विराटनगर भन्सारले उठायो पाँच महिनामा १६ अर्ब राजस्व

विराटनगर भन्सारले उठायो पाँच महिनामा १६ अर्ब राजस्व


विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पाँच महिनामा १६ अर्ब ४० करोड ५२ लाख १८ हजार रुपैयाँ राजस्व उठाएको छ । भन्सार कार्यालयले दिएको जानकारीअुनसार सो अवधिमा १६ अर्ब १६ करोड २१ लाख ३० हजार राजस्व असुल गर्ने लक्ष्यमा २४ करोड ३० लाख ८८ हजार रुपैयाँ बढी राजस्व संकलन भएको हो ।

आर्थिक वर्ष ०७४–७५ मा सो अवधिमा ११ अर्ब ३२ करोड ३२ लाख ४९ हजार रुपैयाँ राजस्व असुली भएको थियो भने यस वर्ष सो अवधिमा ४४.८८ प्रतिशत राजस्व बढी उठेको कार्यालयका प्रमुख मिमांश अधिकारीले जानकारी दिए । उनले राजस्व चुहावट हुन नदिन विशेष सतर्कता अपनाएको र भन्सार जाँचलाई पनि कडाइ गरेकाले राजस्वमा उल्लेख्य वृद्धि भएको उल्लेख गरे ।

संकलित राजस्वमा साउनमा दुई अर्ब ९९ करोड ७५ लाख ३६ हजार, भदौमा तीन अर्ब सात करोड ९० लाख नौ हजार, असोजमा तीन अर्ब ९७ करोड ६४ लाख ५० हजार, कात्तिकमा तीन अर्ब १५ करोड ८२ लाख ७० हजार र मंसिरमा तीन अर्ब १९ करोड ३९ लाख ५३ हजार रुपैयाँ रहेको छ । विराटनगर भन्सारका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा ६८ अर्ब २० करोड ७९ लाख ७४ हजार रुपैयाँको सामान पैठारी र आठ अर्ब १९ करोड ६१ लाख ७९ हजार रुपैयाँको सामान निकासी भएको छ ।

सो अवधिमा गएको वर्षमा रु. ५२ अर्ब ४५ करोड तीन लाखको सामान पैठारी र रु. नौ अर्ब छ करोड ९८ लाख ३६ हजारको मालसामान निकासी भएको थियो । तुलनात्मक आधारमा गएको वर्षभन्दा यस वर्ष सो अवधिमा पैठारी रु. १५ अर्ब ७५ करोड ७६ लाख ७४ हजारले बढी हो भने निकासीमा रु. ८७ करोड ३६ लाख ५७ हजारले कम भएको देखिएको छ ।