तेस्रो नजर

तेस्रो नजर


pathakmanchमिलेमतोबिना यस्तो सम्भव छ त ?
मकाउ मुलुकमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै केही म्यानपावर कम्पनी र एजेन्टले जनही १२ लाखका दरले रकम उठाउन थालेका छन् । उनीहरू मकाउ लैजान अनुमति लिएरै रकम असुलेको तर्क गर्छन्, तर मकाउका लागि त्यत्रो रकम असुल्नु पूरै अवैधानिक कार्य हो भन्ने तथ्यप्रति चाहिँ आँखा चिम्लिरहेका छन् । वैदेशिक रोजगार विभागका कर्मचारीकै मिलेमतो हुनाले मकाउका नक्कली डिमान्डलाई स्वीकृति दिई राष्ट्रियस्तरका पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरी यसरी अवैध रकम उठाउन थालिएको पाइन्छ । विगतमा पनि मकाउमा वैदेशिक रोजगारी दिलाइदिने भन्दै हजारौँ युवायुवतीसँग चर्को रकम असुलेर म्यानपावर कम्पनी र मानव तस्करहरू फरार भएका थुप्रै घटना छन् । राज्यले उनीहरूलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । माथिल्लो निकायको संरक्षणबिना यस्तो सम्भव छैन ।
मकाउ चाइनाको एउटा प्रान्त हो । संसारभरका जुवाडेहरूले जुवाघरका रूपमा मकाउलाई लिने गरेका छन् । चाइना, हङकङ, जापान, युरोप, अमेरिकालगायतका धनाढ्यहरू मकाउमा जुवा खेल्न जम्मा हुन्छन् । अमेरिकी डलरमा कारोबार हुने र राम्रो कमाई हुने भन्दै म्यानपावर एजेन्सी, मानवतस्कर, दलाल र कर्मचारीको मिलेमतोमा मकाउको रोजगारीका नाममा पटक–पटक सर्वसाधारण नेपालीलाई अलपत्र पारिँदै आइएको छ । वैदेशिक रोजगार विभागका कर्मचारीको मिलेमतोबिना यो सम्भव छैन ।
सो विभागले मकाउमा नेपाली कामदार पठाउन अनुमति दिएका नेपालका म्यानपावर व्यवसायीहरूको धन्दा नै मकाउ पठाइदिने भन्दै चर्को रकम असुल्ने, आज–भोलि भन्दै हल्लाउने र पीडितको रकम म्यानपावर कम्पनी र वैरो विभागका कर्मचारी मिलेर भ्वाम पार्ने गरिएको छ । अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने राज्यका निकाय नजागेर हो कि जाग्दाजाग्दै भ्रष्टहरू चम्केका हुन् ? सीधासाधा नेपालीजनलाई बुझ्नै गाह्रो प-यो ।
– जनककुमार नेपाली, पाल्पा (हाल : सोल्टीमोड, काठमाडौं)