अर्थतन्त्रको नकारात्मक सूचककै कारण शेयर बजार ओरालो दिशामा

अर्थतन्त्रको नकारात्मक सूचककै कारण शेयर बजार ओरालो दिशामा


पूर्व अर्थमन्त्री डा. रामशरण महतले शेयर बजार निरन्तर आरालो लाग्नु अर्थतन्त्रका निम्ति नकारात्मक सूचक रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नवनिर्वाचित पदाधिकारीको सम्मानमा बुधबार मिडिया इन्टरनेशन द्धारा आयोजित कायक्रममा डा. महतले सो कुरा बताएका हुन । पद सुहाउँदो जनशक्तिको अभाव, सुशासनको अभाव, जिम्मेवारी र रकमको बाँडफाँडमा समस्या, फजुल खर्चे प्रवृत्ति, धेरै राजनीतिक पद लगायतका कारण मुलुकमा आशावादी अवस्था नदेखिएको डा. महतको भनाई छ । सामाजिक सुरक्षा कोषको योजना १०÷१२ वर्षदेखि नै सुरु भएको जानकारी गराउँदै उनले यसको कार्यान्वयन पश्चात् सरकारले गरेको प्रचारलाई फजुल खर्च भएको दाबी रहेको छ । सरकारद्धारा ठूलठूला कुरा गरेर आशा देखाइए पनि वास्तविक समस्या बुझेर समाधान गर्नेतर्फ ध्यान नजाँदा संरचनागत परिवर्तनका वावजुद पनि मुलुकको आर्थिक अवस्थामा परिवर्तन आउन नसकेको उनको धारणा छ ।

कार्यक्रममा अर्थविद् डा. चन्द्रमणी अधिकारीले एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति हटाउनुपर्ने बताए । अहिले उपभोगको मात्रै अन्तराष्ट्रियीकरण भएको भन्दै उनले अब उत्पादनको पनि अन्तराष्ट्रियीकरण गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ९० प्रतिशत नपुर्याएसम्म वास्तविक निजीकरण नहुने उनको भनाई छ ।

त्यस्तै,गरी शेयर बजार विज्ञ डा. गोपाल भट्टले नीतिगत व्यवस्थामै भएको कमजोरीका कारण बैंकिङ क्षेत्र एवम् पुँजी बजारमा समस्या देखिएको बताए । बैंकिङ क्षेत्रमा तरलता छ भने सुरक्षित क्षेत्र हेरेर लगानी गर्न पाउने नीति तयार गरिनुपर्ने उनले बताए । अहिलेको अवस्थामा सीसीडी रेसियोमा रिल्याक्सेसनको आवश्यकता रहेको उनले औँल्याए । कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्श, प्रदेश नं. ५ का अध्यक्ष भीमलाल पौडेलले निजी क्षेत्रलाई काम गर्ने वातावरण नभएको बताए ।