केही दिनयता भारतको आन्ध्र प्रदेशमा आएको चक्रवातका कारण कृषि सामग्री कम्पनी लिमिटेडको ३० हजार मेट्रिक टन रासायनिक मल विशाखापट्टनम बन्दरगाहमा रोकिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका अनुसार विगत केही दिनदेखि भारतको आन्ध्र प्रदेशमा आएको चक्रवातको कारण विशाखापट्टनम बन्दरगाहमा रहेको रेल्वे लिकमा अवरोध भएपछि युरिया मल २५ हजार मेट्रिक टन तथा पोटास पाँच हजार मेट्रिक टन रोकिन गएको हो ।
विशाखापट्टनम बन्दरगाहबाट रेलमार्ग हुँदै उक्त रासायनिक मल वीरगञ्जको अलौस्थित एकीकृत जाँच चौकी (आईसीपी)मा आउनुपर्ने लिमिटेडका क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बताए ।
उनले अन्य रासायनिक मल मौज्दात अवस्थामा रहे पनि पोटासको अभाव भएकाले केही मात्रामा भए पनि गहुँ खेती प्रभावित हुने उल्लेख गरे । कम्पनीले पर्सामा रहेको आफ्ना १०० डिलरमार्फत चालू आवको साउनदेखि मंसिरसम्ममा युरिया सात हजार ४४६ मेट्रिक टन, डिएपी चार हजार ६२५ मेट्रिक टन तथा पोटास ११ मेट्रिक टन बिक्री गरेको छ ।
प्रतिक्रिया