‘बाहिरबाट सामान ल्याएर बेच्ने कामले मुलुक बन्दैन’

‘बाहिरबाट सामान ल्याएर बेच्ने कामले मुलुक बन्दैन’


उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले समृद्ध मुलुक निर्माणका लागि उत्पादनमूलक उद्योगमा लगानी आवश्यक रहेको बताएका छन् ।

उद्योग व्यापार सङ्घ गोलबजारका निर्वाचित पदाधिकारीको पदस्थापन तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले व्यापारले मात्र देश समृद्ध नहुने भएकाले उत्पादनमूलक उद्योग सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । ‘बाहिरबाट सामान ल्याएर बेच्ने कामले मात्र मुलुक बन्दैन, आफैँले उत्पादन नगरेसम्म अवस्थामा फेरबदल आउँदैन्, उनले भने । उत्पादनमूलक उद्योग सञ्चालनका लागि सरकारले सहयोग गर्ने मन्त्री यादवले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सङ्घीयता अझै सङ्क्रमणकालीन अवस्थामा रहेको र कर्मचारीले सङ्घीयतालाई आत्मसात् गर्न नसकेको आरोप लगाए । प्रदेश नं २ मा दुई हजार १८१ कर्मचारीको आवश्यकता भए पनि अहिलेसम्म २५१ कर्मचारी मात्र कार्यरत रहेको उनले बताए ।