झन्डा दिवसको दिन धमलाले फहराए हङकङमा राष्ट्रिय झन्डा

झन्डा दिवसको दिन धमलाले फहराए हङकङमा राष्ट्रिय झन्डा


पुस १ गते आइतबार झन्डा दिवसको दिन नेपाली खेलाडी शंकर धमला हङकङमा नेपालको राष्ट्रिय झन्डा फहराउन सफल भएका छन् । धमलाले हङकङमा आयोजित मुइथाई च्याम्पियनसिपमा स्वर्ण पदक जितेर नेपालको झन्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन सफल भएका हुन् । धमलाले अन्तर्राष्ट्रिय भिडन्तमा जितेको यो पहिलो स्वर्ण पदक हो ।

६७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा धमलाले हङकङका खेलाडी लिनका किडलाई पराजित गरेर स्वर्ण पदक जितेका हुन् । तीन राउन्डसम्म चलेको भिडन्तमा धमलाले तीनै राउन्डमा हङकङका खेलाडीलाई पछि पारेका थिए । निकै रोमाञ्चक र सनसनीपूर्ण खेलमा धमलाको हौसला बढाउन मकाउ र हङकङबाट थुप्रै शुभचिन्तक नेपाली खेलस्थलमा पुगेका थिए ।

बालाजु कराते डो प्रतिष्ठान नेपालका ब्ल्याकबेल्ट खेलाडी धमलाले हङकङमा स्वर्ण पदक जित्न सफल भएपछि घटना र विचारसँग खुसी प्रकट गरेका छन् । उनले नेपालको झन्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन पाएकोमा गौरवको अनुभूति भएको बताएका छन् । ‘यो मेरो सपना थियो, अहिले पूरा भएको छ, म अत्यन्तै खुसी छु,’ धमलाले भने ।

अन्तर्राष्ट्रिस्तरमा नेपालको मान, सम्मान र प्रतिष्ठा बढाउन सफल भएपछि धमला निकै भावुक बनेका थिए । यो सफलता प्राप्त गरेपछि धमलाले आफ्नो मिसनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद प्रकट गरेका छन् । ‘उहाँहरूको सहयोग नभएको भए म यो मिसनमा सफल हुने थिइनँ, यसको लागि आफूलाई निरन्तर रूपमा प्रोत्साहित र सहयोग गर्दै आएका सेक्युरिटी गार्डका भाइस प्रेसिडेन्ट टोनी रायनलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु,’ धमलाले भने ।

त्यस्तै यो अभियानलाई सफल पार्न युद्धस्तरमा लागेका डाइरेक्टर, म्यानेजर, सुपरभाइजर, सेक्युरिटी अफिसर, ट्रेनर, धर्मपत्नी सुष्मा धमला र शुुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हृदयदेखि धन्यवाद प्रकट गरेका छन् । उनीहरूको अथक प्रयासकै कारण आफूले यो सफलता पाएको धमलाको कथन थियो ।

हङकङमा भएको मुइथाई च्याम्पियनसिपमा धमलाले स्वर्ण पदक जितेपछि बालाजु कराते डो प्रतिष्ठान नेपालका अध्यक्ष ध्रुवविक्रम मल्लले बधाई दिएका छन् । धमला आफ्नो डोजोबाट उत्पादित ब्ल्याकबेल्ट खेलाडी भएको भन्दै उसले सफलताले आफ्नो शिर उचो भएको बताए । साथै धमला निकै मिहिनेती करातेको उत्कृष्ट खेलाडी भएको पनि बताए ।