नेपालीसँग रहेका भारतीय नोट अब के हुन्छ त ?

नेपालीसँग रहेका भारतीय नोट अब के हुन्छ त ?


– छविलाल बगाले

२५ महिनाअघि भारतले नेपालमा नोटबन्दी लगायो । जसका कारण नेपाली बैंक र सर्वसाधारणसँग भएका भारतिय रुपैयाँ ‘खोस्टा’ बराबर नै भए । नेपाली अर्थतन्त्रमा समस्या परेको भन्दै नोट साट्न गरेको आग्रहलाई पनि भारतले अटेरी गरेपछि अन्ततः सरकारले नेपालमा एकसय दर बाहेक अन्य नोटहरुमा प्रतिबन्ध लगाएको छ ।

अब नेपालमा २ हजार, ५ सय र दुई सय दरका भारतीय नोट चलाउन नपाइने भएको छ । नेपाल सरकारले नै यि दरका भारतीय नोटलाई अवैध घोषणा गर्दै प्रतिबन्ध समेत लगाएको छ । सन् २०१६ नोभेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दीको घोषणा गरे । यो सँगै हाल भारतले दुई सय, पाँच सय दरका नोट पनि प्रचलनमा ल्यायो । नेपाली बैंकमा मौज्दात र सर्वसाधारण नेपालीसँग रहेका भारतीय दरका पाँच सय र हजारका नोट खोस्टोमा परिणत भए । तर भारतमा नोटबन्दी भएको करिव २५ महिनापछि नेपालमा भारतले ल्याएको नयाँ नोटलाई गैरकानुनी घोषित गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदको निर्णय भन्दै २ हजार, ५ सय र दुई सयको नोट राख्नु र कारोबार गर्नु नेपालमा गैरकानुनी हुने दावी सञ्चार मन्त्री एवं नेपाल सरकारका प्रवक्ता बास्कोटा गर्छन् ।

नेपालमा भारतीय नोट सार्वजनिक रुपमा कारोवार गर्न प्रतिबन्ध छ । तर भारतसँगको खुला सीमा, नेपालीको प्रमुख रोजगारीको गन्तव्य भारत नै हुँदा प्रतिबन्धित नोटहरु पनि खुला रुपमा नेपाल भित्रिने गरेका छन् । खुला सीमा लगायतका कारण प्रतिवन्धित नोटहरु नेपाल आइरहेका छन् । तर पनि सरकारले एकसय दर बाहेकका भारतीय नोटहरु नेपाल नभित्र्याउने भन्दै सूचना जारी गर्ने निर्णय गरेको हो । अहिले राष्ट्र बैंकसँग मात्रै ४ करोड ८० लाख भारु थन्किएको छ । नेपाल सरकारले पटक–पटक भारतीय पक्षसँग आग्रह गर्दा पनि नोट नसाटिएपछि सरकार नोटमा प्रतिबन्ध लगाउन बाध्य भएको अर्थशास्त्री नरबहादुर थापाको भनाई छ । ‘आर्थिक बर्ष ०७४-७५ मा नेपालमा भित्रिएको ७ सय ५५ अर्ब बिप्रेषणमध्ये १ सय १ अर्ब भारतबाटै भित्रिने गरेको तथ्यांक केन्द्रीय बैंकसँग छ ।’ उनले भने, ‘५६ अर्ब बैंकिङ च्यानल र ४५ अर्ब भारु अनौपचारिक क्षेत्रबाट भित्रिएको छ । यसकारण नेपालीसँग धेरै भारतीय दरका नोट छन् ।’

भारतले लगाएको नोटबन्दीका कारण सर्वसाधारण नेपालीसँग रहेका नोटहरु कति बेकार भए भने कति नेपालीहरु आफैले सीमा क्षेत्रमा पुगेर सस्तोमा बेच्न बाध्य भए । नेपालमा रहेका नोट साट्न अटेर गरेको भारतसँग नेपालमा केही असन्ुतष्टी पनि छ । तर भारतले भुटानमा रहेको १ अर्ब २० करोड बराबरको भारतीय नोट गत वर्षको मे महिनामा साटेको थियो ।