भाषा, सङ्घीयता र एकता – विनोद त्रिपाठी

भाषा, सङ्घीयता र एकता – विनोद त्रिपाठी


Binod Tripathiसोझो कुरा
पूर्वको लिम्बू पोखराको तमु गाउँमा पुग्यो भने उसले बोल्ने भाषा के होला ? यी दुवै जनजातिअन्तर्गत पर्छन् । एकै उद्देश्यका लागि यिनका विभिन्न मोर्चा छन् । यिनीहरूको संविधान निर्माणको यो चरणमा एउटै आवाज गुन्जिएको छ । जनकपुरको यादवले दाङका थारूसँग बोल्ने भाषा कुन होला ? जनजाति–जनजाति, मधेसी–मधेसीबीच सबैभन्दा आवश्यक बनेको नेपाली भाषाको उपेक्षा पछिल्ला दिनमा भएको देख्दा धेरैलाई दिग्भ्रमित पारेको छ । आर्य वा खस मूलका व्यक्तिको मात्र पेवाजस्तो गरी जबर्जस्ती नेपाली भाषालाई भन्दा जातजातिका भाषालाई महŒव दिँदा जनजाति र मधेसकै समुदाय कति मर्कामा पर्छन् भन्ने जान्न जरुरी छ । हाम्रो मूल भाषा नेपाली हो, यो कुनै ब्राह्मण वा अन्य आर्यको मात्र मूल भाषा होइन । यो पूर्वको राई र पश्चिमको डोटेलीको पनि मुख्य भाषा हो । मुस्ताङको भोटेदेखि सोलुको शेर्पाको पनि मूल भाषा नेपाली नै हो ।
हाम्रो मुलुकमा बोलीचालीमा अहिले एक सय २३ भाषा प्रयोगमा छन् । ०६८ को रेकर्डलाई हेर्ने हो भने पूर्ण प्रयोगको भाषागत जनसङ्ख्याअनुसार ४४ दशमलब ६ प्रतिशतले पूरै नेपाली प्रयोग गर्छन् । मैथिली ११ दशमलब ७, भोजपुरी ६, थारू पाँच दशमलब आठ, तामाङ पाँच दशमलब एक, नेवारी तीन दशमलब दुई, मगर तीन, हिन्दी तीन, डोटेली तीन, उर्दू आठ दशमलब पाँच, अवधी दुई र बैतडेली एक दशमलब ०२ प्रतिशतले बोल्ने अन्य भाषामा पर्छन् । यसमा अङ्ग्रेजी भाषा समावेश गरिएको छैन । पछिल्ला वर्षमा निजी तथा सरकारी कार्यालयमा नेपालीपछि अनिवार्य प्रयोग हुने भाषा भनेको अङ्ग्रेजी हो ।
भारतले हिन्दीपछि दोस्रोमा बोल्ने मुख्य भाषा अङ्ग्रेजी राखेको छ । त्यसपछि क्रमशः कश्मिरी, राजस्थानी, गुजराती, मराठी, पञ्जावी, बंगाली, आसामी, मनिपुरी, युरी, तेलुगु, तमिल, मलायाम, कन्नदा, कोन्कानी, संस्कृत र उर्दू यहाँ बोलिने अरू मुख्य भाषामा पर्छन् । बेलायतले अङ्ग्रेजीपछि दोस्रो बोल्ने मुख्य भाषामा हिन्दी राखेको छ । ब्रिटिसको शासनको बेला परेको अङ्ग्रेजी प्रभावले भारतका अधिकांश शिक्षित घरायसी काममै अङ्ग्रेजी प्रयोग गर्छन् । ब्रिटिसले भारत छोडेपछि उनीहरूसँगै बेलायतमा पनि हिन्दी भाषा छिरेको हो । २९ राज्यको सङ्घीयतामा फैलिएको भारतमा हाल एक अर्ब २७ करोड जनसङ्ख्या छ । एउटै राज्य उत्तर प्रदेशमा २० करोड ७६ लाख ४४ हजार रहेको छ ।
