ज्ञान कार्निभलमा बूढानीलकण्ठ र पुष्पसदन च्याम्पियन

ज्ञान कार्निभलमा बूढानीलकण्ठ र पुष्पसदन च्याम्पियन


बूढानीलकण्ठ र पुष्पसदन एसएमएल इसुजु २५औँ ज्ञान कार्निभलमा च्याम्पियन बनेका छन् । बूढानीलकण्ठ छात्र फुटबल तथा पुष्पसदन मिनी छात्र बास्केटबलमा च्याम्पियन बनेका हुन् ।

छात्र फुटबल फाइनलमा बूढानीलकण्ठले शहिद धर्मभक्तबाट वाकओभर पाएको थियो । त्यस्तै मिनी छात्र बास्केटबलमा पुष्पसदनले ओसिसलाई ५०–३४ ले पराजित गरेको थियो । पुष्पसदनको जितमा सञ्जीव बोहराले २१ अंक योगदान गरेका थिए ।

फुटबलमा आयोजक ज्ञानोदयका आयुश खपाङ्गी तथा बास्केटबलमा पुष्पसदनका सञ्जीव बोहरा उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ९ गोल गरेका बूढानीलकण्ठका मन्जिल गौतम सर्वाधिक गोलकर्ता बने । फुटबलमा आयोजक ज्ञानोदय तथा बास्केटबलमा मर्सी मिसन एकेडेमीले अनुशासित टिमको उपाधि हात पारेका थिए ।

विजेतालाई एसएमएल इसुजुका सेल्स डाइरेक्टर दीपक थापा, ज्ञानोदय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धवीर लामा, ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा र ज्ञानोदयका वरिष्ठ भाइस प्रिन्सिपल भानुले पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको फुटबलमा १६ तथा बास्केटबलमा ८ टिम सहभागी थिए ।