सार्क, पार्क र डार्क

सार्क, पार्क र डार्क


– विनोद त्रिपाठी

मंगलबार बिहान बबरमहल चोकमा हुत्तिँदै सडक पार गर्ने एकजना बटुवालाई रोक्दै प्रहरीले भन्यो, ‘बाटो बन्द छ भन्ने थाहा छैन, किन कुदेको ?’ जेब्राक्रस छ, यहाँबाट काट्न हुन्न र ? प्रत्युत्तरमा बटुवा भन्दै थियो । पाइँदैन, प्रहरी रन्कँदै बोलिरहेको थियो । करिब ८ बजेको दृश्य हो यो ।

सार्क मुलुकको १८औँ शिखर सम्मेलनमा भाग लिन आउने श्रीलंकाका राष्ट्रपति महेन्दा राजापाक्षेको तालिका थियो साढे नौ बजे । त्यसपछि अन्य देशका आउने तालिका सार्क तयारी समितिले सार्वजनिक गरेको थियो । तर, सार्कको नाममा नेपाल बन्दभन्दा कहालीलाग्दो सुरक्षा तयारी देख्दा लाग्थ्यो– हामी कति कमजोर छौँ, र वर्षभरि कति तल्लोस्तरको दैनिकी व्यतीत गरिरहेछौँ भन्ने प्रमाणित गरिरहेको थियो ।

भर्खर जी– २० राष्ट्रहरूको सम्मेलन अस्ट्रेलियमा सम्पन्न भएको विश्वले देखेको छ । विश्वका सबैभन्दा शक्तिशाली मुलुकका राष्ट्रप्रमुखहरूको त्यो जमघट हाम्रा लागि सपनाजस्तो लाग्छ । वर्षभरि नै सुरक्ष्ाँ, सफाइ राख्ने अस्ट्रेलियालाई जी– २० मुलुकका प्रमुखलाई सुरक्षा दिन महाभारत महसुस गरेको समाचार कतै देख्न पाइएन । नागरिकको सामान्य जनजीवनलाई कुनै पत्तो नभई जी– २० बैठक सम्पन्न भइसकेको छ । तर, विश्वकै कमजोर आर्थिक अवस्थाले गुज्रेका दक्षिण एसियाली मुलुकको अवस्था कति दयनीय छ भन्ने यो सार्क भेलामा धेरै बुझ्न सकिन्छ ।

कुनै पनि मुलुकले राजधानीलाई व्यवस्थित गर्न हरतरहले प्रयास गरेका हुन्छन् । सडक र पार्कबिनाको सहर डार्क (अँध्यारो) हुन्छ भन्ने दुनियाँले बुझेका छन् । नियमित विनियोजित बजेटलाई मात्र प्रयोग गर्दा जुनसुकै स्थानलाई व्यवस्थित गर्न सकिन्छ । गरिबी र पछौटेपन हरेक मुलुकले कुनै न कुनै रूपमा व्यहोरेकै हुन्छन् । ठूला–ठूला भूकम्प आउँदा जापानले पनि वैदेशिक सहयोग मागेका घटना सार्वजनिक भइरहेका छन् । महिनौँसम्म जङ्गलमा लागेको आगलागी निभाउन नसक्दा शक्तिशाली मुलुक अमेरिका आच्छुआच्छु पर्छ । बेरोजगारको समस्याले बेलायत पेरोलिएको धेरै वर्ष भइसक्यो । जनसङ्ख्याको उच्चतम बिन्दुलाई रोक्न चीनको प्रयास निरर्थक सावित भइरहेको छ । यस्ताखालका प्राकृतिक वा कृत्रिम समस्या हरेक देशले भोगे पनि आफ्नो देशको राजधानीलाई व्यवस्थित गर्न सबैले ध्यान दिएकै छन् । चाहे त्यो अफ्रिकाका अति गरिब देश हुन् वा पूर्वीएसियाका नवउपनिवेशबाट गुज्रिएका मुलुक हुन् । उपनिवेशबाट थलिएको मुलुकमा राजधानी कहिले कुन सहरमा सर्छ कहिले कुन कुनामा सर्छ पत्तो हुँदैन । कुनै बेला कलकत्ता राजधानी भएको भारतले धेरैपछि दिल्ली राजधानी पाएको हो । तर, हामीले तत्कालको नेपाल भनिने यो काठमाडौं उपत्यका राजधानी मानेको चार सय वर्ष भइसक्यो । तर, यसको सुधारमा पछिल्ला वर्ष ध्यान दिन नसक्दा हालको सार्कमा भएको तयारी भ्याइनभ्याई स्थिति भोग्नुपरेको छ ।

सडक, ढल, बिजुली, पार्क, फोहोर राख्ने ठाउँ आदि हामीलाई नै चाहिने कुरा हुन् । यो चाहे सार्क होस् वा नहोस् निर्माणकार्य भइरहनुपर्दथ्यो । कुनै पनि सम्मेलन, भेला हुँदा अल्पकालीन काम मात्र गरिन्छ । रंगरोगन, फूलमालाको सजावट आदि । तर, यहाँ स्थायी प्रकृतिका काम पनि एक साताभित्र गरिएको देख्दा लाग्थ्यो, सार्क सम्मेलन सकिएपछि काठमाडौं जेसुकै होस् । सडकभरि खाल्डा परे पनि परोस्, धुलो भए पनि होस्, माइक्रोमा सास्ती भोगे पनि भोगून् । यही सोचका साथ हतारमा थियो नेपाल सरकार । सिंहदरबारअगाडिको फराकिलो पेटी निर्माणकार्य एक साताभित्रै सकियो । सिमेन्ट जमेर त्यसको डिजाइन गर्न मात्रै कम्तीमा १५ दिन लाग्छ । दुई–तीन दिनभित्रै हतारमा बिछ्याइएका ब्लक कति समय टिक्लान्– सहजै अनुमान गर्न सकिन्छ ।

