नेपाली काङ्ग्रेस र वर्तमान

नेपाली काङ्ग्रेस र वर्तमान


नेपाली जनताको अधिकार स्थापना गर्न संरक्षण र समृद्ध नेपाल निर्माण गर्ने महान् उद्देश्य साथ २००३ सालमा नेपाली काङ्ग्रेसको स्थापना भएको हो । प्रातःस्मरणीय बीपी कोइराला, सूवर्ण समशेर, गणेशमान जी, किसुन जी, सूर्यप्रसाद जी लगायत बनारसमा अध्ययन गर्ने हजारौँ नेपाली विद्यार्थीहरूको साझा प्रयासबाट सुरु भएको नेपाली काङ्ग्रेस निर्माण गर्ने प्रयास ०६ सालमा सम्पन्न भयो । ०७ साल कार्तिक २६ गते राणा शासन विरुद्ध ससक्त आन्दोलन भयो । ०७ साल फागुन ७ गते जनताको अधिकार व्यक्ति व्यक्तिमा सार्वभौम अधिकार कायम रहने प्रजातन्त्रको स्थापना भयो । पहिलो पटक नेपाल ले राष्ट्रको हैसियत प्राप्त गरे ।

नेपालीहरू सबैले सार्वभौम सत्ता सम्पन्न नागरिकको हैसियत प्राप्त गरे । सबैलाई बराबरीको हैसियत प्राप्त भयो । नेपाली काङ्ग्रेस र नेपाली जनता पर्यायवाची बन्न पुगे । स्वतन्त्रतापछि सबै नेपालीमा, ब्यक्ति-ब्यक्तिमा महत्वाकाङ्क्षा बढ्दै गयो । ब्यक्ति-ब्यक्तिलाई स्वतन्त्र बनाउन नेतृत्व गरेको काङ्ग्रेस र काङ्ग्रेसलाई नेतृत्व प्रदान गर्ने सहमति जनाएका जनताहरूको दबाब नेताहरूमाथि प्रत्यक्ष बन्यो । जिम्मेवारी बढ्दै गयो । सदियौँ दासत्वमा रहेको शासन व्यवस्थालाई प्रजातान्त्रिक व्यवस्थामा बदल्नु चुनौतीपूर्ण थियो तर खुला समाजलाई प्रजातन्त्रमा ब्यक्तिको सार्वभौमसत्ताको बोध गराएर राष्ट्रप्रति, प्राप्त प्रजातान्त्रिक व्यवस्थाप्रति जिम्मेवार बनाउने प्रशिक्षित युवाहरू सामेल भएको संगठनको आवश्यकता परिपूर्ति गर्ने काम चुनौतिपूर्ण थियो । त्यसैले स्वतन्त्रता प्राप्तिपछि बनेको राजा काङ्ग्रेस सरकारबाट पार्टीलाई हटाएर संगठनका लागि बी.पी. देशदौडाहामा निस्कनुभयो । यसक्रममा देशको वास्तविकता बुझ्ने अवसर प्राप्त भयो यो देश दौडाहामा संगठन, संगठन एक मात्र आवश्यकता परिपूर्ति गर्ने आधार खडा गर्ने निर्णय बी.पी.ले लिनुभयो । यो अत्यन्तै दुरगामी कदम हुन पुग्यो ।

नौ सालमा दैनन्दिनी तयार पारेर बी.पी. संगठनमा जुट्नुभयो । जनतामा ठूलो भरोसासहित परिवर्तनबाट प्राप्त अवसरहरू जनताका लागि देशका लागि उपलब्ध भए । ०७ सालको परिवर्तनले प्राप्त गरेको प्रजातन्त्रमा व्यक्ति-व्यक्तिको शासन स्थापना हुन्छ त्यसका लागि नागरिक अधिकारको सम्वर्द्धन गर्नका लागि व्यक्ति-व्यक्तिसँग भएको अपार क्षमतालाई सुदृढ पार्न आर्थिक उन्नतिको आधार तयार पार्नुपर्छ संगठनलाई भन्ने दृढतासाथ पार्टीलाई समाजवादी बनाउने गरी ०१२ सालको वीरगन्ज महाधिवेशनले निर्णय लियो । अब उप्रान्त राष्ट्रियता, प्रजातन्त्र, समाजवाद धार्मिक स्वतन्त्रता र सुशासन भन्ने पार्टीका आधारभूत सिद्धान्तका माध्यमबाट पार्टी संगठन विस्तार गरिने एतिहासिक निर्णय भएको हो । यिनै सिद्धान्तहरू पार्टी-संगठनका सिद्धान्त हुन्, नीति निर्णयका लागि आदर्श हुन् ।

