मन्त्रीले नेपालीमा बोल्दा…

मन्त्रीले नेपालीमा बोल्दा…


Babita_Basnetअङ्ग्रेजी भाषामा राम्रो दख्खल नहुनेहरूका लागि अन्तर्राष्ट्रिय फोरमहरूमा बोल्नु ठूलै सकसको कुरा हुन्छ । संयुक्त राष्ट्रसङ्घलगायतका कतिपय फोरममा नेपालको प्रतिनिधित्व गर्दै गएका सम्बन्धित मन्त्रीहरूले अङ्ग्रेजी बोल्दा कुरा एकातिर अर्थ अर्कैतिर पुगेका अनेक उदाहरण छन् । घटना त अरूहरूका पनि थुप्रै होलान् तर सार्वजनिक व्यक्तित्व त्यसमा पनि मुलुककै आधिकारिक प्रतिनिधित्व गर्ने भएकाले प्रायः मन्त्रीहरूका बारेमा अनेक टीका–टिप्पणी भइरहेका हुन्छन् । अङ्ग्रेजी भाषाको पृष्ठभूमि नभएकाहरूका लागि अङ्ग्रेजी नजान्नु ठूलो कुरा होइन । जुनसुकै होस् भाषा भनेको एक–अर्कालाई बुझाउने माध्यम मात्रै हो । विश्वका धेरै मुलुकमा अङ्ग्रेजी नजान्नुलाई अप्ठ्यारोको विषय मानिँदैन । तर, हामीकहाँ ‘हेर मन्त्री भएर के गर्नु दुई शब्द अङ्ग्रेजी बोल्न आउँदैन’ भन्ने टिप्पणी गरिन्छ र यो कुरा मन्त्रीमा मात्र होइन अरू पद या ओहोदामा रहेका मानिसमा पनि लागू हुन्छ । विभिन्न पेसा र व्यवसायमा रहेका मानिसहरूबीच पनि कहिलेकाहीँ कुराकानी सुनिन्छ, ‘उसको/त्यसको अङ्गे्रजी त खत्तम रै’छ नि…’ सम्बन्धित क्षेत्रमा एउटा मानिसको जीन्दगीभरिको लगानीलाई उसले अभिव्यक्त गर्न नसेकेको अङ्गे्रजी भाषासँग तुलना गरेर एकैछिनमा मेटाउन कोसिस गर्नेहरू पनि यदाकदा भेटिन्छन् । पहिला–पहिला त एक–अर्काबीच बोलिन्थ्यो मात्रै अहिले त सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै ‘हेर बेइज्जत’सम्म भन्ने गरिएको छ । राम्ररी अङ्ग्रेजी बुझ्ने कतिपय मानिसले पनि बोल्ने अभ्यास नभएका कारण बोल्न सकिरहेका हुँदैनन् ।
महिलाको अधिकारको क्षेत्रमा भएका उपलब्धि र हुन नसकेका कमी–कमजोरीलाई लिएर गत महिना बैंककमा भएको एसिया प्यासिफिक मन्त्रीस्तरीय समीक्षा कार्यक्रममा नेपालको तर्फबाट महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसी (सीता खड्का) ले नेपालीमा सम्बोधन गर्नुभयो । कतिपय भाषाका लागि समानान्तर रूपमा अनुवाद गर्ने व्यवस्था संयुक्त राष्ट्रसङ्घमा भए पनि विश्वका धेरै मुलुकका भाषा अनुवाद गर्ने व्यवस्था छैन । संयुक्त राष्ट्रसङ्घ भवन बैंककमा चिनियाँ, रसियन, थाईलगायतका केही भाषाको मात्र समानान्तर अनुवाद हुन्छ भने संयुक्त राष्ट्रसङ्घ न्युयोर्कमा स्पेनिस, फ्रेन्च, जर्मनलगायतका भाषाहरूमा बोल्नेका लागि अनुवादको व्यवस्था छ । राष्ट्रसङ्घ भवनका बैठकहल र कार्यक्रम स्थलहरूमा राखिएका कुर्सीका एकापट्टि कानमा राखेर सुन्ने इयरफोनको व्यवस्था हुन्छ । कसैले अनुवाद व्यवस्था भएका कुनै पनि भाषामा बोल्दा अङ्ग्रेजी तथा अनुवाद व्यवस्था भएका अन्य सबै भाषाहरूमा आउने हुँदा आफूले कुन भाषामा सुन्ने हो सुन्न सकिन्छ । नेपालीमा भाषा अनुवादको व्यवस्था नभएकाले मन्त्री केसीको भाषणको अनुवाद सरकारी प्रतिनिधिमण्डलमै सहभागी रहेकी बन्दना राणाले गरिन् । संयुक्त राष्ट्रसङ्घ भवन बैंककमा नेपालीमा कसैले दिएको भाषण शायद यो पहिलो नै होला । यसअघिका अङ्ग्रेजी भाषामा कम दख्खल राख्ने मन्त्रीहरूले सकिनसकी धेरै अप्ठ्यारो गरेर भए पनि अङ्ग्रजीमै बोल्ने गरेका थिए । यसो गर्दा केही वर्षअघि संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा एक पूर्वस्वास्थ्यराज्यमन्त्रीले ‘रिप्रोडक्टिभ हेल्थ’ (प्रजनन स्वास्थ) लाई ‘रिपब्लिक हेल्थ’ (गणतान्त्रिक स्वास्थ) भनी उच्चारण गरेकी थिइन् । उनले त्यतिबेला गरेको भाषणको भिडियो अहिले पनि युटुबमा पाइन्छ । अध्ययन गर्ने बेलामा माओवादी आन्दोलनमा होमिएकी उनले अङ्ग्रेजी नजान्नुमा उनको दोष थिएन, नजान्दानजान्दै जबर्जस्ती बोल्न खोज्नुचाहिँ गल्ती भयो । या वरिपरिका मानिसहरूले बाध्य पारेका पनि हुन सक्छन् । विगतमा कतिपय मन्त्रीहरूलाई नेपाली भाषामा अङ्ग्रेजी शब्दहरू लेखेर बोल्न दिएका अनुभवहरू पनि विभिन्न कालखण्डका अधिकारीहरूसँग छन् । तर, तिनले नेपालीमै बोले फरक नपर्ने सल्लाह–सुझाव भने मन्त्रीहरूलाई दिएको पाइँदैन ।
