गँजडीले कुटपिट गर्दा पालेको मृत्यु

गँजडीले कुटपिट गर्दा पालेको मृत्यु


सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षागार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ ।

गाउँपालिका कार्यालयको चौरमा लागूऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान रोक लगाएको रिसमा युवाले कुटपिट गर्दा मिश्र शनिबार राति घाइते भएका थिए । घाइते मिश्रको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा गएराति मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मिश्रका श्रीमती, दुई वर्षीय छोरा र वृद्ध आमाबुबा छन् । मिश्रको मृत्युसँगै आक्रोशित स्थानीयवासीले आज राजविराज–कुनौली सडकखण्ड अवरुद्ध पारेका छन् । प्रदर्शनकारीले तत्काल अपराधीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

प्रहरीले कुटपिट गर्ने व्यक्तिको खोजतलास तथा अन्य अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । मिश्रको हत्यामा संलग्न व्यक्तिको पहिचान भइसकेकाले अविलम्ब पक्राउ पर्ने प्रहरी उपरीक्षक विष्टले विश्वास व्यक्त गरे ।