पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य घटाएको हो ।
निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य क्रमशः घटिरहेकाले तथा डलरको तुलनामा नेपाली मुद्रा पनि बलियो हुँदै गएकाले मूल्य घटाइएको हो । उनले स्वचालित मूल्य प्रणालीका आधारमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको बताए । नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय १० रुपैयाँ भएको छ । यसअघि एक लिटर पेट्रोलको खुद्रा मूल्य १ सय १२ रुपैयाँ थियो । यस्तै, डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर ९७ रुपैयाँ भएको छ ।
डिजेल र मट्टीतेलको यसअघिको खुद्रा बिक्री मूल्य प्रतिलिटर ९९ रुपैयाँ थियो । आन्तरिक तथा अन्तराष्ट्रिय हवाई इन्धन तथा खाना पकाउने एलपि ग्यासको मूल्य यथावत राखिएकोे छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य स्थिर रहेकाले अब नियमितरुपमा स्वचालित मूल्य लागु गर्ने निगमले जनाएको छ ।
पछिल्लो मूल्य समायोजनले भारतको रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोल प्रतिलिटर १०.९९ रुपैयाँ सस्तो छ । डिजेल र मट्टीतेल पनि लिटरमा १३.२६ रुपैयाँ सस्तो छ । नयाँ मूल्य लागुभएपछि निगमलाई पेट्रोलमा प्रतिलिटर १३.७१ रुपैयाँ, डिजेलमा ९.८५ रुपैयाँ नाफा छ । खाना पकाउने एलपि ग्यासमा प्रतिसिलिन्डर २८४.८३ रुपैयाँ घाटा हुने निगमको दाबी छ । नाफा र घाटाको समिश्रण गर्दा निगमले २ सातामा ८८ करोड २२ लाख रुपैयाँ नाफा कमाउनेछ ।
प्रतिक्रिया