प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताएका छन् । मोरङ व्यापार संघ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को उदघाटन गर्दै राईले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउने पनि घोषणा गरे ।
मुख्यमन्त्री राईले निजी क्षेत्रको लगानीबिना विकास र समृद्धि खोज्न कठिनाइ हुने भन्दै विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन कार्य प्रारम्भ भइसकेको उल्लेख गरे । उनले विराट ट्रेड एक्स्पोले यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउन थप टेवा दिने चर्चा गर्दै व्यापार र उद्योगलाई बढावा दिने विराटनगर–किमाथाङ सडकको २३ किलोमिटर ट्र्याक खोल्न मात्र बाँकी रहेको जानकारी दिए ।
सो कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेका बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले राजनीतिक क्रान्तिपछि अब नैतिक क्रान्तिको आवश्यकता रहेको बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योग र व्यापारका क्षेत्रमा लागेका मानिसलाई हौसला प्रदान गर्न सरकारी कामकाज सरल हुनुपर्नेमा जोड दिए । मोरङ व्यापार संघका अध्यक्ष पवन शारदाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी मोती दुगडले पनि विराट एक्स्पोको महत्वमाथि प्रकाश पारे ।
प्रदेश १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरको शंकरपुरमार्ग विराट मेडिकल अस्पतालनजिकै पुस ६ देखि १४ गतेसम्म लाग्ने सो मेलामा प्रत्यक्ष रूपमा रु. २० करोडको आर्थिक कारोबार हुने नेपाल उद्योग वाणिज्य महासंघ मेला समितिका सदस्य ललित सिंकडाले जानकारी दिए ।
मेलामा नेपालका २०८ र भारत, पाकिस्तान र बंगलादेशका ४२ गरी २५० वटा स्टल छन् । दैनिक उपभोग्य सामग्री, मेसिनरी पार्टपुर्जा, गाडी, तयार पोसाक, छालाका सामान, हस्तकला वस्तु, साडी, कृषि सामग्री, मोबाइल र टेलिफोनजस्ता सामानको स्टल रहनेछ ।
प्रतिक्रिया