हाम्रो देशलाई राजा जनक, बुद्ध र वेदव्यासजस्ता ऋषिमुनि तथा विद्वान्हरूको देश भनिन्छ । तर, यो मुलुकको सञ्चालन विधि, कानुन, उदारता, बौद्धिकता वा कुनै व्यवस्थापनमा नभएर गुण्डागर्दीले नै चलेको अनुभूति हुँदै आएको छ । सत्ता पाउना साथ शासक आफूले जे पनि बोल्न या गर्न छुट पाएको ठान्दै सत्ताको गुण्डागर्दी गर्नु मल्लकालदेखि नै नेपाली शासकको नियति बनिआएको देखिन्छ । यो क्रम देशमा प्रजातन्त्र आएपछि त झन् व्याप्त भएको छ । केही शासकले आफू जनताप्रति उत्तरदायी भएको आभास दिलाउन नखोजेका होइनन्, तर तिनलाई उनकै साथी–सहयोगीहरूले टिक्न दिँदैनन् । चाहे मल्लकालमा, चाहे शाहकालमा, भीमसेन थापाको कालमा, राजेन्द्रको पालामा, राणाकालमा, पञ्चायतकालमा या प्रजातन्त्र आइसकेपछि पनि काङ्ग्रेस, एमाले, माओवादी जुनसुकै कालमा होस्, सत्ताको गुण्डागर्दीमा कुनै कमी आएको छैन । सत्ताको मात चढेपछि शासक र उसका आसेपासे सायद मैमत्त हुन्छन्, सब विधि, नियम कानुन बिर्सिन्छन्, आफूलाई सर्वोपरी ठान्छन् र नियम मिचेर जहाँ पायो मनपरी गर्छन् ।
हुन त राजनीतिमा साम, दाम, दण्ड, भेद सबै प्रकारका सिद्धान्त लागू होला, तर पनि त्यो कुनै नीतिगत उद्देश्यप्राप्तिका लागि हुनुपर्ने हो । तर, हाम्रो देशमा त्यो कुनै उद्देश्यका लागि नभई अरूलाई असफल बनाउन मात्र जबर्जस्तीपन र लिँडेढिपी प्रयोग हुने गरेको छ, जसमा कुनै तर्क र उद्देश्य हुँदैन । वास्तवमा यो गुण्डागर्दी हो । यस्ता व्यवहारले आमजनतालाई सधैँ थिचोमिचो (गुण्डागर्दी) गर्ने भएकाले शासक र टाठाबाठाका अन्यायबाट बचाउन समयानुसार नियमकानुन बन्दै गएका हुन्छन् । तर, यस्ता नियमकानुन पनि हाम्रो देशमा त आधिकारिक व्यक्तिहरूले आफ्नो सहुलियतमा मात्र व्याख्या र प्रयोग गर्दै आएका छन् । प्रधानमन्त्री सुशील कोइराला पनि यही कोटीमा पर्छन् । भन्नलाई त्यागी, इमानदार भन्ने गरे पनि नियमकानुन कुन चरीको नाम भनेर कहिल्यै सरोकार नराख्ने उनको प्रवृत्ति देखिँदै आएको छ ।
गिरिजाप्रसाद कोइरालाको शासनलाई बिहारीशैलीको शासन भन्नेहरूको कमी थिएन । उनी कृष्णप्रसाद भट्टराई र गणेशमानहरूलाई समेत पेलेरै सत्ता हत्याएका व्यक्ति हुन् । हुँदाहुँदा उनीहरू गिरिजाप्रसादकै कारण पार्टीबाटै अलग बसे, त्यो गुण्डागर्दी नभएर के थियो त ? नेताको त यो हविगत थियो भने जनताको के हालत थियो, सो जगजाहेर छ । गिरिजाप्रसाद कोइरालासँग शासन गर्ने शैली नभएकाले पञ्चायतको निरङ्कुश शासनको पदचिह्न नै उनले तात्कालिक स त्यति मात्र होइन सुशील कोइराला पार्टीभित्र पनि अति क्रूर नै ठहरिएका छन् । कोइराला परिवारबाट उनी कोइराला भएकै कारण प्रमको रूपमा अघि बढाइएका हुन् । उनले हिजो गिरिजाको पालामा गरेझैँ श्वेतआतङ्क फैलाउन आफ्ना स्वकीय सचिवमा अतिवादी सोच राख्ने आफ्ना भाञ्जा–भाञ्जी, कोइराला नै कोइराला राखेका छन् । उनी कुनै क्षमता भएर प्रधानमन्त्री बनेका पनि होइनन्, सो कुरा अहिले व्यवहारमा प्रमाणित हुँदै छ । अचेल उनको चाला हेर्दा कुकुरको सानो छाउरोले फनफन घुमी आफ्नै पुच्छर टोकेर रमाइलो गरेजस्तो आफ्नै शासनको भूमरीमा फनफनी घुम्दै छन् । कोइराला भएकैले ‘विशेष कोइराला परिवार’ र कोइराला पक्षकै काङ्ग्रेस अनुयायीहरूले भोलि अरू कोइरालालाई पनि यसैगरी एक–एक गरी प्रधानमन्त्री बनाउँदैै लगिने हिसाबले अगाडि बढाइएका व्यक्ति मात्र हुन् उनी । अब त हरेक नेपाली जनताले यो अवधारणाविरुद्ध सङ्घर्ष गरेर भारतमा गान्धी परिवारलाई जस्तै कोइराला परिवारलाई पनि जवाफ दिनुपर्ने भइसकेको छ । परिवारवादको विरोध गरिरहेका नेपाली जनताले अब नेताका परिवारलाई उठाउने पार्टीलाई नै भोट नहाल्ने अभियान नै सुरु गर्नुपर्ने भएको छ ।