व्यक्ति-व्यक्तिलाई सम्पन्न बनाउने नागरिकको अधिकारलाई सम्पन्न बनाइराख्ने गरी सञ्चालन गरिने सबै कार्यक्रमहरू समाजवादी कार्यक्रम हुन् भन्ने आधारमा बी.पी.को नेतृत्वमा सञ्चालित सरकारका कार्यक्रमहरू सञ्चालित भएका थिए, त्यही सरकारको दैनन्दिनी आज हामीले पार्टीको विरासत गौरव भन्ने गरेका छौं । दुर्भाग्य ! ०१७ साल पुष १ गते राजा महेन्द्रले सैनिक ‘कु’बाट प्रजातान्त्रिक हकहरू निलम्बन गरे, सार्वभौम सत्ता सम्पन्न जनता पुनः ‘रैती’ बन्न पुगे । दुई तिहाईको सरकार अपदस्य गरी प्रजातन्त्रको अपहरण भएको हो ।

नेपाली काङ्ग्रेस निरन्तर जनताका नैसर्गिक हकहरू पुनःस्थापना गर्न संघर्ष गरिरह्यो । ०४६ सालको आन्दोलनबाट पुनः प्रजातान्त्रिक व्यवस्था स्थापना भयो । किसुनजीको नेतृत्वमा बदलिएका सारा परिस्थितिलाई सम्बोधन हुने गरी संविधान निर्माण गरेर निर्वाचन सम्पन्न भयो । निर्वाचित सरकार काङ्ग्रेसकै नेतृत्वमा सञ्चालन भएको थियो । प्रजातान्त्रिक व्यवस्थामा जनताको शासन जनताका लागि जनताद्वारा भन्ने प्रत्यक्ष अनुभूति भइरहेको थियो । नेपाली काङ्ग्रेस पार्टी स्थापना काललेखि हाम्रा नेताहरूले जुन प्रकारले प्रजातान्त्रिक आचरण गर्नुभयो सबै जनता काङ्ग्रेसका साथ देश निर्माण गर्ने कार्यमा सँगै हिँड्न तयार भए । प्रजातान्त्रिक पद्धतिअनुसार शासन व्यवस्था सञ्चालन भयो । अधिकारसम्पन्न प्रत्येक नागरिकको हक सुरक्षा गर्ने व्यक्ति-व्यक्तिलाई सम्पन्न बनाउने, आर्थिक उदारीकरणको नीति लिइयो । तल्लो वर्गलाई माथि उठाउने उपल्लो वर्ग, यथास्थितिमा राख्ने कार्ययोजनाहरू कार्यन्यवयन गरिए । विस्तारै उपलब्धि प्राप्त भैरहेको थियो । गिरीजाप्रसादको प्रधानमन्त्रित्व कालमा पार्टीका विरासत राष्ट्रिय प्रजातन्त्र समाजवाद, धार्मिक स्वतन्त्रताका जगमा पार्टी संगठन विस्तार गर्ने र सरकारका तर्फबाट देश र जनताका जीवनमा परिवर्तन ल्याउने कार्यक्रमहरू, समाजवादी कार्यक्रमहरू सञ्चालन भइरहेका थिए । यसले देश, विदेशका हाम्रा मित्रहरूलाई राम्रो प्रभाव पाऱ्यो । तर पार्टीभित्र उत्पन्न असीमित महत्वाकांक्षाको व्यवस्था हुन नसक्दा अनुशासन कायम हुन सकेनन् ।

