धागोजन्य वस्तुको आयातमा टर्कीले लगाउन खोजेको बन्देज टर्‍यो

धागोजन्य वस्तुको आयातमा टर्कीले लगाउन खोजेको बन्देज टर्‍यो


टर्कीले नेपाली धागोजन्य वस्तुमा लगाउन खोजेको बन्देज अहिलेका लागि नलगाउने निर्णय गरेको छ । नेपाली धागो उद्योगको प्रमुख बजार मानिएको नेपाली धागोजन्य वस्तुको आयातमा लगाउने भनिएको बन्देज नलगाउने भएको हो ।

यसअघि नेपालबाट टर्की निर्यात हुने धागोको गुणस्तरमा प्रश्न उठाउँदै उसले आयातमा अबरोध गर्ने वा बन्देज लगाउने सम्भावना बढेको थियो । सो दुर्घटना हुन नदिन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहसचिव रविशंकर सैंजुसहितको एक टोली गत चैतमा अंकरा पुगी त्यहाँको अर्थमन्त्रालयसमक्ष निकासीमा बन्देज नलगाउने विषयमा छलफल गरेको थियो ।

तत्पश्चात टर्किस प्रतिनिधिमण्डल नेपाल आए निकासीजन्य प्रमुख धागो उद्योगहरुको निरिक्षण भ्रमण गरेको थियो । भ्रमणपछि उक्त प्रतिनिधिमण्डलले नेपाली धागो उत्पादनमा कुनैपनि प्रकारको गडबडी नभएको अध्ययन प्रतिवेदन टर्किस सरकारलाई बुझाएपछि टर्की सरकारले आफ्नो निर्णयमा पुनरावलोकन गरेको हो ।

गत महिना टर्कीले नेपाली धागो आयातमा कुनैपनि प्रकारको बन्देज नलगाउने सूचना हाल परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई पठाएको थियो । सो निर्णयको नेपाल धागो उत्पादक संघले स्वागत गरेको छ । संघका अध्यक्ष पवन गोल्यानले प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयले नेपाली धागो उत्पादन र निकासीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

धागो निर्यातमा निरन्तरता दिलाउन वार्ता र संवादमार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेका उद्योग वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे लगायत उच्च सरकारी अधिकारीहरुको पहल अनुकरणीय रहेको विज्ञप्तिमा जनाइएको छ ।

हाल नेपालमा रिलायन्स स्पिनिङ् मिल्स, त्रिवेणी स्पिनिङ् मिल्स र जगदम्बा स्पिनिङ मिल्स संचालनमा रहेका छन् । यी मिल्सहरुबाट उत्पादित ८० प्रतिशत उत्पादन सिधा विदेशमा निर्यात हुने गरेको छ ।