कुनै बेला अङ्ग्रेजी फिटिक्कै नबोल्ने चिनियाँ अहिले कलेजमा प्राथमिकता साथ अङ्ग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । आफ्नै भाषा संसारभर फैलाउन खोजेको सोभियत सङ्घ (तत्कालीन रुस)ले अहिले स्कुलदेखि कलेजसम्म एउटा विषय अङ्ग्रेजी पढाउन सुरु गरेको छ । रसियन पुराना पढेलेखेकाहरूले अङ्ग्रेजी जान्दैनन् । तर, युवा पिँढीबीच अङ्ग्रेजी चल्छ । छिमेकी मुलुकहरू युरोपको परिवेशसँग घुलमिल हुन उनीहरूलाई अङ्ग्रेजी नजानी हुँदैन भन्ने बुझ्न थालेका छन् ।
दुई करोड ७० लाख जनसङ्ख्या भएको हाम्रो मुलुक विविध जातिको फूलबारी हो । सङ्घीयताको नाममा यो फूलबारीमाथि हुने विभाजनले सबैलाई एकपटक सोच्न बाध्य पार्दै छ । फूल मात्र हामीले भागबन्डा गर्दै छैनौँ, जमिनलाई पनि बन्डा गर्न कम्मर कसेर लाग्दै छौँ । भारतमा जस्तो ठूलो भूभाग हाम्रो छैन । मराठी भाषा मात्र जानेको व्यक्तिले हिन्दी नजान्दा पनि उसलाई पुग्छ । तर, हाम्रो सानो क्षेत्र छ । पोखराको तमुलाई काठमाडौंको नेवारसँग सङ्गत नगरी जीवन चल्दैन । सिरहाको मधेसी थारूलाई काभ्रेको तामाङ साथी नबनाई पुग्दैन । अनि हामी क्षेत्र–क्षेत्र, भाषा–भाषामा विभक्त बनेर यो तेरो–मेरो भन्न थाल्यौँं भने हाम्रो जीवन कति असहज हुन्छ, एकपटक सोझो अनुमान गरौँ त । मगरदाइले राईसँग बोल्ने भाषा नेपाली नै हो । तर, भारतमा गुजराती मात्र जानेको सामान्य नागरिकले हिन्दी नजानेर पनि सजिलै पुस्तौँपुस्ता गुजार्न सक्छ ।
अङ्ग्रेजी जान्दै गर्दा, हिन्दी बोल्दै गर्दा र नेपालीमै सम्पूर्ण कामकाज गर्दै गर्दा कसैको धर्म, संस्कृति, जातिगत महŒव र भाषागत हस्तक्षेप हुनुहुँदैन । जे सहज र व्यापकता छ त्यही भाषा प्रयोग गर्ने हो । हिजोका विश्वमा साम्राज्य फैलाउन खोजेका रुस, जर्मन, जापान र हालको चीनले समेत विश्वव्यापीकरण बनेको अङ्ग्रेजी प्रयोग नगरी सुख पाएन । त्यसैले भाषागत, जातिगत विवादभन्दा जीवनस्तरको सुधार ल्याउन सके त्यो जातिको कल्याण हुनेछ । हामी यो भन्दैनौँ, आफ्नो मातृ भाषालाई महŒव दिन हुँदैन । सबै जातिलाई आफ्नो मातृ भाषा संरक्षण र प्रवद्र्धन गर्ने अधिकार छ । तर, यो पनि बिर्सन हुन्न, हाम्रो मूल भाषा नेपाली नै हो । तर, पछिल्लोपटक राजनीति गर्ने नाममा सङ्घीयताको रटानमा केही नेताले नेपाली भाषाको उपेक्षा गरेकाले यो विषय स्पष्ट पार्न जरुरी देखिएको हो । नेताहरूको व्यक्तिस्वार्थका कारण एउटा मधेसीभाइले शेर्पाभाइलाई पराई सम्झनुपर्ने अवस्था आउन नदिन अहिले आमसर्वसाधारण गम्भीर बन्ने बेला आएको छ । सबैको भाषा नेपाली नै हो । भाषागत विवाद मात्र होइन, हालका राष्ट्रिय झन्डादेखि, राष्ट्रिय चिह्नसम्मको विवादले हामीलाई नै अग्रगतिमा पछि पार्छ भन्ने हेक्का राख्न जरुरी छ । हाम्रा १ सय २३ भाषा, राष्ट्रिय चिह्नहरू सबै समान छन् । तर, हामी सबै नेपाली हौँ भन्ने कुरा कुनै धर्म, जाति, समुदाय आदिले बिर्सन हुँदैन । सबैको साझा भाषा नेपाली मात्र हो ।