– इन्द्रबहादुर बराल
यतिबेला नेपालमा १८औँ सार्क शिखर सम्मेलन भइरहेको छ । सम्पूर्ण देशवासी एकजुट हुन सके मात्र यो अवसरलाई नेपालीका लागि सुखद बनाउन सकिन्छ । यस कोणबाट भन्नुपर्दा सार्कराष्ट्रका राष्ट्रप्रमुख एवम् सरकारप्रमुखका सामुन्ने नेपालीको एकता प्रदर्शन गर्ने सुवर्ण अवसर पनि हो यो । नेपाल–भारत द्विपक्षीय सम्बन्धको विशिष्ट अवस्था भएर होला, सार्कका एजेण्डामा भन्दा छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको चासो र चर्चाले तमाम मिडियामा बढी नै स्थान पाएको छ । तथापि, एउटै सङ्गठनमा आबद्ध मुलुकहरू र तिनका प्रतिनिधि पात्रहरू आयोजक राष्ट्र नेपालको निमित्त समान नै हुन्, यसमा तलमाथिको व्यवहार हुने कुरै भएन । केवल प्रधानमन्त्री मोदीबाट हुने भनिएको जनकपुर, लुम्बिनी र मुक्तिनाथ दर्शनको विषयलाई लिएर विभिन्न चर्चा चलेकोले नेपालमा सार्क सम्मेलन हुन लागेको हो कि फगत मोदीजीको आगमन हुन लागेको भन्ने सवाल झिनो रूपमा उठ्न पुगेको हो ।
सार्कका सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध र यस शिखर सम्मेलनबाट नेपालले प्राप्त गर्न सक्ने उपलब्धिबारे त्यति महत्वका साथ सर्वसाधारणले बुझ्ने गरी छलफल भएको अनुभूति हुन सकेको छैन । व्यवहारमा ठूलो–सानो, बढी वा कम शक्तिशाली भन्ने मनोविज्ञानबाट हामी मुक्त हुन सकेनौँ भने सार्कले कल्पना गरेका उद्देश्यमाथि तुषारापात हुन सक्छ । त्यसकारण पनि सार्क सम्मेलनको आयोजक राष्ट्र र त्यस राष्ट्रका सचेत एवम् जागरुक नागरिक उत्तिकै गम्भीर र जिम्मेवार हुनु आवश्यक छ । यहाँ सरकार वा प्रतिपक्ष मात्रै होइन, समाजका हरेक क्षेत्र र वर्ग पनि आफ्नो कर्तव्य सम्झेर त्यत्तिकै गम्भीरतापूर्वक प्रस्तुत हुनु वाञ्छनीय छ ।
अतिथि देवो भवः भन्ने हाम्रो संस्कारजन्य मान्यतालाई मनन गर्दै हरनेपाली अतिथि सत्कारको निम्ति एकताबद्ध भएर तम्तयार हुनुपर्छ । १८औँ शिखर सम्मेलनले यस दक्षिण एसियाका राष्ट्र–राष्ट्रबीचको सम्बन्धलाई अभेद्य बनाउँदै साझा समस्यासँग जुध्ने साझा कार्यक्रममार्फत बृहत् एकतालाई अझ उन्नत र परिष्कृत गर्दै लैजाने वातवारण सिर्जना गराउनु अहम् उद्देश्य हुनुपर्छ । आपसी सहयोग, सद्भाव, शान्ति र समृद्धि नै सार्क राष्ट्रहरूको चाहना हो । यस्तो पुनीत कार्यमा सरकारको मात्रै मुख ताकेर बस्ने होइन, सकिन्छ भने समाजका सबै तह र तप्काबाट पनि यथोचित योगदान हुन सके सुनमाथि सुगन्ध हुन्छ । आफ्नो राजनीतिक वा व्यक्तिगत स्वार्थ सिद्ध गर्ने मौका यही हो भन्दै अर्को पक्षका कमी–कमजोरीलाई पहाड बनाएर प्रस्तुत गर्नेभन्दा आन्तरिक असहमति वा विवादलाई पन्छाउँदै वा तत्कालका लागि थाती राख्दै नेपालीको एकता प्रदर्शन गर्नु यतिबेलाको आवश्यकता हो । त्यसले नेपालीको मान र शान विदेशी पाहुनाको अगाडि उँचो तुल्याउनेमा विश्वस्त हुन सकिन्छ ।
