दोस्रो जेकेएनएसकेआई अन्तर्राष्ट्रिय करातेका पदकविजेता खेलाडीलाई देउराली क्लब र श्री भीमसेनगोला माविले पुस २ गते सोमबार नगदसहित सम्मान गरेका छन् ।
भारतको पुनेमा नोभेम्बर ३० देखि डिसेम्बर २ तारिखसम्म भएको प्रतियोगितामा राहुल राई, अनिल रोका, महिमा राई र इर्फान वस्ताले दोहोरो स्वर्ण जितेका थिए । नवीन थापामगर र करण चौधरीले समान १ स्वर्ण, १ रजत, रिकेश परियारले १ स्वर्ण, १ कांस्य, सोनु गुरुङले २ रजत, सिमोन्सा श्रेष्ठले १ रजत, १ कांस्य तथा कञ्चन नेपालीले १ कांस्य जितेका थिए । पदकविजेता अधिकांश खेलाडी सामुदायिक विद्यालय भीमसेनगोलामा अध्ययनरत विद्यार्थी हुन् ।
सोही अवसरमा टोलीका प्रमुख प्रशिक्षक १०औँ सागका स्वर्णधारी कुशल श्रेष्ठ, प्रशिक्षक अमिर राणा, व्यवस्थापक राजेश जोशी तथा निर्णायकद्वय तुलसी महर्जन र तारा गुरुङलाई पनि सम्मान गरिएको थियो ।
प्रदेश सांसदद्वय गणेश दुलाल र राजेन्द्र गुरुङ, देउरालीका अध्यक्ष अर्जुन रानामगर, भीमसेनगोला माविका प्रिन्सिपल गणेशकुमार राई, देउराली क्लबका उपाध्यक्ष लीलेश्वर प्रधानलगायतले एक कार्यक्रमबीच सम्मान गरे । सोही टोलीलाई अघिल्लो दिन कर्मा तान्तेई ज्ञानछेन रोयल सेतो गुम्बाले पनि आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा नगदसहित सम्मान गरेको प्रमुख प्रशिक्षक श्रेष्ठले जनाएका छन् ।
प्रतिक्रिया