सार्क समयसम्म आन्तरिक तथा बाह्य उडान बन्द गरिए । उपत्यकाभित्र सार्वजनिक बिदा दिइयो । सबै सवारीलाई चल्न निषेध गरियो । नागरिकको जनजीवनलाई घरभित्रै कैद गरियो । बिरामी घरदेखि विमानस्थलसम्म अलपत्र परेका खबर बाहिर आए । नेपाल सरकारले यो सबै किन ग-यो ? स्पष्ट छ– सुरक्षा दिन, सम्मान गर्न र सत्कारमा कमी नहोस् भनेर । हामी आमनेपाली यसलाई स्वागत गर्छौं, हाम्रो देशमा भएको ऐतिहासिक यो सार्क सम्मेलन सफल हुनुपर्छ र हाम्रा अतिथिहरू खुसीले स्वदेश फर्कुन् । तर, यस्तै प्रकृतिका सम्मेलन हुँदा भविष्यमा दीर्घकालीन सोचले आयोजना ल्याउने हो भने यो हतारो पर्दैनथ्यो ।

राजधानीका मूल सडक सधैँ सफा राख्न दीर्घकालीन आयोजना लागू गर्ने । थप जनशक्ति र साधन जुटाएर सरसफाइलाई वर्षभरि नियमित गर्ने । भत्किएका र भित्री सडकमा निर्माणकार्य तुरुन्त सुरु गर्ने । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण व्यवस्थित गर्न तदारुकता देखाउने । सर्वसाधारणको आवातजावत क्षेत्रमा हाल भइरहेको भद्रगोललाई व्यवस्थापन मिलाई पैदल हिँड्ने स्थान तोक्ने । यी र यस्ता अति सामान्य काम गर्न ठूलो बजेटको आवश्यकता पर्दैन । यसलाई मात्र व्यवस्थापन गर्दा पुग्छ भन्ने हेक्का सरकारले राख्नुपर्दैन ?

सार्क राष्ट्रबीच हरेक सम्मेलनमा भारतबाहेकका मुलुकलाई आर्थिक मुद्दा महत्वपूर्ण हुने गर्छ । तर, भारतलाई सुरक्षाको चिन्ता हुने गरेको छ । उसको छिमेकी मुलुकबाट हुने सुरक्षा खतरातर्फ जहिले पनि भारतले मुख्य मुद्दा बनाउँदै आएको छ । मोदीले नेपाल आउनुपूर्व प्रेस विज्ञप्तिमार्फत पनि दक्षिण एसियाको सुरक्षा चिन्ता व्यक्त गरेका छन् । यो उनले दक्षिण एसियाको भने पनि भारतलाई पर्नसक्ने सुरक्षा खतरातर्फ संवेदनशील बनेको देखिन्छ । तर, हामीले हाम्रा मुद्दालाई सार्कमा राख्ने तयारीसँगै सम्मेलन सफल बनाउन यो हम्मेहम्मे देख्दा लाग्छ– हामी धेरै कमजोर सावित भइरहेका छौँ । आयात–निर्यात, गरिबी, शिक्षा, सुरक्षा, विकास, अन्तरदेशीय सम्बन्ध, राजनीतिक स्थायित्व आदि मुद्दा सार्कमा उठ्ने मुख्य विषय बनेका छन् ।

भर्खर शान्ति कायम भएका नेपाल र श्रीलंकालाई राजनीतिक स्थायित्वका मुद्दाले विशेष महत्व राख्छ । सिमाना र शक्तिका विषयमा भारत र पाकिस्तान बोल्नेछन् । गरिबी र धर्मका नाममा हुने अपराधका विषयमा बंगलादेश बोल्नेछ । अफगानिस्तान आफ्नै आन्तरिक आतङ्कवादसँग जुधिरहेको छ । साना मुलुक भुटान र माल्दिभ्सले विकासबारे प्रश्न राख्नेछन् । तर, नेपालका लागि सन्तुलन विदेश नीतिका कारण सबै विषय उति नै प्राथमिक विषय हुन् । हाम्रो सम्बन्ध सार्क राष्ट्रसँग मात्र छैन, झन्डै आधा सिमाना जोडिएको चीन उति नै महत्वको मुलुक हो । सार्कमा उठेका विषय चीनले पनि नजिकबाट नियाल्नेछ । एसियाका दुई शक्ति मुलुक भारत र चीनसँगको हाम्रो सम्बन्ध सार्कमा उठ्ने विषयले प्रभावित बनाउनेछ । तर, हामी कति अँध्यारो (डार्क) जीवन व्यतीत गरिरहेछौँ, अहिलेको सार्क सम्मेलनको तयारीले त्यो पाठ सिकाइरहेको छ ।