०५१ साल आयो । प्रजातन्त्रका विरोधि शक्तिका संगठनहरू विस्तार हुन थाले । आखिर व्यक्तिहिंसा र हत्याका घटनाहरू थपिँदै गए, नागरिकका अधिकारहरू कुण्ठित हुन थाले, राजा ज्ञानेन्द्रले जनताका प्रजातान्त्रिक हकहरू पुनः कुण्ठित पारे, देशको राजापनि प्रधानमन्त्री पनि आफैं बने । राष्ट्रमा पुनः दुर्गति निम्त्याए । त्यसको विरुद्ध ०६१ साल फागुन ७ गते नेपाली काङ्ग्रेसको नेतृत्व जनतका अधिकारहरू पुनः बहाली गर्न, हिंसा, आतंक श्रृङ्खलावद्ध घटनाहरूबाट देशलाई बचाउन पुनः प्रजातान्त्रिक बहुदलिय व्यवस्था स्थापना गर्ने, आन्दोलन गर्ने निर्णयका साथ हामी सडकमा ओर्लियौं ।

०६२ जेठमा नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले पनि आन्दोलनमा सहभागी भयो । ०६२ मार्ग ७ गते १२बुँदे सहमतिका साथ माओवादी पनि आन्दोलनमा सहभागी भयो । काङ्ग्रेसको नेतृत्वमा चलेको आन्दोलनले निर्णायक भूमिका लिन पुग्यो । संसद् पुनःस्थापना भयो । पुनःस्थापित संसद्ले खोसिएका नागरिक अधिकारहरू पुनःस्थापित गऱ्यो । जनताका निर्वाचित प्रतिनिधिहरूद्वारा संविधान निर्माण गर्ने समेतका निर्णयहरू लियो । प्रजातान्त्रिक पद्धतिलाई बल पुऱ्याउने गरी नीति नियम कानुन बनाएर दैनन्दिन शासन, प्रशासन चलाउन अन्तरिम संविधान लागु गरियो । प्रजातन्त्रमा सबैको जीत हुन्छ भन्ने मान्यता नेपालमा पनि स्थापित गरियो । राजसंस्था खारेज भयो, शान्तिपूर्ण तरिकाबाट जनताको शासन जनताका प्रतिनिधिमार्फत सञ्चालन गर्नेगरी सत्ता हस्तान्तरण भयो ।

नेपाली काङ्ग्रेसको नेतृत्वमा यी उपलब्धिहरूको व्यवस्थापन क्रममा माओवादीहरू नेकपा एमालेसहित राष्ट्रिय स्तरमा क्रियाशील अन्य पार्टीहरूका प्रतिनिधिहरूको परामर्शमा साशन व्यवस्था चल्ने भयो । प्रजातन्त्रको विकल्प भनेर लोकतन्त्र, धार्मिक स्वतन्त्रताको विकल्प भनेर निरपेक्ष, प्रजातन्त्रको जगमा व्यक्तिको सार्वभौमलाई स्वीकार गरी नागरिकहरू सुदृढ गर्ने गरी व्यक्ति सम्पन्न बनाउने कार्यक्रम समाजवादका ठाउँमा समाजवादउन्मुख भनेर आखिर साम्यवादमा लैजाने घुमाउरो प्रावधान संविधानमा लेखिन पुग्यो । परिवर्तनले ल्याएको उत्साहप्रद वातावरणमा प्रजातान्त्रिक व्यवस्था सञ्चालनका नेपाली काङ्ग्रेसले स्थापनाकालदेखि संरक्षण सम्वर्द्धन गर्दै आएका आदर्शहरू प्रजातन्त्रमा जनता सर्वेसर्वा हुन्छन् अथवा मालिक हुन्छन्, कार्यकर्ता/नेताहरू जनताका सेवक हुन्छन्, ठीक विपरीत साम्यवादमा जनता रैती हुन्छन्, कार्यकर्ता दास हुन्छन्, नेताहरू मालिक हुन्छन् । यो सास्वत सत्यका विपरित संविधानमा प्रावधान रहन गयो । यो एक एतिहासिक भुल हुन गयो । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । नेपाली काङ्ग्रेस यही अडानमा क्रियशील भएको हो । तर, अन्य पार्टीहरू प्रजातन्त्रको विकल्प ‘लोकतन्त्र’ मान्दछन् । ‘प्रजातन्त्र’ मान्दैनन् । ‘जय नेपाल’सम्म पनि भन्दैनन् ।

