सौर्य उर्जा उत्पादनमा सरकारी चासो, ४३ मेगावाटको पीपीए

सौर्य उर्जा उत्पादनमा सरकारी चासो, ४३ मेगावाटको पीपीए


–छविलाल बगाले
नेपाल विद्युत प्राधिकरणले अहिलेसम्म ४३ मेगावाट क्षमताका सौर्य उर्जा उत्पादकसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । पछिल्लो समय सरकारले सौर्य उर्जालाई पनि प्राथमिकता दिएपछि प्रवद्र्धक पनि हौसिएका छन् ।

सरकारले १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको महत्वकांक्षी लक्ष्य लिएका बेला निजी क्षेत्रका सौर्य उर्जा उत्पादकले पनि चासो देखाउन थालेका हुन् । विद्युत विकास विभागले सौर्य उर्जा उत्पादन गर्न ४५ कम्पनीलाई अध्ययन अनुमति–पत्र दिएको छ । ति कम्पनीले करिब २ सय ३८ मेगावाट विद्युत उत्पादन गर्ने छन् ।

दुई बर्ष अघिदेखि सोलार कम्पनीलाई अनुमति–पत्र दिन सुरु गरेको विद्युत विकास विभागले ४५ मध्ये २० मेगावाटको एक, १० मेगावाटको ९ र बाँकी साना योजनालाई अनुमति–पत्र दिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि सौर्य उर्जा प्रवद्र्धनका लागि प्रत्येक प्रदेशसँग कार्यगत समझदारी (एमओयू) गरिसकेको छ । लक्ष्यअनुरुपको विद्युत उत्पादन गर्ने गरी सरकारले सौर्य उर्जालाई पनि सहज वातावरण बनाउन थालेको हो ।

जलविद्युत आयोजनामा धेरै लगानी आवश्यक पर्ने भएकाले निजी क्षेत्रका साना कम्पनी भने सौर्य उर्जामा केन्द्रित छन् । सौर्य उर्जा उत्पादनमा प्रति मेगावाट १० करोडसम्म लाग्छ । जवकी प्रति मेगावाट जलविद्युतका लागि १५ देखि १८ करोड खर्चिनु पर्छ । प्रशस्त सम्भावना भएपनि सरकारले नै प्रोत्साहित नगर्दा सार्य उर्जामा धेरै फड्को मार्न नसकिएको निजी क्षेत्रको भनाइ छ ।

हालसम्म सिंहदरबारमा १ मेगावाट र अन्य स्थानमा ६ सय किलोवाट मात्रै सौर्य उर्जा उत्पादन भएको छ ।