अष्ट्रियाले देखायो नेपालको जलविद्युतमा लगानी गर्ने इच्छा

अष्ट्रियाले देखायो नेपालको जलविद्युतमा लगानी गर्ने इच्छा


अष्ट्रियाले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको छ । नेपालका लागि अष्ट्रियाका राजदूत विग्रेट्टी ओपिनगेर वाल्चसोफले बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँग भेट गरी लगानीको चाहना दर्शाएका हुन् ।

भेटमा राजदुत वाल्चसोफले जलविद्युत क्षेत्रमा लगानी गरेर आफ्नो देशको अनुभव साट्न चाहेको बताए । ‘अष्ट्रिया सरकारले लगानी गर्न नेपाललाई चाँडै औपचारीक प्रस्ताव पठाउने छ ।’ राजदुत वाल्चसोफले भने, ‘यसमा हामी सकारात्मक छौं ।’

आसियन र विमस्टेक क्षेत्र हेर्ने अष्ट्रियाको ट्रान्सपोर्ट तथा प्रविधि मन्त्रालयका क्षेत्रीय निर्देशक मिचेल लिडरेरले पनि मन्त्री पुनसँग भेटवार्ता गरेका छन् । भेटमा निर्देशक मिचेलले ऊर्जा क्षेत्रमा औपचारीक सम्बन्ध स्थापित गर्न आफ्नो देश सहकार्य गर्न तयार रहेको बताए ।

‘नेपालमा जलविद्युतको ठुलो सम्भावना छ,’ उनले भने,‘ यहाँको जलविद्युतको विकास गर्न हामी अष्ट्रियन प्रविधि प्रयोग गर्न चाहन्छौं ।’ जवाफमा मन्त्री पुनले जलविद्युत विकासमा अष्ट्रियन प्रविधि विश्वकै उत्कृष्ट भएको भन्दै तारिफ गरे ।

नेपालमा सक्रिय अष्ट्रियन कम्पनीले पनि उतैको प्रविधिअनुसार काम गरिरहेको भन्ने सुनेको पुनले जिकिर गरे । १० वर्षमा विद्युत उत्पादनको सीमा १५ हजार मेगावाट पुर्याउने सरकारको लक्ष्य रहेकाले अहिले जलविद्युतमा लगानीका लागि उपयुक्त समय भएकाले सहजिकरण गर्न तयार रहेको उनले बताए ।