमा आफ्नो क्यालेन्डरमा नेपालमा आयोजना हुन गइरहेको यो प्रतियोगिताको सम्पूर्ण व्यहोरा सार्वजनिक गर्नेछ ।

शारीरिक सुगठनको ‘विश्वकप’ मानिने ‘मिस्टर ओलम्पिया’ आईएफबीबी प्रोफेसनल लिगले मात्र आयोजना गर्दछ । ‘मिस्टर ओलम्पिया’मा भाग लिन ‘प्रो कार्ड’ आवश्यक पर्ने गर्दछ । नेपाल यसअघि यो संस्थामा आबद्ध थिएन । त्यसैले नेपाली खेलाडी ‘मिस्टर ओलम्पिया’मा भाग लिने अवसरबाट वञ्चित थिए । तर, आईएफबीबी प्रोफेसनल लिगले नेपाल च्याप्टरका लागि सानु गुरुङलाई ‘फ्रेन्चाइज’ दिने निर्णय गरेपछि अब नेपाली खेलाडीले पनि ‘प्रो कार्ड’ पाउने ढोका खुलेको छ ।

नेपालले यो प्रतियोगिताका लागि ४ वटा ‘प्रो कार्ड’ लिइसकेको छ । विश्वभरका खेलाडी यी ४ वटा ‘प्रो कार्ड’ जितेर अमेरिकाको लसभेगासमा हरेक वर्ष आयोजना हुने ‘मिस्टर ओलम्पिया’मा भाग लिन पाउनेछन् । त्यसैले यो प्रतियोगितालाई ‘मिस्टर ओलम्पिया’ खेल्ने बाटोको रूपमा पनि लिन सकिन्छ । नेपालमा ‘मेन्स फिजिक्स’, ‘क्लासिक फिजिक्स’, ‘मेन्स बडिबिल्डिङ’ र ‘ओमन्स फिटनेस’ तर्फको ‘प्रो कार्ड’ छ । छिमेकी भारतले अहिलेसम्म ‘प्रो कार्ड’ लिन नसकेको अवस्थामा यो नेपाली खेलकुद जगत्का लागि ठूलो उपलब्धि मानिएको छ ।

आईएफबीबी प्रोफेसनल लिगमा विश्वका १ सय ७० भन्दा बढी देश आबद्ध छन् । यसका संस्थापक जोए वेडरको सन् २०१३ मा निधन भएको थियो । हाल यो संस्थाका अध्यक्ष अमेरिकाका जिम मेनन र महासचिवमा अमेरिकाकै रोबिन च्याङ रहेका छन् । अमेरिकी मिडिया कम्पनीले सन् २००४ देखि आईएफबीबी प्राफेसनल लिगसँग साझेदारको रूपमा काम गर्दै आएको छ । त्यसैले यो प्रतियोगिता आयोजनाले विश्वमा देशको छवि बदल्न र खेलमार्फत पर्यटनलाई टेवा पु¥याउन ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।