पूर्वी नेपालका लिम्बू समुदायका धेरै युवामा रोजगारीका लागि भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने सोख हुन्छ । यो समुदायका लागि सेनामा जागिर खानु इज्जतकै रूपमा पनि लिइने भएकाले पनि धेरैको यस्तै सपना हुन्छ । कतिपयले त्यो सपना पूरा गर्छन्, तर धेरैको अधुरै पनि हुन्छ ।
त्यस्तै सपना थियो तेह्रथुमका लालीगुराँस नगरपालिका–९ स्थित सोल्मा सिजेपुरका दिलकुमार लिम्बूको पनि, तर उनको त्यो सपना पूरा हुन सकेन । लाहुरे बन्ने सपना टुटेपछि अहिले उनले गाउँमा परिवारसँगै बसेर व्यावसायिक रूपले गाईपालन गरी नमुना किसानको पहिचान बनाएका छन् । बत्तीसवर्षे युवा दिलकुमारले अहिले गाउँमै ‘याङहिङवाङ गाई फार्म’ चलाएर वार्षिक रु. १२ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
०७२ देखि शुरु गरिएको उनको फार्ममा अहिले ६ वटा उन्नत जातका दुधालु गाई र त्यति नै बाच्छी पनि छन् । ‘लाहुरे बन्ने रहरले उमेरमा पढ्न पढिएन,’ उनी भन्छन्, ‘उमेर बितेपछि बुद्धि पलाएकाले स्वदेशमै बसेर काम गरँे र यसबाट पनि नाम तथा दाम दुवै कमाउन सकिने रहेछ ।’ उन्नति परियोजनाले म्याङलुङमा चलाएको गाईपालनसम्बन्धी तालिममा सहभागी भएपछि आफूलाई व्यावसायिक रूपले गाई पाल्न प्रेरणा मिलेको दिलकुमार बताउँछन् ।
‘शुरुमा इलामबाट पाँचवटा गाई ल्याएर फार्म खोलेका उनकोे अलैँचीखेती पनि छ । ‘गाई फार्मका लागि शुरुमा करिब १० लाख रुपैयाँ लगानी गरी फार्म दर्ता गरेपछि कृषि विकास बैंकले रु. पाँच लाख ऋण दियो, बाँकी अलैँची बेचेर लगानी गरँे,’ दिलकुमार भन्छन् ।
अहिले गाईका लागि उन्नत जातको घाँसको खेती पनि उनी आफैँले गरेका छन् । यस्तो खेती गाउँमा थोरैको मात्र छ, मैले घाँसको बिउ पनि उत्पादन गरेको छु,’ उनी भन्छन्, ‘अहिले घाँसको बिउबाट पनि मनग्ये आम्दानी हुन थालेको छ ।’
उनले गोरखा, तनहुँ र चितवनसम्म पुगेर पनि उन्नत जातका घाँसको बिउ संकलन गरेको र सो बिउ अहिले गाउँमा लोकप्रिय रहेको उनी बताउँछन् । सबैले आफैँले उमारेको घाँसको बिउ खरिद गरेर लैजाने गरेको दिलकुमारको भनाइ छ । उनको फार्मबाट अहिले दूध मात्र दैनिक ४० लिटर बिक्री हुन्छ र मासिक ५० हजार बढी आम्दानी हुने गरेको छ ।
यो वर्ष घाँसको बिउ बेचेर रु. १० लाखभन्दा बढी आम्दानी भएको उनी बताउँछन् । फार्मका लागि आवश्यक सामग्री ओसारपसार र दूध ढुवानीका लागि समस्या भएपछि अहिले दिलकुमारले गाई फार्मकै आम्दानीबाट किस्तामा २२ लाख रुपैयाँमा गाडीसमेत किनेका छन् ।
अहिले गाडीबाट पनि मासिक ७० हजारभन्दा बढी आम्दानी भइरहेको छ । गाई फार्मदेखि घाँसखेती र दूध ढुवानीसम्म दिलकुमार आफैँ खटिन्छन् । उनको गाई फार्म र गाडीमा गरेर अन्य तीनजनालाई रोजगारीसमेत मिलेको छ । गाई फार्म, अलैँचीखेती, घाँस र गाडीबाट गरी यो वर्ष मात्रै उनले २४ लाख बढी आम्दानी गरेका छन् ।
‘सबै खर्च कटाएर पनि आफूले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको छु । मिहिनेत गरे स्वदेशमै पनि मनग्य कमाइ गर्न सकिने रहेछ । अहिले त लाहुरे नभएकैमा स्वाद लाग्न थाल्यो,’ उनी भन्छन्, ‘जिल्लामा एउटा सफल र नमुना युवा व्यावसायिक कृषकको रूपमा परिचय बनाएका दिलकुमार अहिले आफ्नो जातीय लोकसंस्कृतिको संरक्षण र उत्थानमा पनि लागिपरेका छन् ।
रासस
प्रतिक्रिया