यही पृष्ठभूमिमा जनताले पहिले माओवादीले नै गणतन्त्र र संविधानसभाको प्रस्ताव ल्याएकाले र उनीहरूको आतङ्कबाट ज्यान बचाउन पनि बाध्य भएर उनीहरूलाई मताधिकार दिएर संविधान बनाउन पठाएकोमा सत्तामा पुगेर पनि उनीहरू चन्दा, वाईसीएल, भ्रष्टाचार, फस्र्ट लेडीजस्ता आतङ्क मच्चाउने, मान्छे पिट्ने, धम्क्याउने र आमनागरिकको जीवन नै अस्तव्यस्त हुने कामहरू मात्र गरी वा सत्ताको गुण्डागर्दी गरी विधिको शासन र संविधान बनाउन असफल रहेकाले जनताले अहिले काङ्ग्रेसलाई संविधान बनाउन पठाएका हुन् । काङ्ग्रेसले सबैभन्दा लायकको व्यक्ति ठहराएका सुशील प्रधानमन्त्री भए । त्यस हिसाबले अब जीवनभरको रहर पूरा हुने गरी समाज सुधार वा हिजो गिरिजाको पालामा गर्न बाँकी थप श्वेत गुण्डागर्दी गरी समाजलाई अझै निसास्सिने बनाउने बलियो आधिकारिक म्यान्डेट सुशीललाई प्राप्त छ । उनको कारण देशमा अरू केही राम्रो भयो, घुसै नखाने भनिएका उनी प्रधानमन्त्री हुँदा पनि भ्रष्टाचार कम भयो, प्रशासन र सुरक्षा सुध्रियो, देशले प्रजातन्त्र पाएको महसुस भयो (उनका आफ्नै पीएहरू आज पनि सत्ताआतङ्क फैलाउँदै छन्) भन्ने केही सकारात्मक सङ्केत त सुन्न पाइएको छैन । तर पनि के–कति हिसाबले ‘यदि सहमति नभए प्रक्रियामा गएर भए पनि आगामी माघ ८ गते संविधान ल्याएरै छोड्ने’ प्रतिबद्धता रट्दै आएका प्रधानमन्त्रीले अहिले आधिकारिक रूपमा विमति राख्ने पार्टीहरूलाई पाखा लगाएर संविधान लागू गर्ने म्यान्डेट पाएका छन् । अथवा उनको रहरअनुसार निर्दोष आमजनतामाथि नभएर आधिकारिक रूपमै माओवादीजस्तो खतरनाक पार्टीमाथि नै गुण्डागर्दी गर्ने म्यान्डेट पाएकै छन् । प्रक्रिया पूरा गरेर उनले त्यस्ता पार्टीलाई निमिट्यान्नै पारिदिए पनि जनताले उनलाई उल्टो धन्यवाद दिई काङ्ग्रेसलाई पुनः निर्वाचित गरी सत्तामा पुराउनेछन्, होइन भने अर्को पार्टीलाई जनादेश दिनेछन् ।
अब प्रधानमन्त्रीकै भनाइमा पनि माघ ८ गते संविधान जारी गर्न उनले जुन प्रक्रिया अपनाए पनि जनतालाई मञ्जुर हुनैप-यो र हुन्छ । सदनमा माओवादीले अरू २२ अस्तित्वहीन स–साना पार्टी लिएर पाइलैपिच्छे कुरा फेरेर भ्रमको खेती गर्दै छ, रक्तपातको धम्की दिँदै छ, घुर्की लगाउँदै छ भने त्यो पनि गुण्डागर्दी नै हो । आज सुशील कोइराला ६६ प्रतिशतभन्दा बढी बहुमत प्राप्त शक्तिशाली सरकार बनाएका जनताको अधिकारप्राप्त व्यक्ति र जनताले पाखा लगाइदिएका माओवादीका अभिव्यक्ति र
क्रियाकलाप अस्वीकृत भएका छन् र उनीहरू माघ ८ गते संविधान घोषणा गर्न नदिने प्रपञ्च गर्दै छन् । अब नेपाली जनताले हेर्न बाँकी छ कसको गुण्डागर्दीले जित्ला ? म्यान्डेटप्राप्त सुशील कोइरालाको कि माओवादीहरूको ? माघ ८ गते संविधान जारी भए सुशीलको र जारी नभए प्रचण्डको जित पक्का हुनेछ । तर जे भए पनि जित त गुण्डागर्दीकै हुनेछ ।
प्रतिक्रिया