सार्कका सदस्य राष्ट्रबाहेकका अन्य छिमेकी मुलुकले समेत नेपालमा भइरहेको सार्क सम्मेलनमाथि अत्यन्तै चासो दिइरहेको विश्लेषण गरिँदै छ । यस घडीमा स्वतः नेपालीको परीक्षण पनि हँुदै छ । यस्तो परीक्षणको समयमा नेपाल सरकार, राजनीतिक दल र तिनका नेता एवम् नागरिक समाजका प्रबुद्धवर्ग खरो उत्रन सक्नुपर्छ । यहीँनेर वास्तविक नेपालीको पहिचान पनि लुकेको छ भन्दा अत्युक्ति नहोला । आफ्नो व्यवहार र आचरणले त्यो लुकेको पहिचानलाई उजागर गर्न सक्नुपर्छ, न कि एक–अर्कालाई हिलो छ्यापाछ्याप गरेर तुष्टि लिनु यतिबेला कसैको निम्ति हितकर हुन सक्छ । हुन त नेपाल अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको रस्साकस्सीमा भिडिरहेको अवस्थाका कारण केही तिक्ततापूर्ण अवस्थाबाट गुज्रिराखेको छ । तथापि, घ्यू निकाल्ने बेलामा दही मन्थन भएजस्तै आजको अवस्था मनन गरी नौनी निस्केपछि एकै डल्लो परेजस्तै नेपाली नागरिक पनि संविधान बनेपछि एकढिक्का हुनेमा ढुक्क छौँ । वास्तवमा भन्नुपर्दा हामी नेपाली न जातीय दृष्टिले न धर्मकै कारणले अलग रहन सक्छौँ । सबै जातजाति, भाषाभाषी, धर्म र संस्कृतिको एउटै रूप हो नेपाली । यस्तो एउटै नेपाली रूप हुनु नेपालको विशिष्टता पनि हो । कसैका इच्छा–आकाङ्क्षाका कारण नेपालको अखण्डतामा विखण्डन आउन सक्दैन, न त कुनै दूरासयकै कारण जातीय सद्भाव खल्बलिन सक्छ । यही नेपालीको असली धर्म हो, जसलाई सनातन धर्म भनिदिँदा फरक नपर्ला ।
अन्त्यमा, मोदीको काठमाडौंबाहिरको यात्रा रद्द भएबाट केही तरङ्ग उठे पनि सार्क सम्मेलनको आयोजक राष्ट्र नेपाल अब व्यक्तिविशेषको बारेमा केन्द्रित हुनुभन्दा सम्मेलनलाई सार्थक र सफल बनाउनेतिर लाग्नुपर्छ । आयोजक राष्ट्रले यथासम्भव धेरैभन्दा धेरै अवसर छोप्ने र मुलुकको हितमा लाभ लिने प्रयास गर्नु अनुचित हुँदैन । ‘पाहुना आउलान् र दालभात खाउँला’ भन्ने उखान चरितार्थ पार्नेतिर नलागी शिखर सम्मेलनको खास एजेण्डा र उद्देश्यमा केन्द्रित रहनु नै अबको धर्म र कर्म पनि हो । यस सम्मेलनले साना–ठूला सबै राष्ट्रबाट थप सहयोग र सद्भाव प्राप्त गर्ने प्रयत्न गर्नु नेपालको हितमा हुनेछ । यही दिशामा मुलुकको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्छ र त्यस कार्यमा समाजका सबै तह–तप्काले पनि आ–आफ्नो स्थानबाट योगदान पु-याउनुपर्छ ।
प्रतिक्रिया