भारतीय नोटमाथिको प्रतिबन्ध : सीमा क्षेत्रमा ‘ब्ल्याक मेलिङ’

भारतीय नोटमाथिको प्रतिबन्ध : सीमा क्षेत्रमा ‘ब्ल्याक मेलिङ’


  • छविलाल बगाले

सरकारले एकसय दरभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा भएका भारतीय नोटको अवस्थाबारे बहस सुरु भएको छ । भारतले नोटबन्दी गर्दा नेपालमा ‘खोस्टो’ बनेर बसेको भारतीय नोटको टुंगो नलाग्दै सरकारको पछिल्लो निर्णयले नेपाली अर्थतन्त्रमै प्रभाव पर्ने विश्लेषण समेत हुन थालेका छन् ।

गत साता सरकारले एकसय दरभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगायो । एकातिर भारतमा कार्यरत नेपालीले कमाएको रकम कसरी नेपाल लैजाने र अर्कोतिर नेपालीसँग भएको भारतीय नोट कसरी सटही गर्ने भन्ने चिन्ता शुरु भएको छ । यसअघि भारतले नोटबन्दी गर्दा नेपालमा पनि ५ सय र एकहजार दरका पुराना भारतीय नोट थियो । सरकारको आग्रहमा भारतले आफ्ना ५ सय र एक हजार रुपैयाँको नोट सटहीमा वास्ता नगरेपछि पछिल्लो निर्णय आएको कतिपयको ठम्याई छ ।

स्पष्ट छ कि, नोटबन्दीको निर्णयबाट नेपाललाई नोक्सानी भएको थियो । पछिल्लो समय आयातलाई निरुत्साहित गर्न अर्थमन्त्री युवराज खतिवडाले विभिन्न उपकरण प्रयोग गरेका छन् । यसमध्ये नोटबन्दी पनि एक कारण हुन सक्छ । विशेषगरी सीमा क्षेत्रका इलाकामा रहेका नेपाली र भारतीय व्यापारीलाई यसले समस्या पर्न सक्छ । नोटबन्दीको निर्णयले दुवै देशका कामदारलाई समस्या हुनसक्ने अर्थशास्त्री नरबहादुर थापाको भनाई छ । उनलले एक अर्काको देशमा नोकरी वा व्यापार गर्दै आइरहेकाहरु प्रत्यक्ष मारमा परेको बताए ।

सबैभन्दा रोचक कुरा त हालसम्म नेपालले नोटबन्दी गर्नुपरेको कारण खुलाएको छैन् । नेपालको तर्फबाट जुन आधिकारिक सूचना जारी गरिएको छ, त्यसमा पनि कुनै कारण बताइएको छैन । यस्तो अवस्थामा प्रश्न उठ्न सक्छ कि, नेपाललाई अचानक यस्तो निर्णयको जरुरत किन पऱ्यो त ? सरकारले नोटबन्दी गरेसँगै सिमावर्ती क्षेत्रमा रुपैयाँको ‘ब्ल्याकमेलिङ’ शुरु भएको महेन्द्रनगरका व्यवसायी टेकराज भारतीको गुनासो छ ।

नेपाल सरकारको यो निर्णय कत्तिको व्यवहारिक होला भन्ने विषय यतिबेला बहसमा आएको छ । उद्योगी व्यवसायी पनि सरकारी कदमप्रति त्यति सन्तुष्ट भने छैनन् । नेपाल उद्योग वाणिज्य महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी यस विषयमा अर्थमन्त्रालय र राष्ट्र बैंकसँग छलफल गर्न आवश्यक भएको बताउँछन् ।

भारतको फेमा कानुन अर्थात् फरेन एक्सचेञ्ज म्यानेजमेन्ट एक्टका अनुसार, नेपाल आउने व्यक्तिले आफ्नो साथमा २५ हजार रुपैयाँ नगदसम्म लिएर जान सक्नेछन् । नेपाल राष्ट्र बैंकका अनुसार कुल विप्रेषणको साढे १३ प्रतिशत विप्रेषण भारतबाट नेपाल भित्रिने गरेको छ ।