यसपटक कसैले सुझाव दिएर होइन मन्त्री आफँैले म नेपालीमा बोल्छु भन्नुभयो । आफ्नो भाषा बोल्नलाई के फरक पर्ला त, नजानी–नजानी सकसपूर्ण तरिकाले अनेक गल्तीहरू गर्दै अङ्ग्रेजीमा बोल्नुभन्दा म नेपालीमै बोल्छु भन्ने उहाँको दृढता आत्मविश्वासपूर्ण थियो । अङ्ग्रेजीमा भाषण बाँडिदिनुस, म नेपालीमै बोल्छु भनेर उहाँले भनेपछि नेपालीमा बोलेको कुरालाई अङ्ग्रेजीमा समानान्तर अनुवाद गर्न मिल्छ कि मिल्दैन ? भन्ने कुराको खोजी गरियो । आफ्नै अनुवादक राखेर गर्न सकिने भन्ने कुराको जानकारी पाएपछि उक्त सुविधा उपभोग गर्न पनि मिल्यो । नेपालले सम्बोधन गर्नुअघि नै छिमेकी मुलुकहरू भारत, बंगलादेशलगायतले सम्बोधन गरिसकेका थिए । नेपालकी मन्त्री पोडियममा गएर नेपालीमा बोल्न थालेपछि भाषाका कारण मानिसहरू एकैछिन अल्मलिए र वरपर हेर्दै कुर्सीमा भएको सुन्ने यन्त्र मिलाउन थाले । मन्त्रीले बडो आत्मविश्वासका साथ महिला अधिकारका क्षेत्रमा आफ्नो मुलुकले गरेका प्रगतिहरू बताउनुभयो । त्यसपछि चिनियाँ महिलामन्त्रीको सम्बोधन गर्ने पालो थियो, उनले त आफ्नो भाषामा बोल्ने नै भइन् । चिनियाँ भाषाको अनुवादका लागि प्रयः सबै अन्तर्राष्ट्रिय फोरमहरूमा व्यवस्था हुन्छ । भाषण सकेर फर्किएपछि नजिकैको सिटमा रहेकी बंगलादेशकी मन्त्रीले मन्त्री केसीसँग भनिछन्, ‘म पनि आफ्नै भाषामा बोल्नुपर्ने रै’छ । तपाईंले बोलेपछि मलाई रियलाइज भयो ।’ उनले अलि गाह्रै मानी–मानी बोलेकी थिइन् । भाषण सकिएपछिको कफी ब्रेकमा धेरैले मन्त्रीलाई बधाई दिए । लामो समय भूमिगत भएर राजनीतिक गतिविधिमा संलग्न हुनुभएकी मन्त्री केसीलाई अङ्ग्रेजी भाषामा कन्फिडेन्ट नहुनु सामान्य कुरा हो । के जान्ने के नजान्ने के सिक्ने के नसिक्ने मानिसलाई अवसरले निर्धारण गर्ने कुरा हो । को कस्तो पृष्ठभूमिमा हुर्कियो त्यसले तय गर्ने कुरा हो । सके र जानेदेखि अन्तर्राष्ट्रिय भाषामा कुराहरू अभिव्यक्त गर्नु राम्रो कुरा हो, तर सकिनसकी सकसपूर्ण तरिकाले आफ्नो कुरा राख्नुभन्दा यसप्रकारका फोरमहरूमा अरूका लागि अङ्ग्रेजीमा अनुवाद गरेर आफूले आफ्नै भाषामा बोल्दा आत्मसम्मानपूर्ण देखिन्छ, देखिँदोरहेछ । भाषा भन्ने कुरा माध्यम मात्रै हो । विश्वका धेरै मुलुकका नागरिकले अङ्गे्रजी नबोल्ने मात्र होइन बुझ्नसम्म बुझ्दैनन्, चलेकै छ । यसको अर्थ अङ्ग्रेजीमा दख्खल राख्नैपर्दैन या राख्नैहुँदैन भन्ने पटक्कै होइन, अन्तर्राष्ट्रिय जगत्मा आफ्नो उपस्थिति दर्शाउन भाषा आवश्यक छ । तर, मलाई अङ्ग्रेजी आउँदैन भनेर खुम्चिएर बस्न भने जरुरी छैन । फेरि ठूला र शक्तिशाली मुलुकहरूले जे गरे nisedhपनि हुने, साना र शक्तिहीनहरूले भने सकिनसकी गर्नैपर्नेजस्तो पनि देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यूएनमा हिन्दीमा सम्बोधन गर्दा आत्मसम्मान, हामीले गर्दा भाषाको समस्या । जे होस्, यसपटक बैंककमा भएको बेइजिङ +२० देखि अन्तर्राष्ट्रियस्तरमा एउटा नयाँ अभ्यासको सुरुवात भएको छ । यसलाई निरन्तरता दिनुपर्ने अवस्था आएमा व्यावसायिक अनुवादकसहितको पूर्वतयारी भने आवश्यक हुन्छ ।