दुर्घटनामा परेको ट्रकधनी फरार, ज्यान गुमाएकाको आज सामूहिक दाहसंस्कार गरिँदै

दुर्घटनामा परेको ट्रकधनी फरार, ज्यान गुमाएकाको आज सामूहिक दाहसंस्कार गरिँदै


नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा गत शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी शनिबार आफन्तलाई जिम्मा लगाइएको छ ।

दुर्घटनामा ज्यान गुमाएका २० मध्ये १९ जनाको शव शनिबार घटनास्थलमा नै चिकित्सकको टोलीले परीक्षण गरेपश्चात आफन्तलाई जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दिएको जानकारीअनुसार दुर्घटनाका क्रममा घटनास्थलमा १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा घटनास्थल नजिकै रामतीमा ज्यान गुमाएका थप एकजना गरी १९ जनाको शव आफन्तलाई जिम्मा लगाइएको हो ।

दुर्घटनामा परी घाइते भएकामध्ये उपचारका क्रममा एक जनाको काठमाडौंमा मृत्यु भएकाले उनको शवसमेत नुवाकोट लगेर सामुहिक दाहसंस्कार गराइने बताइएको छ ।

दुर्घटनामा परेका शिखरबेँसीका १८ वर्षीय रितेश पण्डितको शनिबार नै अन्तिम संस्कार गरे पनि बाँकी सबैको बौद्धधर्म परम्परानुसार आज (आइतबार) सामूहिक अन्तिम संस्कार गर्न लागिएको हो ।

दुर्घटनामा एकै परिवारका पाँच जना परेका सुने लामा उनको भाइ लक्ष्मणको मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएर काठमाडौँमा उपचारारत् छन् । यसैगरी, टक्ले तामाङ उनको बुहारी बिबिमायाको दुर्घटनामा परी मृत्यु भएको छ भने बिबिमायाको नौ महिनाकी छोरी घाइते भएकाले काठमाडौंमा उपचाररत् छिन् ।

दुर्घटनामा घाइते भएका १५ जना घाइतेको काठमाडौँको शिक्षण अस्पताल, बिपी स्मृति अस्पताललगायतमा उपचार भइरहेको छ ।

दुप्चेश्वर गाँउपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपु भन्ने स्थानतर्फ गइरहेको बा३ख ३९१३ नंं. को मिनीट्रक शुक्रबार घ्याङडाँडा दुर्घटनामा भएको थियो । सिम्टाङस्थित आफन्त कहाँ आयोजित घेवामा सहभागी भएकासहित अन्य यात्रु बोकेको गाडी शुक्रबार साँझ ५ बजे घ्याङडाँडाको मोडमा उकालो नचढेपछि चालकले गाडी पछि हटाएर अघि बढाउने क्रममा दुर्घटना भएको थियोे ।

कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटनापश्चात पाँचसय मिटरभन्दा तल तादी खोलामा पुगेको थियो । दुर्घटनापश्चात गाडीका धनीसमेत रहेका चालक नुवाकोट महाकालीका रामभक्त थापा र सहचालक साने बुढाथोकी फरार रहेको प्रहरीले जनाएको छ ।

तस्बिर रासस