१५ हजार मेगावाटको लक्ष्यलाई निजी क्षेत्रको साथ

१५ हजार मेगावाटको लक्ष्यलाई निजी क्षेत्रको साथ


–छविलाल बगाले
आर्थिक वर्ष २०८४/८५ भित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य छ । यही लक्ष्यलाई पछ्याउँदै सरकारले आयोजनासँग विद्युत खरिद सम्झौता (पिपिए) को कोटामा पनि बृद्धि गरेको हो । पिपिएमा सरकारी लचकतालाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक बर्षको पाँच महिनामा मात्रै ५२ आयोजनासँग पिपिए गरेको छ ।

१५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको महत्वकांक्षी योजना छ । यही योजनालाई साथ दिन निजी क्षेत्रका जलविद्युत प्रवद्र्धकहरु पनि कस्सिएका छन् । चालु आर्थिक वर्षको पाँच महिनामा नेपाल विद्युत प्राधिकरणले विभिन्न ५२ जलविद्युत आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । पिपिए भएका ती आयोजनाको कुल जडित क्षमता एक हजार ५१ मेगावाट रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीको भनाई छ । उनका अनुसार अहिले पिपिए भई लगानी जोहो भएका १ सय १४ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । यस्तै, १ हजार मेगावाटका आयोजना अबको एकदेखि डेढ वर्षमा सम्पन्न हुने गरी निर्माण भइरहेका छन् ।

कुन महिनामा कति पिपिए ?
साउन महिना– १६ आयोजना
भदौ महिना– १३ आयोजना
असोज महिना– ११ आयोजना
कात्तिक महिना– ३ आयोजना
मङ्सिर महिना– ९ आयोजना

प्राधिकरणले सम्झौता गरेका सबै आयोजना निजी क्षेत्रले लगानीमा निर्माण गरिन लागेको हो । पछिल्लो समय प्राधिकरणले विद्युत खरिद सम्झौतामा पुनरावलोकन गरेको छ । सोही आधारमा पाँच हजार २ सय ५० मेगावाट क्षमतासम्म नदी प्रवाही आयोजनाको सम्झौता हुनेछ । यस्तै थप ७० मेगावाट क्षमताका १२ आयोजनासँग निकट भविष्यमा नै सम्झौता गर्ने प्राधिकरणको तयारी छ । सरकारले आयोजनाको पिपिए गर्दा ‘टेक अर पे’ मा गर्ने निर्णय गरेपछि निजी क्षेत्र पनि उत्साहित छन् ।

प्रणालीमा कति विद्युत छ त ?
नेपाल विद्युत प्राधिकरण– पाँच हजार ५ सय ४५ मेगावाट घण्टा
निजी क्षेत्र– चार हजार ९ सय ६७ मेगावाट घण्टा
भारतबाट आयात– आठ हजार ८ सय ४३ मेगावाट घण्टा
कूल माग–१९ हजार ३ सय ५५ मेगावाट घण्टा

आर्थिक वर्ष २०८४/८५ सम्ममा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई आधार मान्दै ५ हजार २ सय ५० मेगावाटसम्म नदी प्रवाही प्रकृतिका आयोजनासँग सोही आधारमा सम्झौता हुनेछ । यस्तै चार हजार ५ सय मेगावाटसम्मका अर्धजलाशययुक्त प्रकृतिका आयोजनाको विद्युत खरिद सम्झौतासमेत ‘टेक अर पे’ गरिने प्राधिकरणले प्रवक्ता अधिकारीको भनाई छ ।

निजि क्षेत्रका आयोजना कुन कुन चरणमा छन् ?
वित्तीय व्यवस्थापन भई निर्माणको चरणमा– दुई हजार ५ सय १ मेगावाट
वित्तीय व्यवस्थापनको चरणमा– दुई हजार ५ सय ८१ मेगावाट
निजि क्षेत्रका ७६ आयोजनाबाट–५ सय २० मेगावाट विद्युत् उत्पादन

प्राधिकरणको केन्द्रीय प्रणालीमा एक मेगावाटभन्दा माथिका ७४ आयोजनाबाट एक हजार तीन मेगावाट विद्युत् जोडिएको छ । यस्तै, एक मेगावाट क्षमताभन्दा कमका १५ आयोजनाबाट ११ दशमलब २४ मेगावाट विद्युत् प्रणालीमा छन् । सरकारले निजी क्षेत्रलाई एकसाथ लिएर अघि बढ्ने हो भने सरकारी लक्ष्य पूरा हुने पक्का छ ।