– छविलाल बगाले
सरकारी आयको प्रमुख स्रोत नै राजस्व हो । सरकारले आफ्नो आय बढाउन राजस्व संकलनका लागि विभिन्न हत्कण्डा पनि अपनाएको छ । चालु आर्थिक बर्षको ५ महिनासम्म आइपुग्दा भन्सार विन्दुहरुबाट मात्रै १ खर्ब ५९ अर्ब राजस्व संकलन भएको छ । जुन सरकारी लक्ष्य अनुरुप नै छ ।
चालु आर्थिक वर्षको ५ महिनामा सरकारी राजस्व १ खर्ब ५८ अर्ब ५७ करोड संकलन भएको छ । जुन लक्ष्यको ९९ दशमलव ४८ प्रतिशत हो । सरकारले मंसीर महिनासम्म १ खर्ब ५९ अर्ब ४० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । सबै भन्सार विन्दुमा राजस्व संकलन उत्साहजनक भएकोले मंसीरसम्मको प्रगति शतप्रतिशत भएको भन्सार विभागको दावी छ ।
कुन महिनमा कति राजस्व संकलन ?

अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यअनुसारको असुली अधिकांश महिनामा हुन सकेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक बर्षको असोज महिनामा लक्ष्यको झण्डै दोब्बर राजस्व संकलन भएको छ । सरकारले असोज महिनामा २९ अर्ब ३६ करोडको लक्ष्य लिएपनि राजस्व असुली भने ४० अर्ब ८२ करोड संकलन भएको हो । ठूला चाडबाडका कारण यो अवधीमा राजस्व संकलनमा बृद्धि भएको हो । सरकारले राजस्व बृद्धिका लागि भन्सार विन्दुहरुमा सुधारका कामहरु अघि बढाएकोले पनि लक्ष्य अनुरुपकै काम भएको विभागको ठम्याई छ । विभागले अहिले पाँचौं चरणको भन्सार सुधार तथा आधुनिकिकरण कार्ययोजना समेत लागु गरेको जनाएको छ । २०१७ देखि २०२१ सम्मको चारबर्षे कार्ययोजना लागु भएकोले पनि भन्सार विन्दुमा हुने चोरी पैठारी र राजस्व चुहावटमा गिरावट आएको विभागका प्रवक्ता शिव भण्डारीको दावी छ ।
चालु आर्थिक बर्षमा भन्सार बिन्दुबाट मात्रै ४ सय १८ अर्ब राजस्व संकलन गर्ने सरकारी लक्ष्य छ । अघिल्लो आर्थिक बर्षमा ३ सय २५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएपनि सरकारले ३ सय १६ अर्ब मात्रै संकलन गर्न सक्यो । यतिखेर सरकारको ध्यान पनि कसरी राजस्व संकलनलाई उत्साहजनक बनाउने भन्ने छ । सरकारले बजेटमार्फत राजस्वबाट ८ खर्ब ३१ अर्ब राजस्व संकलन गर्ने घोषणा गरेको थियो । नयाँ सरकार निर्माणअघि पनि राजस्व असुली लक्ष्यअनुसार हुन सकिरहेको थिएन । अर्थ मन्त्रालयको नेतृत्व डा. युवराज खतिवडाले सम्हालेलगत्तै भन्सारमा हुने अनियमित गतिविधिलाई कडाइ गरिरहेका छन् ।
प्रतिक्रिया