यही फरक नेपाली काङ्ग्रेस र वामपन्थी हौँ भन्ने अन्य पार्टीबीचको अन्तर हो भन्ने कुरा गुमराहमा परेको छ । अब नेपाली काङ्ग्रेस जनताको पार्टी बन्न सक्ने भएन । काङ्ग्रेस, एमाले, माओवादीलगायत प्रजातन्त्रको विकल्पमा लोकतन्त्र भन्ने गर्ने भएपछि जनताको नैसर्गिक अधिकार कहाँ खोज्न जाने ? स्वतन्त्र नागरिकहरूलाई सम्पन्नता दिलाउन सरकारको नीति कार्यक्रम चाहिन्छ, कम्युनिज्मउन्मुख वातावरण तयार पार्न ल्याएका नीति कार्यक्रमहरूबाट जनता अलग्गिन्छन्, यो विश्वव्यापी सत्यका विपरीत निर्वाचनका नाउमा निर्वाचन, जनतालाई रैती बनाउने गरी आउने कार्यक्रमहरू विस्तारै झाँगिदै आएका छन् । देश आजको अवस्थामा आइपुग्नुको प्रमुख कारण यही हो ।

प्रजातन्त्रका लागि जातियता अर्को भयानक खतरा हो । आज जातियताको चर्चा चलिरहेको छ, धर्मका नाउँमा, जातका नाउँमा, हुने-नहुनेका नाउँमा समाज कमजोर बनेको छ । विकास गाउँ-गाउँबाट सञ्चालित हुनुपर्दछ, भइरहेको छ, तर जनता विस्थापित भइरहेको छन्, युवा पुस्ता अवसरको खोजीमा आफ्नो व्यक्तिगत क्षमता बढाउन विदेशिएको छ । प्रजातन्त्र नमान्नेहरू संगठित हुँदैछन् । देशी-विदेशी शक्तिकेन्द्रहरू हाम्रो शासन व्यवस्थामा अवान्छित तवरले क्रियशील रहनेगरेका छन् । धर्मको नाउँमा संवेदनशीलता खल्बल्याइएको छ । भ्रष्ट प्रवृत्तिहरू व्यक्तिको अनिवार्य आचरणमा बदलिएको छ । आध्यात्मिक साधन सञ्चालन हुनुपर्ने मठ-मन्दिर, मस्जिद, गिर्जाघरहरू सम्प्रदायिक बन्दैछन् । समाजवादउन्मुख भन्ने नीतिले गर्दा विकाशका लागि देशी-विदेशी लगानीकर्ताहरू नेपालका खास-खास मित्रहरू नेपालको विकाशमा लगानी गर्न सशंकित हुँदै गएका छन् । रोजगारी महँगो भएको छ । प्रजातान्त्रिक शासन व्यवस्था भएको मुलुकमा भएका सम्भावनाहरू उपयोग गरिरहेको हाम्रो अव्यस्त जनशक्ति नेपाल फर्कनमा यिनै कुराहरू तगारो बन्दै गएका छन् । ०७ सालमा हामीले जनतको बलमा स्थापना गरेको प्रजातन्त्र यसरी अहिले घेराबन्दीमा परेको छ ।

