बोसीगाउँ बक्सिङ क्लबको आयोजनामा नेपाल, भारत र भुटानका खेलाडीबीच इन्द्रमाया महर्जन स्मृति अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ । दुईदिने मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता पुस २५ र २६ मा हुने पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषदका सदस्य अर्जुनबहादुर केसीले विगतमा बक्सिङको स्तर माथि भएको स्मरण गराउँदै भने– अहिले मैत्रीपूर्ण खेल पनि कम हुने गरेको छ, खेलको स्तर पनि तल झर्दै छ ।
नेपाल बक्सिङ संघका अध्यक्ष प्रथम साफका रजत विजेता बक्सर राम अवालेले नेपालमा हुने १३औँ साग खेलकुदको तयारीमा प्रतियोगिताले महत्वपूर्ण अर्थ राख्ने मैत्रीपूर्ण खेलबाट खेलाडीको स्तर मापन र प्रतिस्पर्धा गर्ने क्षमता बढाउने दाबी गरे ।
चन्द्रागिरी नगरपालिकामा हुने प्रतियोगितामा भारतको हरियाणा राज्यको बक्सिङ टोली, भुटानको राष्ट्रिय टोली र नेपालबाट ‘ए’ र ‘बी’ गरी चार टिमले प्रतिस्पर्धा गर्ने आयोजक बोसीगाउँ क्लबका अध्यक्ष एसियाडमा कांस्य पदक विजेता बक्सर दीपक महर्जनले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ४ गरी ११ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९ र ७५ केजीमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ४८, ५१, ५४ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष महर्जनले बताए ।
श्री मच्छिन्द्रनाथ इँट उद्योगको मुख्य प्रायोजनमा हुने प्रतियोगिता अन्तर्राष्ट्रिय बक्सिङ महासंघ एआइबाको नियमअनुसार सञ्चालन हुनेछ । नेपालका २२, भारतका ११ र भुटानका ११ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँ उपविजेताले १० हजार र तेस्रो हुने दुई खेलाडीले जनही ५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको अनुमानित बजेट ३० लाख रहेको छ ।
प्रतिक्रिया