यसलाई बचाउन नेपाली काङ्ग्रेसले विगतमा भएका ऐतिहासिक भुलहरू सच्चाएर व्यक्तिकेन्द्रीत शासन व्यवस्था, व्यक्ति सम्पन्न भएको समाजहरूको सम्पन्न नेपाल निर्माण गर्न, प्रजातन्त्रलाई कमजोर बनाउने जातियता, धार्मिक साम्प्रदायिकताका विरुद्ध लागिपर्नुपर्छ । प्रजातन्त्रमा सबै बराबर हुन्छन् र, देश समृद्ध बनाउन व्यक्ति सम्पन्न बनाउनु पर्दछ । व्यक्ति-व्यक्तिको क्षमता पूरापुर उपयोग हुनेगरी अवसरहरू प्रदान गर्नुपर्दछ । नेपालको आफ्नो महत्व बोध हनसक्ने गरी शिक्षानीति तयार परिनुपर्छ । प्राकृतिक, सांस्कृतिक, आध्यात्मिक हाम्रा मठ-मन्दिरहरूलाई साधना केन्द्र, दीक्षाकेन्द्र बनाइनुपर्छ । नैतिक, प्राविधिक शिक्षामा आधारित पाठ्यपुस्तक तयार पारेर राम, सीता, कृष्ण राधा, शिव पार्वती, पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, बुद्ध, अहमद अर्था स्लाम, क्राइष्टबारे अध्ययन गरी आफूले छानेका सम्प्रदायमा सामेल हुन पाउनेगरी धार्मिक स्वतन्त्रता स्थापित गरिनु पर्दछ । अतः नेपाली काङ्ग्रेसले आफ्नो विधानमा नियमावलीका कार्यक्रमहरूमा लोकतन्त्रलाई हटाइ ‘प्रजातन्त्र’, निरपेक्ष हटाएर ‘धार्मिक स्वतन्त्रता’, समाजवादउन्मुख समाज निर्माण गर्ने भनिएकोमा ‘समाजवादी समाज’ जहाँ प्रजातन्त्रको जगमा आर्थिक कार्यक्रमहरू व्यक्ति सम्पन्न बनाउने नीति लिइन्छ, त्यसलाई समावेश गरिनु पर्दछ ।

त्यसैले संविधानबाट संविधान लागु गर्दाका सहयात्री पार्टीहरूसँग बृहत राष्ट्रहितका लागि विचारविमर्श, गम्भीर छलफलबाट संविधान संशोधनको नेतृत्व नेपाली काङ्ग्रेसले लिनुपर्छ । पार्टी बन्छ, जनता सार्वभौम हुन्छन्, सार्वभौम जनता मालिक बन्छन्, साशन-सुशासनमा रहने सबै प्रतिनिधिहरू सेवक बनेर सेवा गर्नेछन्, भ्रष्टाचार गर्नेहरू दण्डित हुनेछन् । स्वदेशी तथा विदेशी हस्तक्षेप समाप्त हुँदै जानेछ । सबै हाम्रा मित्र हुनेछन्, मित्रहरू सँगसँगै मिलेर समस्या समाधान गर्न सकिनेछ । सुरक्षाको अनुभूति हुँदै जानेछ । भ्रष्टचार निर्मूल हुनेछ, प्रत्येक नागरिक सम्पन्न बन्नेछन् । देश सम्पन्न बन्नेछ, अन्तर्राष्ट्रिय जगतमा नेपालको शान बढ्दै जानेछ, नेपाली हुँ भनेर गौरव गर्न सक्नेछौँ । सबै नेपालीहरू आफूले आर्जेका क्षमता, साधन र कार्यकुशलता उपयोग गरी देश बनाउन नेपाल फर्कनेछन् । हाम्रा बस्तुहरूले अन्तर्राष्ट्रिय बजार पाउनेछन् । विश्व मानव समुदायमा स्वास्थ्य पहुँचाउन नेपाल सक्षम हुनेछ । नेपाललाई प्रजातान्त्रिक समाजवादी, धार्मिक स्वतन्त्रता भएको मुलुक भनेर गिनिज बुकमा नाम लेखाउन सक्नेछौँ ।

अन्त्यमा, समय धेरै छैन, सुधारिन सके यो समस्याको निकास दिन काङ्ग्रेसले नै सक्छ । नसुधारिएको काङ्ग्रेस आफ्नै दलदलमा फस्नेमात्र नभइ आफूसँगै ०७ सालदेखि आजैको इतिहास देश हाम्रो गौरव हाम्रो अस्तित्वमाथि परिआउने संकटमा टुलुटुलु चिहाएर बस्न बाध्य हुनेछ । समय छँदै सबैको ध्यान आकृष्ट गराउदछु । अस्तु । जय नेपाल ।

(लेखक नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सभापति हुन् ।)